कैलालीमा बुवाले बञ्चरो प्रहार गर्दा छोराको ज्यान गयो
प्रकाशित मिति : आश्विन ७, २०७५ आईतबार
कैलालीमा बुवाले छोरालाई बञ्चरो प्रहार गर्दा छोराको ज्यान गएको छ ।
कैलालीको टीकापुर नगरपालिका -८ कालिमाटीमा शनिबार साँझ ७५ वर्षीय पहले लुहारको आक्रमणबाट ५० वर्षीय छोरा कृतबहादुर लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सधैंजसो मदिरा सेवन गर्ने छोरा कृतलाई मदिरा नपिउन बुवाले आग्रह गरेपनि बुबाको आग्रह नमान्दा भएको सामान्य विवादमा बाबुले छोरालाई बञ्चरोले टाउकोमा हिर्काएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
बञ्चरो प्रहारबाट घाइते भएका कृतलाई उपचारको लागि टिकापुर अस्पताल लगिएपनि त्यहाँ उपचार सम्भव नभएपछि अस्पतालले थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज रेफर गरिएको र उपचारकै क्रममा राति करिब साढे १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक कृतको शवलाई पोस्टमार्टमका लागि टिकापुर अस्पतालमा राखिएको र बञ्चरो प्रहार गर्ने बाबु पहलेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।