नक्कली ब्रिटिस लाहुरे बनेर महिलामाथि यौन शोषण गर्ने यसरी परे प्रहरीको फन्दामा


प्रकाशित मिति : आश्विन १०, २०७५ बुधबार

कास्की प्रहरीले आफूलाई बेलायती सेनाको लाहुरे हुँ भन्दै महिलाको यौन शोषणपछि चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति सुर्खेत भेरिगङ्गा नगरपालिका–१३ का बिर्खबहादुर थापा भएको कास्की प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङका अनुसार थापाले आफू लाहुरे भएको भन्दै एक महिलालाई फकाएर पोखराको पृथ्वीचोकको होटल पुर्याएका थिए।

होटलमा महिलाको यौन शोषण गरेपछि थापाले महिला शौचालय गएको मौकामा शौचालयको ढोका थुनेर आफूचाहिँ महिलासँग भएको ३ लाख ५० हजार नगद र ४ तोला सुन लिएर फरार भएका थिए। थापाले फेसबुकमार्फत नै ती महिलासँग सम्बन्ध बनाएको समेत प्रहरीको भनाई रहेको छ।

आफू यौन शोषणमा परेको र नगद तथा सुन चोरिएको निज महिलाको उजुरीपछि प्रहरीले थापालाई पक्राउ गरेको हो। पोखराको पृथ्वीचोकबाट पक्राउ परेका थापालाई करणी तथा चोरीमा मुद्दा चलाइने प्रहरीले जनाएको छ।

प्रहरी नायव उपरीक्षक गुरुङका अनुसार थापाले बिगतदेखि नै आफूलाई लाहुरे भएको बताउँदै महिलाको यौन शोषण र चोरी गर्दै आएको समेत खुलेको छ।

पक्राउपछि थापाको फेसबुक आइडी हेर्दा उनका करिब ५ सय जना महिला साथी मात्र रहेको र आफू ब्रिटिस लाहुरे र प्रहरीको सई भएको भन्दै महिलासँग कुराकानी गर्ने गरेको समेत देखिएकोले उनीबाट थप महिलाहरु पनि पीडित बनेको प्रहरीको अनुमान रहेको छ। प्रहरीले घटनाको सुक्ष्मम अनुसन्धान थालेको बताएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com