मलेसियामा ४७ नेपाली पक्राउ


प्रकाशित मिति : आश्विन १०, २०७५ बुधबार

काठमाडौँ, असोज १० गते । मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी र पक्राउ गर्ने मलेसिया प्रहरीको अभियानमा एकै कम्पनीबाट ४७ जना नेपाली प्रक्राउ गरिएको हो । मलेसियास्थित नेपाली दुतावासका अनुसार अभियानअन्तरगत साइबरजयाको एक कम्पनीमा छापामार्ने क्रममा नेपालीसहित ३३८ जना पक्राउ परेका थिए । मलेसियाले अवैधानिक कामदारका लागि पटक पटक आममाफीको कार्यक्रम सञ्चालन गर्दै आएको छ तर अभियानमा सहभागी नभई अवैधानिक रुपमा बस्ने क्रम नरोकिएपछि मलेसियाले पक्राउ गर्ने अभियान चलाएको हो ।

मलेसिया सरकारले गएको जुनदेखि अगष्टसम्म (असार १७ गतेदेखि भदौ १७ गतेसम्म) मलेसियामा अबैधानिक भएर वसेका आप्रवासी श्रमिकलाई आ –आफ्नो देश फर्कन आब्हान गरेको थियो । त्यहाँको सरकारको आग्रहलाई बेवास्ता गरेर वस्ने विदेशी श्रमिकलाई सेप्टेम्बरको दोस्रो सातादेखि नै धरपकड गर्न थालेको र त्यसमा कतिपय ठाउँमा नेपाली पनि पर्ने गरेको दूतावासले जनाएको छ ।

मलेसियका कार्यवहाक राजदूत कुमार खरेलले अवैधानिक भएर बसेकालाई दूतावासमार्फत पटक पटक सूचना गर्दागर्दै नेपाली श्रमिकले आममाफीमा भाग नलिएको जानकारी दिनुभयो ।
मलेसिया सरकारले आब्हान गरेको तीन महिने आममाफी कार्यक्रममा झण्डै २५ हजार नेपाली श्रमिकले फाइदा लिएको पनि उहाँले जानकारी दिनुभयो । कार्यवहाक राजदुत खरेलका अनुसार मलेसिया सरकारको धरपकडमा पर्नेमा अधिकांश नेपाली श्रमिकमध्ये आफूले काम गर्न स्वीकृति लिएर आएको कम्पनी छोडेर अर्को कम्पनीमा जाने रहेको र केही मात्रै करार अवधि सकिएका रहेका छन ।

उहाँले प्रक्राउ परेकालाई अवैधानिक भएर बसेको अवधिका आधारमा सजाए तोकिने भएकाले अदालती निर्णयअनुसार सजाय भुक्तान गरेपछि घर फिर्ती केन्द्रमा राखेर निश्चित अवधि पूरा गरेपछि स्वदेश फर्कन सक्ने बताउनुभयो ।
खरेलले मलेसिया सरकारको पछिल्लो कारबाही अभियान श्रमिकलाई भन्दा पनि रोजगारदातालाई बढी लक्षित भएकाले प्रक्राउ परेका श्रमिकलाई एकदेखि तीन महिना घरफिर्ती केन्द्रमा राख्ने वा एकदेखि तीन हजारसम्म रिङ्गिट तिरेपछि स्वदेश फर्काउने जानकारी दिनुभयो । दूतावासका अनुसार यसपटक अवैधानिक रुपमा काम लगाउने रोजगारदातालाई कारवाही गर्ने निर्णय पनि मलेसियाको सरकारले गरेको छ ।

घरफिर्की केन्द्रमा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन दूतावासले पहल गर्दै आएको खरेलले जानकारी दिनुभयो । मलेसियामा छ लाखको हारहारिमा नेपाली श्रमिक भएकोमा ५० हजार अवैधानिक भएर वसेको हुनसक्ने अनुमान दुतावासको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com