रौतहट तेजाब आक्रमण प्रकरण : दास परिवारलाई कीर्तिपुर अस्पतालद्वारा ७५ हजार छुट


प्रकाशित मिति : आश्विन ८, २०७५ सोमबार

तेजाब प्रहारबाट निधन भएकी रौतहटकी सम्झना दासको परिवारलाई कीर्तिपुर सामुदायिक अस्पतालले ७५ हजार २४० रुपैयाँ उपचार खर्च मिनाहा गरिदिएको छ । गत साउन २६ गते राति रौतहट, चन्द्रनिगाहपुरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा एकाघरका दिदीबहिनी सम्झना र सुस्मिता दासमाथि तेजाब प्रहार भएको थियो ।
तेजाब प्रहारबाट शरीरका ३५ प्रतिशत भाग जलेकी सम्झनाको गएराति ११ बजे उपचारको क्रममा निधन भएको हो ।

कमजोर आर्थिक अवस्थाको दास परिवारले चन्दा उठाएर उपचार गराइरहेको र अस्पतालको सम्पूर्ण शुल्क बुझाउन नसक्ने भएकाले डिपोजिट १९ हजार ५०० बाहेक सम्पूर्ण उपचार खर्च छुट गरेको कीर्तिपुर अस्पतालका सामाजिक जनसम्पर्क अधिकृत तारानिधि भुर्तेलले जानकारी दिए । बहिनी सुस्मिताको सोही अस्पतालको प्लास्टिक सर्जरी वार्डमा उपचार भइरहेको छ ।
औषधी खरिद गर्दा तिनुपर्ने शुल्क भने अस्पतालले छुट गरेको छैन । सम्झना र सुस्मितको गरी दुई लाखभन्दा माथिको फार्मेसीको बिल उठेको भुर्तेलले जनाए ।

शव पोस्टमार्टमपछि दाहसंस्कार गरिने

शवको पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । पोस्टमार्टमपछि सम्झनाको अन्तिम संस्कार रौतहट चपुर नै लगेर गरिने बाबु जादोलाल दासले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दिदीबहिनीलाई तेजाब खन्याउने अभियुक्त रामबाबु पासवानलाई प्रहरीले पक्राउ गरिसकेको छ । अदालतबाट ८ दिनको म्याद थपी पासवानमाथि अनुसन्धान भइरहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।
घाँटी र बायाँ हातमा तेजाब परेकी बहिनी सुस्मिताको अवस्था खतरामुक्त छ । हाल सुधारात्मक अवस्थामा रहेको अस्पतालले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com