ओली – ट्रम्प दुई मिनेट भेटको फोटो सार्वजनिक, के के भयो २ मिनेटमा ?


प्रकाशित मिति : आश्विन ११, २०७५ बिहीबार

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २ मिनेट भेट्दाको तस्वीर सार्वजनिक भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले आयोजना गरेको रिसेप्सनमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री पत्नी राधिका शाक्य सहभागी भएका हुन् ।

प्रधानमन्त्री ओलीले ट्रम्पलाई नेपाली पोशाक दौरा, सुरुवाल, कोट र टोपी लगाएर भेटेका थिए । यस अगाडि तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल, डाक्टर बाबुराम भट्टराई लगायतले भने अमेरिकी राष्ट्पतिलाई टाइसुटमा भेटेका थिए ।

संयुक्त राष्ट्रसंघ महासभाका बेलामा अमेरिकी राष्ट्रपतिले राष्ट्रप्रमुखहरुका लागि रिसेप्सेन पार्टीको आयोजना गर्ने प्रचलन रहेको छ । जस अनुशार विभिन्न देशका राष्ट्रप्रमुख दम्पत्ति र अमेरिकी राष्ट्रपति दम्पत्तिको फोटो सेसन हुने गर्छ । यो रिसेप्सनमा नेपालका प्रधानमन्त्री ओलीलाईमात्र नभएर सबै देशका राष्ट्रप्रमुखहरुलाई अमेरिकी राष्ट्रपतिले २ मिनेट वा त्यो भन्दा अझ कम समय भेट्ने कार्यक्रम हुन्छ ।

यो रिसेप्नसमा सबै देशका राष्ट्रप्रमुखसँग सामान्य हालखबर सोध्ने र फोटो खिच्नेमात्र काम हुन्छ । यद्यपी आफूले महत्व दिएका राष्ट्रप्रमुखहरुलाई अमेरिकी राष्ट्रपतिले रिसेप्सेन कार्यक्रम बाहेक अरु समयमा छुट्टै भेटघाट समेत गर्ने गर्छन् ।

प्रधानमन्त्री ओली दम्पत्तिलाई ढोका बाहिरसम्म छोड्न राष्ट्रसंघका लागि नेपाल मिसनको कार्यालय न्युयोर्कका कर्मचारीहरु र अन्य अधिकारीहरुले साथ दिएका थिए । त्यसपछि ओली दम्पत्तिले भित्र पसेपछि आफ्नो पालो आउनासाथ अमेरिकी राष्ट्रपति ट्रम्प दम्पत्तिलाई भेटेका थिए । यो भेटमा सञ्चै हुनुहुन्छ ? भनेर सामान्य व्यक्तिगत हालखबर सोध्नेबाहेक अरु कुराकानी हुँदैन । प्रधानमन्त्री ओली दम्पत्ति पनि यो भेटघाटमा हात मिलाएर र फोटो खिचेर फर्केका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com