लाइसेन्स बने-नबनेको थाहा पाउन यातायात कार्यालय धाउनु नपर्ने, एसएमएसबाट यसरी थाहापाउनुहाेस्


प्रकाशित मिति : आश्विन १०, २०७५ बुधबार

ट्रायल पास भइसक्दा पनि लाइसेन्स बन्यो कि बनेन भनेर अन्यौलमा हुनुहुन्छ ? यतिबेला ट्रायल पास भएर पनि लाइसेन्स नपाएका करिब २ लाख सर्वसाधारण अन्यौलमा छन्। अर्थात ट्रायल पास भएर पनि त्यो संख्याको हातमा लाइसेन्स पर्न सकेको छैन। लाइसेन्सको अन्यौलता मात्रै होइन, लिखित परीक्षाको परिणाम थाहा पाउन पनि यातायात कार्यालयका बिचौलियालाई पैसा दिनुपर्ने बाध्यता रहँदै आएको छ।

यो समस्यासहित लाइसेन्सको अन्यौलता हटाउन यातायात व्यवस्था विभागले घरबाटै जानकारी लिन सक्नेगरी एसएमएसको व्यवस्था गरेको छ। ट्रायल पास भएको ८/१० महिनासम्म पनि हातमा लाइसेन्स पर्न नसकेको अवस्थामा लाइसेन्सको जानकारी लिनको लागि कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको हो। अब लाइसेन्स प्रिन्ट भए नभएको थाहा पाउन LC (space) Applicant ID टाइप गरी ३१००३ मा एसएमएस पठाएर जानकारी पाउन सकिन्छ।

त्यस्तै विभागले लिखित परीक्षाको नतिजाको लागि यातायात कार्यालय धाउनुपर्ने बाध्यता हटाएको छ। लिखित परीक्षाको नतिजा हेर्न WT (space) Applicant ID टाइप गरी ३१००३ मा पठाएर जानकारी पाउन सकिन्छ। सेवाग्राहीलाई कार्यालय धाएर जानकारी लिनु परेकोले यो सेवा सुरु गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सिराम अर्यालले जानकारी दिए।

‘लिखित दिने सेवाग्राहीसँग बिचौलियाले फोन गरेर नतिजा भन्दिन्छौँ भन्दै पैसा उठाउने काम बन्द हुन्छ’ उनले भने ‘हाम्रो कमजोरीका कारण लाइसेन्स लिन नपाएका सेवाग्राहीले घरैबाट लाइसेन्स छापिए नछापिएको थाहा पाउन सक्नु हुन्छ।’ यो सेवाको लागि प्रति एसएमएस ५ रुपैयाँ शुल्क लाग्ने अर्यालले जानकारी दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com