तेजाब आक्रमणबाट घाइते १८ वर्षीया युवती सम्झना दासको मृत्यु
प्रकाशित मिति : आश्विन ८, २०७५ सोमबार
तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ । उनको आइतबार राति कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
चन्द्रपुर नगरपालिका-६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि गत भदौ २७ गते राति सुतिरहेको बेला एसिड प्रहार भएको थियो । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करिब ५० वर्षीय स्थानीय रामबाबु पासवानले तेजाब आक्रमण गरेको खुलेको छ ।
तेजाबले सम्झनाको अनुहारसहित शरिरको अधिकांश भाग जलेको थियो । उनकी बहिनी सुस्मिताको अवस्था भने खतरा मुक्त छ । सुस्मिताको कीर्तिपुर अस्पतालमै उपचार भइरहेको छ ।
यो पनि पढ्नुहोस्
५० वर्षे रामबाबु : मध्यरातमा एसिड छ्यापे, अपराध लुकाउन कुरुवा बने
२ असोज, रौतहट । चन्द्रपुर नगरपालिका ६ का जादोलाल दासकी दुई छोरीमाथि भदौ २७ गते मध्यरातमा घरमै सुतिरहेका बेला तेजाब आक्रमण भयो । ढोका फुटालेर घरभित्र प्रवेश गरेका व्यक्ति तेजाब छ्यापेर भागेका थिए ।
अनुहारमा तेजाव परेपछि १८ बर्षीया सम्झना दास र उनकी बहिनी १५ बर्षीया बहिनी सुस्मिता चिच्याइन् । अर्को कोठामा रहेकी आमा परमशीला दौडिएर पुगिन् ।
दुबै छोरीहरु ममी पोल्यो भनिरहेका थिए । उनी भने के भएको हो भन्ने नै छुट्याउन सकिरहेकी थिइनन् । केहीबेरमै छिमेकी रामबाबु पासवान आइपुगे । उनले यो त तेजाब जस्तो छ भने, जुन परमशीलालाई थाहा नै थिएन ।
सम्झना र सुस्मितालाई चपुर अस्पताल दौडाइयो । रामबाबु पनि सँगसँगै आए । जिल्लामा उपचार सम्भव नभएपछि कीर्तिपुर अस्पताल ल्याउँदा पनि उनले साथ दिए । कीर्तिपुरमा सम्झना र सुस्मिताका आमाबाबुलाई कुरुवा बस्न पनि साथ दिए ।
तर, परिवारका सदस्य त्यसबेला छाँगाबाट खसेझैं भए, जब छोरीमाथि तेजाब छ्याप्ने रामबाबु भएको थाहा पाए । रामबाबु कुरुवा बसेकै बेला पक्राउ परेका हुन् ।
एकतर्फी प्रेम अस्वीकारपछि अपराध
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पत्रकार सम्मेलन गरी रामबाबुलाई सार्वजनिक गरेको छ । प्रहरी उपरीक्षक केदार ढकालले एकतर्फी प्रेमका कारण रामबाबुले यो अपराध गरेको बताए । अभियुक्त रामबाबुको उमेर ५० वर्ष छ ।
तर, उनले सम्झनालाई पछ्याएका थिए । उनले युवतीलाई निरन्तर फोन गर्ने परेको पाइएको छ । प्रहरी उपरीक्षक ढकालले भने, ‘घटना हुनुअघि १५ दिनको अवधिमा पासवानले युवतीको मोबाइलमा ११५ पटक फोन गरेका छन् ।’
विगत दुई महिनाको अवधिमा पासवानले झण्डै ३०० पटक फोन गरेको कल डिटेलबाट खुलेको छ । तर, युवतीले रामबाबुको फोन उठाएर सम्वाद गरेकी छैनन् ।
आफ्नो प्रेम प्रस्ताव स्वीकार नगरेको रिसमा रामबाबुले तेजाब आक्रमण गरेको खुलेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ढकालले बताए ।