विवाहको प्रलोभन देखाएर २५ एकल महिलाबाट लाखौंको ठगी
प्रकाशित मिति : आश्विन ७, २०७५ आईतबार
बीबीसी
एकल महिलालाई विवाहको प्रलोभन देखाएर उनीहरुबाट लाखौंको ठगी गर्ने व्यक्तिलाई भारतको अहमदाबाद पुलिसले पक्राउ गरेको छ ।
पुलिसका अनुसार यी ठगले सम्बन्धविच्छेद भएका र विधवा महिलालाई पुनः विवाह गर्ने भन्दै पैसा लिएका थिए ।
पैसा ठग्ने आरोपी ४२ वर्षे जुलियन सिन्हा एक फौजीका छोरा हुन् । उनीविरुद्ध मुद्धा दर्ता भएपछि अहमदाबाद पुलिसले उनलाई पक्राउ गरेको हो ।
जुलियनले वैवाहिक साइटमा थुप्रै नक्कली खाता बनाएका थिए र आफूलाई एक सैनिक बताउँथे । यी खातामार्फत जुलियनले सम्बन्धविच्छेद भएका र विधवा महिलालाई निशाना बनाउने गरेको पुलिसले जानकारी दिएको छ ।
जो महिला उनको प्रोफाइलमा रुची राख्थे, उनी ती महिलासँग फोनमा कुराकानी सुरु गरिहाल्थे ।
अहमदाबादमा बस्ने कविता नामकी एक महिलाले जुलियनविरुद्ध मुद्धा दर्ता गरेकी छिन् ।
उनले पुलिसलाई भनिन्, ‘साधारणतया सम्बन्धविच्छेद भएकी महिला सहानुभूतीको खोजी गर्दछन् । जुलियन यस्ता महिलाप्रति समवेदना देखाउँथे र उनीहरुको एक्लोपनको फाइदा उठाउँथे । यसरी नै उनले विभिन्न महिलालाई आफ्नो शिकार बनाए ।’
कविताको दाबी अनुसार जुलियन कुनै पनि महिलाको सम्पर्कमा आउनुपूर्व उसको आर्थिक पृष्ठभूमीको अनुसन्धान गर्दथे र यसै आधारमा उनीहरुलाई निशाना बनाउँथे ।
आरोपपत्रमा लेखिएको छ, ‘जब महिला जुलियनमाथि विश्वास गर्न थाल्थे तब उनी आफू भारतीय फौजका अवकाशप्राप्त मेजर बताउँदै उनीहरुसँग चन्दाको माग गर्दथे । जुलियनले यी महिलालाई चन्दाको पैसा आतंकवादविरुद्ध र सैन्य कल्याण कार्यमा खर्च गर्ने बताउँथे । ’
कबिताले बताए अनुसार जुलियनले थुप्रै महिलालाई आतंकवादविरुद्ध लड्दा आफू घाइते भएको बताउने गरेका थिए । उनले खुट्टामा घाउको खत देखाउँदै मोबाइलमा भिडियोसमेत पठाएका थिए ।
कबिताले भनिन्, ‘यो कहानीपछि महिलाको सहानुभूती पाउनका लागि जुलियनले खुट्टामा गम्भीर चोट लागेकाले श्रीमतीले आफूलाई छोडेर गएकोसमेत भन्ने गर्दथे ।’
कविता कसरी ठगिइन् ?
कबिताले बीबीसीसँगको कुराकानीमा जुलियनसँग आफ्नो भेट एक वैवाहिक साइटमार्फत भएको बताइन् ।
कविताले भनिन्, ‘ देशप्रेमका कारण आफ्नोे वैवाहिक सम्बन्ध टुटेको उनले बताउने गर्थे । उनको कहानीलाई वास्तविक ठानेर म उनीसँग भावनात्मक रुपमा नजिकिएँ । उनले मलाई आफू सेनाको मेजर भएको र कच्छ (गुजरात) मा तैनाथ भएको बताएका थिए ।’
‘एकदिन उनले आफ्नो बैंक अकाउन्ट केही कारणवश ब्लक भएको र तत्काल नै ४९ हजार पाँच सय रुपैयाँको आवश्यकता भएको बताए । सेनाले आफूलाई एउटा घर दिन लागेको र त्यसका लागि विभागमा पैसा जम्मा गर्नुपर्ने उनले बताएका थिए । उक्त पैसा अर्को दिन बिहानै फिर्ता दिने पनि बताएका थिए । मैले उनको अकाउन्टमा पैसा जम्मा गरिदिएँ ।’
कविताका अनुसार त्यही दिन बेलुकादेखि नै उनको फोन आउन कम भयो । उनी भन्छिन्, ‘जतिबेला मैले उनलाई फोन गर्दथें त्यति नै बेला मेसेजमार्फत थप पैसाको माग गर्दथे ।’
जुलियनको यस्तो व्यवहारमा कवितालाई शंका लाग्यो र उनले जुलियनलाई विवाह अघि एक पटक उनको आमाबुवालाई भेट्न चाहेको बताइन् ।
कविता भन्छिन्, ‘उनले उनका बुवाले पनि सेनाबाट अवकाश पाएका र अहमदाबादमा नै ‘स्वाधीनता बंगला’ नामको स्थानमा बस्ने गरेको बताउँथे । मैले यसबारे जान्न खोज्दा थाहा भयो कि उनका पिता विक्टर त फौजमा थिए तर जुलियन सेनामा भर्ना भएकै थिएनन् । साथै, यो पनि थाहा भयो कि जुलियनले मजस्तै अन्य थुप्रै महिलालाई पनि आफ्नो शिकार बनाएका थिए ।’
यसबारे थाहा पाएपछि कविताले साइबर सेलमा मुद्धा दर्ता गरिन् । यस्तै, जुलियनसँग पनि लगातार फोनमा कुराकानी गरिरहन्थिन् ।
उनी आफ्नै जालमा कसरी फसे ?
पुलिसले अनुसन्धानको क्रममा जुलियनले वैवाहिक साइटमा आफ्ना विभिन्न प्रोफाइल बनाएको र उनले आफ्नो आइपी एड्रेस परिवर्तन गरिरहने पत्ता लगाए ।
गुजरात साइबर सेलका इन्स्पेक्टर जी एस जिदमले भने, ‘हामीले कवितालाई जुलियनसँग कुरा गरिराख्न सल्लाह दियौं । त्यति नै बेला थाहा भयो कि उनले थुप्रै महिलालाई पनि सम्पर्क गर्दथे । ती सबै विधवा र सम्बन्धविच्छेद भएका महिला थिए । जतिबेला उनी कवितासँग सम्पर्कमा थिए, त्यति नै बेला उनी दिल्लीकी एक महिलासँग पनि कुराकानी गरिरहेका थिए । ती महिलासँग जुलियनले तीन लाख रुपैयाँ दान दिन आग्रह गरेका थिए ।’
जुलियनलाई पुलिसले उनको मोबाइलको लोकेशनको आधारमा अहमदाबादको मोटेराबाट पक्राउ गर्यो ।
पुलिसका अनुसार जुलियनलाई सन् २०१६ मा पनि पक्राउ गरिएको थियो । त्यतिबेला उनीमाथि एक व्यवसायी महिलालाई धोका दिएको आरोप लागेको थियो । जुलियनले आफूलाई फौजी बताएर ती महिलासँग तीस लाख रुपैयाँ लिएको पुलिसले दाबी गरेको छ ।
पछि उनलाई जमानतमा रिहा गरिएको थियो ।
जुलियनले एमबीए पास गरेपछि फौजमा भर्ती भएको महिलालाई बताउने गरेको पुलिसले बताए तर वास्तवमा उनले १० कक्षासमेत पास नगरेको पुलिसले जानकारी दिएको छ ।
पुलिसलाई लाग्छ कि जुलियनले विभिन्न राज्यका कम्तीमा २५ महिलालाई ठगी गरेका छन् ।