कथा : ओ ! मेरी क्रान्ति र सपना

 योगेश ढकाल
डङ्…………डङ्………………….डङ् …………
असिनाझैं गोली अन्धाधुन्ध बर्सिन थाल्यो, कानको जाली च्यातिएलाझै गरी ।
फायर कताबाट खोलिएको हो ? यकिन थिएन ।
रिमरिम साँझ । डाँडाकाँडाबाट चिरविर गर्दै चराचुरुंगी गुँडतिर लाग्दै थिए । धेरै दिनको वर्षापछि अलिकति आकाश खुलेको थियो । रुखका पातबाट तप्पतप्प पानीका थोपा खसिरहेको थियो, सांगीतिक लयमा चतापु भञ्ज्याङको पाखाभरि ।
दित्तेल सदरमुकाम मोर्चा असफलताबाट रिटि्रट हुँदा मन कुँडिएको थियो । दित्तेल मोर्चाका लागि रेकी त पहिलादेखि नै थियो । तत्काल मुभ हुने योजना थिएन । बेनी मोर्चा लगत्तै फौजी मूभ गर्ने कासन आयो । सायद, देखासेकी,अह्मको मोर्चा यस्तै हुन्छ ।
दित्तेल मोर्चामा ७ जना कमरेडले शहादत प्राप्त गर्नुभा’ थियो । झन्डै ३४ जना घाईते । ४ जना गम्भीर थिए । स्वयमसेवक कमरेडले घाइतेलाई बोकेर पान्धारे सेल्टरतिर लैजाँदै थिए ।
पिछा गर्दै दुश्मन आइरहेथ्यो । सप्पै घर सर्च गर्यो हुपापुमा । सेनालाई एम्बुसमा पार्न सम्भव थिएन ।
मोर्चामा खाएको गम्भीर धक्का । घेरावन्दी र हतास मनस्थितिले फर्मेशन र रोलकल संभव थिएन ।
दित्तेलबाट एउटा टोली । भोजपुरबाट अर्को । र गाइघाटबाट पनि । ट्याम्केको फेदी पान्धेरलाई जक्सन बनाएर आएको हो दुश्मनको टोली । दित्तेल मोर्चाबाट आएको जनसेनाको टोलीको सेल्टर पान्धारे छेऊमै थियो । दुश्मनको टोली त्यही सेल्टर कब्जा चाहन्थ्यो ।
०००
फायरिङको आवाजसँगै दुश्मनले चारैतिरबाट घेरिएको महसुस भयो । कताबाट ? पत्तो थिएन । पश्चिमतिर इञ्चार्ज मौसम थिए । दक्षिणपूर्वतिर सुमन्ती गएकी थिई । पूर्वतिर रेकी गर्न रमणको टोली । टोली फर्केको थिएन । सूचना पनि दिएको थिएन । त्यसैले दुश्मन उत्तरतिरबाट आएको हुनसक्ने अनुमान गरें । उत्तरतिर बस्ती थियो । बस्ती मास्तिर पान्धारे जाने बाटो छ । लाग्यो, दित्तेलबाट आएको टोली हुपापु गाउँ सर्च गरेर पान्धारेतिर लाग्दैछ ।
साथीहरु बस्तीको नाका नाकामा सेन्ट्री बसेका थिए । सेनाले कब्जा गर्यो जस्तो लाग्यो । सोच्ने र योजना बनाउने समय थिएन । पूर्वतिर भाग्ने निर्णय गरेँ । अफसोच,मैले सोचे विपरीत सेना त पूर्वतिरबाट आएको रै’छ । हाम्रो ओढारलाई ‘सी’ आकारमा घेरेको रै’छ ।
गोली अन्धाधुन्ध बर्सिरहेको थियो । भाग्दै म बस्तीको पुछारको घरको आँगनमा पुगें । पछाडिबाट फायरिङ भइरहेको थियो । हत्त न पत्त आँगनको डीलको बारको खाँबोलाई समातेर नाँघे ।
सात/आठ फिट अग्लो बार नाघेपछि बारीमा पछारिए । कोदो रोप्ने बेलाको बारी दिनभरिको झरीले हिलाम्मे थियो । खुट्टा उचाल्न खोज्छु आँउदैन, हिलोमा गाडिएर । जुत्ता छोडेर बल्लतल्ल भागे ।
तीन/चार कान्ला हामफाल्दै,घस्रिँदै ओरालोतिर कुदिरंहे । अग्लो कान्लो आयो हेर्दै सात्तो जाने । त्यही कान्लोमा कलाकार भाई भेटेँ । सास नै रोकिने गरी भाई कान्लाबाट हामफाले ।
मृत्यु घुमिरेहेको थियो । गोली बर्सिरहेको थियो । अचानक थचक्कै भए । कान्लाबाट हामफाल्नै सकिन । यहाँ चाँहि मर्न हुदैन भन्ने लागेर हामफाल्नै लागेको थिएँ, आफै चिप्लिएछु । सलल भिरालोमा बगें । क्रलिङ गर्दै ६/७ कान्ला नाँघे । त्यहाँभन्दा बढी सकिँन । खुट्टा उचालिएन । कुहिनाबाट रगत बगिरहेको थियो ।
००००००
सिकारीले रुखबाट गोली हानेर भूईमा खसेको चराझै फटफटाइरहेको थिएँ । कान्लाको कुनामा थिएँ । खोज्दै आएको दुश्मनले देखेन । रिमरिम रातका कारण घर्सिदै गरेको रगतका डोब देखेनन् । फर्किए उनीहरु । भित्ता समातेर उभिने खोँजे । सकिँन । खुट्टा खोलाको गिट्टीजस्तो सोर्याक सोर्याक गर्छ । र्फलक्क पल्टियो । ह्वालह्वाली रगत बगिरहेको थियो । सलले घाउमा बाँधे । रगत थामिएन । उपाय पनि थिएन रोक्ने । गोली लागेर खुट्टा छियाछिया भएछ बल्ल थाहा भो । एक मनमा लाग्यो, पहराको डीलमा पुगेर पुर्लक्क पल्टिदिउ, तल छङछङ गर्दै बहेको तावाखोलामा । त्यसै पनि यतिका रगत बगेपछि बाँचिदैन । जीवनको एउटा वैशाखी दित्तेल मोर्चामा गुमाएको थिएँ । तर,चल्नै सकिन । शरीर तातो छऊन्जेल दुख्ने रहेनछ क्यारे । चिसिन थालेपछि दुखाइको पारो उकालिन थाल्यो ।
००००००
‘राम राम राम नानी तिमी !’ हुपापुका अन्तरे दाइ आत्तिए ।
टिलपिल टिलपिल आँसु झादै अन्तरे दाइ एकोहोरिए मलाई देखेर ।
चिसोले सुन्निएको जीउ । हल न चलको अवस्था । मुख प्याक प्याक थियो । न पानी । न खाना । आन्द्राभुँडी सुकेर पेट गुन्द्रक हाल्न ठिक्क पारेको खाल्डोझै थियो । बर्खाको ट्याम । हिलाम्मे थियो मेरो वरिपरी । शरीर पनि पुरै हिलाम्मे । सायद, घाम चरक्क लागेको भए शरिरको हिलो सुक्दा व्युख्याँचाझै देखिन्थेँ होला ।
यही बेला रजस्वला भएछ । भित्री लुगा र रगत चपक्कै टाँसिएछ, चरचर गरेर दुखि’रा थियो । के चीजले बचाइराखेको छ, सात दिनसम्म ? अच्चम लाग्यो मलाई पनि ।
हिजो मात्रै पानी खान मन थियो, केही नपाएर आफ्नै पिसाव अञ्जुलीमा पिएको थिएं । पिसावमा रगतका चोक्टा पनि थिए,सायद रजस्वला हुदाँ निस्किएको रगत हुनुपर्छ । माथिको कान्लोबाट हामफाल्दा झोला उतै अड्कियो । केही पैसा थियो । जीवनजल, पेन्किलर, तल्लो पेट दुख्दा खाने दबाइ ,चाउचाउ, बिस्कुट सप्पै सप्पै झोलामै थियो ।
दिक्तेल मोर्चामा जीवनको वैशाखी कमरेड आकाशसंगै चुँडियो सपना,चाहना,भावना, संभावना सप्पै सप्पै । क्षितिजको रुवीझै आकाश स्मृतिमा मात्रै प्रतिविम्बित हुनेछ अब । एकबर्ष पहिला टेम्माको फर्मेशनमा आकाशसँग चिनापर्ची भा’ थियो । रोलकलमै आँखा जुधेर मायापिरती बसेको हो । बन्दुकको नालबाट पिरती निस्किएको हो हाम्रो ।
सोलु सल्लेरी बिग्रेडको भाइस बिग्रेड कमाण्डर थिए आकाश । रामवृक्ष स्मृति बटायलियन अन्तर्गतको प्लाटुन कमाण्डर थिएँ म । एक वर्षपछि जिल्ला पार्टीमा निवेदन दिएर दुई हप्ता पहिला बिहे भा’ हो । बिहे भएको तेस्रो दिन दित्तेल मोर्चामा हाम्रो जोडी खटिएको थियो, बिहेको उत्सव दित्तेल मोर्चा सफल बनाएर मनाउने भन्दै । र,मोर्चापछि हनिमुन मनाउने योजना थियो ।
हल न चलकै अवस्था । खुट्टामा काम्रो । घाउ पाकेर पीप तरतरी थियो । दङदङी थियो गनाएर घरभरि । झिँगा भन्किरहेका थिए । सांच्चै जिउँदो लाश थिएँ ।
झन्डै १५ दिनमा कमरेड क्षितिजको नेतृत्वमा टोली सेल्टरमा आयो ।
‘हामीले तिमीलाई दुश्मनले हत्या गरिसक्यो भन्ठानेका थियौं । दित्तेल मोर्चाका सहादत कमरेडसँगै तिम्रो पनि श्रद्धाञ्जली सभा गरिसक्यो त ।’ क्षितिज भावविह्वल हुँदै पोखियो ।
ठूलो कान्लोमा भेटिएका कलाकार भाइले अञ्जलीलाई शाही सेनाको गोली लागेको र त्यही ढलेको रिपोर्ट गरेका रहेछन् ।
००००
जंगल धाउने महिलाहरु हिमाल चढ्न आँट गर
बच्चा पाउने मेशिन होइन, संघर्षशील नारी बन ।
आधा संसार, यो धर्ती हाम्रै हो चिन्ता नगर ।
सिरसिर वतासले फिरफिर उडाउँथ्यो कालो र लामो केश सुमन्तीको । गाइरहन्थी मानेभञ्ज्याङ बजारमुन्तिरको रमिते ढुंगामा बसेर तोतेबोलीमा । मैले पनि मनमनै गुनगुनाएको अन्तरा हो ।
खै कसरी सिंगो संसार आफ्नो हुन्थ्यो,झुप्रो नहुनेहरुको । बा’ले निखन्न सकेकै थिएन घर तल्ला घरे ठाइला बाले बन्धकी राखेपछि । गाममा पञ्चलाल पनि भन्छन् ठाइला बालाई । पञ्चायतकालका मुखिया हुन रे । बहुदलकालमा गाउँ विकास समितको अध्यक्ष भा थिए । त्यै पनि ठाइला बा पञ्चलाल नै कहलिन्छन् ।
घरमा गर्जो टार्ने आयस्ता थिएन । गीत चाहिँ मन पथ्र्यौ । मन फुकाएर भाका खाप्थ्यौं, भष्मेमा खर काट्न जाँदा सुमन्ती र म । ५ कक्षा पढ्दा नै हो मैले सुनेको चाहिँ ।
त्यतिबेला सुरिलो भाकामा गाउथेँ एक हुल आएर स्कूलमा । टाउकोमा सेतो तारा अंकित रातो रुमाल बाँधेका । टाटेपांग्रे चाहिँ थिएनन्, त्यै सैनिक पोशाकजस्ता देखिने हरिया रंगका कपडा लाउँथे ।
मुक्ति, दासता, सामन्ती राज्य सत्ता, साम्राज्यवाद, विस्तारवाद, प्रतिक्रियावादी, माओवादी, माक्र्सवादी, लेलिनवादी यस्तै यस्तै भन्थें ।
मुठ्ठी टाउको भन्दा माथि लैजान्थे । अनि लालसलाम भन्थे । कमरेड भनेर साथीलाई बोलाउथे । फिरिक फिरक कम्मर भांचेर नाच्थे । गाउथे । फिटिक्कै बुझेको भा मार्दिनु । गीत चाँहि मन परेको थियो, सायद शब्दार्थ भन्दा लय मन परेको हुनुपर्छ ।
०००००००
‘मानेगाउँ पुछारको चौतारीमा भेट्ने है, अञ्जली, भोलि बिहान ।’ अस्मिताले स्कूलबाट फर्किदा भनी ।
‘किन ? घरआं आमा सिकिस्त छिन् । कामज्वरो हो भन्छिन् आमा तर, जति ओखतिमूलो गर्दा नि बिसेक भा होइन ।’ मैंले भनें ।
‘दुई दिनको कार्यक्रम छ क्या संगठनको ।’ अस्मिताले प्रष्ट्याई ।
‘कुन संगठन ? ‘ मलाई केही था’ भन ।
‘अखिल-क्रान्तिकारी)को आठौं जिल्ला सम्मेलन छ पर्सिबाट । हाम्रो स्कूलबाट तिम्रो, मेरो र सुमन्तीको नाम संगठनले तोकेको छ ।’ अस्मिताले भनी ।
अखिल-क्रान्तिकारी) ? नाम नै सुनेको थिइँन । सायद स्कूलमा गीत गाउने यिनै थिए । लख काटंे ।
स्कूलमा गीत गाएको । नाचेको । मनै छुने भाषण । सम्झिएँ ।
अस्मिताले आफ्नै अध्यक्षतामा अखिल(क्रान्तिकारी)को ७ सदस्यीय इकाई संगठन गठन गरेकी रहेछ स्कूलमा । त्यस संगठनमा मेरो नाम पनि रहेछ । त्यही भएर सम्मेलनमा जानुपर्ने रहेछ प्रतिनिधि भएर ।
युद्धविरामको ट्याम । गाम्मा छ्याप्पछ्याप्ती थिए राता मान्छेहरु ।
घरमा सिकिस्त आमालाई छोडेर कसरी जाने ? विरामले भरे भोलि झै छ । बा पनि सन्चो छैन भनेर झोक्राएका छन् हिजोदेखि । अस्ति ठाइला बाको यातनाले थला पार्दै लगेजस्तो छ । भाइ कलिलै छ । विरामी आमासँग झ्याम्मिरहन्छमात्रै । भाइ र मलाई हेर्दै आमा टिलपिल आँसु झारिरहन्छिन् , सायद मृत्युको रैवार पाइसकेकी छन् ।
‘आमा किन रोएको ? पेट झन् दुख्यो हो ? तपाई रोएपछि मलाई नि रुन आउँछ क्या । नरुनु न । ‘ आँखाभरि आसु पार्दै हिजो भनँे ।
‘छैन नानी । आज स्कूल गइस् त ? राम्रो पढेस् । भाइको ख्याल गरेस्, नकुट्नु नि रिसाएर । केटाकेटी हो, अलिअलि बिगार त गरिहाल्छ नि ।’ हिजो भाईलाई एक थप्पड दिएको देखिन क्यारे । आमा सम्झाउन थालिन ।
‘बा पनि टाउको दुख्यो भन्दै हुनुहुन्थ्यो । हिजैदेखि स्कूल जान पा’ छैन । ‘ मैले भनें ।
आमाले गाला मुर्सादै झन् पो रुन थाल्नु भो । मन थामिएन । आमाछोरी सँगै रोयौं, ग्वाँ ग्वाँ ग्वाँ ।
००००००००
बर्खाको ट्याम, तावाखोलाको फट्के तर्नै गाह्रो । बाँस फुटाएर बनाएको फट्के । टेक्यो कि हल्लिन थाल्थ्यो । तल कालीदह मुटु काम्ने गरी भुमरी मारेको । मास्तिर छाँगो सातो जाने अग्लो । पारी घना जंगल । एक्लै, दुक्लै कोही हिँड्दैन थिए, । त्यही बाटो थियो संगठनको सम्मेलनमा जाने । मगर गाउ हुँदै टेम्मा निस्कनुपर्ने ।
बा मचानमा सुत्न जानुभयो, भाइलाई लिएर । आमा छेऊको बिस्तारामा पल्टिएँ म । एक्कासी विगतका पत्र-पत्र उर्लिन थाले भदौरे झेलझै ।
‘तँ डाङरालाई खाएपछि तिर्नुपर्छ भन्ने थाहा छैन ? दमाईको जात न हो ‘ आँखा रातारात पार्दै कट्केका थिए ठाइला बा दुई हप्ता पहिला । बाको कठालो समातेर ठाइलाबाका गोठाला कृष्णले मुक्का हानेका मात्रै के थिए बा करेसाबारीमा पुगे । टाउकोमा चोट लागेछ, भलभली रगत आयो ।
कृष्णले नै आमालाई पेटमा लात्ती हाने । मचानमा आगो झोसिदिए । बाको लुगा सिउने मिसिन मिल्काइदिए । मिसिन बा’को दाहिने हातमा बजारिएछ । मलाई दुई थप्पड हाने । अनि दुईवटा खसी लेर हिडे । बिस्तारै बा करेसाबारीबाट उठे । दाहिने हात चल्दै चलेन । ठनक्कै भाँचिएछ । टाउको र हातको घाउ पाकेर पीप बगिरहेछ तरतरी । त्यही दुखाइले झोक्राएका हुन् बा ।
००००
गरिब, दलितको शासन आउँछ । सप्पै बराबरी हुन्छन् । स्कुलमा आउने राता मान्छेहरु भन्थे । बुझेको यति हो । मलाई दमाई भनेर हेपेकोमा आक्रोश थियो । गरिब भनेर ठाइला बाले गरेको अत्याचार असहृय थियो । वालमस्तिष्कमा ठाइलाबालाई जसरी बदला लिनुपर्छ भन्ने थियो ।
‘चाहनामात्रै हुनुपर्छ, चट्टानमा मूल फुटाउन सकिन्छ । वर्ग संग्रामको मोर्चा युगीन परिवर्तनको संभावनाको लडाइँ हो । हजारौं माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ । ‘ राता मान्छेहरुले भनेको सम्झिएँ । वास्तवमा मलाई ठाइला बासँग बदला लिनु पनि थियो, संसार बदल्नेभन्दा ।
बिरामी आमा र बा, कलिलो भाई छोडेर युद्ध मोर्चा कस्ने अठोट गरें । भोलिको सुविस्ताको जीवन कल्पिएँ ।
००००
सिकिस्त आमा । झोक्राएका बा । कलिलो भाइ आँखा अगाडि नाचिरहन्थे हरेक सेल्टरमा । क्रान्तिका नाममा युद्धमा हिँडेपछि आमा मेरै पीरले वितिछन ६ महिनामै । टाउको र हातको पाक्दो घाउँसँगै बगेको पीपसँग कहिल्यै दुःख,पीडा,पीर बग्न सकेन बाको । मात्रै बग्यो, सुख, खुसी, आशा, सपना र आकांक्षाहरु ।
‘ठाइला बा को घरमा भएका सबै गरिबको लालपूर्जा फिर्ता गर्ने । सामान्य भौतिक कारवाही गर्ने । आइन्दा ऋण दिँदा शून्य नथप्ने वाचा गराउने । ‘ पार्टीले यस्तै निर्णय गरयो । एसीएम इञ्चार्जको नेतृत्वमा कारवाही गरियो ठाइला बा अर्थात पञ्चलाललाई ।
गाउँलेले कमाएको खेतको धान पञ्चलाललाई बुझाउन छोडे पार्टीको कारवाहीपछि । गाउँलेकै अगाडि कारबाही भएकाले बुढा झोक्राइरहेका थिएँ लाजले । पीरमा थिए । ३ महिनापछि पञ्चलाल गाम् छोडेर राजधानी छिरे ।
०००००
गोली बारुदको घनघोर जीवन बिताएको झन्डै ७ वर्ष भएछ, पार्टीले शान्ति सम्झौता गर्दासम्म । युद्ध मोर्चाबाट विजय भएर रिटि्रट भएको हो कि दुश्मनसँग सरेन्डर गरेर ? क्रान्तिको अर्को मोर्चा हो शान्ति प्रक्रिया भन्थ्यो पार्टी । रानीवनमा स्वतन्त्रतापूर्वक उड्ने चरीको जीवन ब्यारेकीकरण भयो । नबुझेको त कहाँ हो र पिँजडा त पिँजडा नै हो सुनकै भए पनि ।
दाहिने खुट्टा काम नलाग्ने भइसकेको थियो । देब्रेको पञ्जा भोजपुरको घोडेपानी मोर्चामै सकियो हो । चैनपुर मोर्चाको दुईवटा गोली अझै बाँकी छ पेटमा । गोलीको दुखाइ र खुट्टाको घाउ अहिले पनि चहर्याइरहन्छ । उपचार गर्न सहयोग गरेन पार्टी सरकारमा हुँदा पनि । उल्टै घाइते अपांग भनेर ब्यारेकबाट घर पठाइदियो,रित्तो हात ।
बाहिरी आवरण क्रान्तिकारी, वर्गसमन्यव र आमूल परिवर्तनको छलाङमय विज्ञापन भए पनि पार्टी नेतृत्वको भित्री अनुहार दरिद्र र मैलो रै ! छ । संसार बदल्न हिँडेकाहरु व्यापारको सट्टाबजार आइपुगे, क्रिकेटमा गोल भएझै ।
ब्यारेकबाट घर फिर्दा पञ्चलाल पनि फर्किसकेका रहेछन गाम्मा । पुरानै फुर्ति देखिन्थ्यो, बरु ममा आत्माग्लानी थियो । सहरमा हाम्रै नेतासँग मिलेर रक्तचन्दन तस्करीको लाइन मिलाउँथे रे । मेरो भाइ मलेसिया गएर भर्खरै फर्केको थियो । कमाउनु त के, उल्टै दाहिने हात गुमाएर फर्केछ । काठ काट्ने मेसिन चलाउँदा हात लगेछ मेसिनले ।
एक तमासको नरमाइलोपनले भित्रभित्रै निकै छोएको छ । आतुर छ मन । उधुम छटपटाहट छ । त्यसै त्यसै नजर लोलाउँदै आफै सम्पूर्ण टोलाएको छु । तड्पिएको मन । बाफिएको आत्मा । चुँडिएको धड्कनलाई कतिज्जेल मौनताको कैदी बनाउन सकिन्छ ? स्मृतिको छाललाई पर्दाले छेक्न पटक्कै नसकिने रहेछ ।
कतै त्यसै एकान्तमा छिपेर अघाउञ्जेल ग्वँा ग्वाँ रुने इच्छा छ । जताततै कोलाहल, हल्लाखल्ला र कर्ण कटुतामात्र । मन बर्खे साप्सु खोलाभन्दा वेगले गडगडाएको छ । आवेग, आक्रोश उम्लिरहेको छ,भकभक गरी । शब्दहरु आगो ओकलिरहेका छन् गोलीझै । मन विस्फोटित हुन खोज्दैछ गि्रनेटझै ।
‘गाईको अनुहार परेको गोरु पर्‍यो क्यारे, क्रान्ति । नत्र क्रान्ति, भैंसीको अगाडि सनहाई फुकेझै किन भयो ? ‘
परिश्रमको सुन्दर उपहार । स्वभाविक लालीमा । यौवन, उर्वर बैंस । सप्पै सप्पै बलिदानी गरियो,क्रान्तिको नाममा । सपना,कल्पना र आश्वसनपछिको प्राप्ति के त ? आमा गुमाएँ । बा गुमाएँ । भाइ अर्धमृत छ मजस्तै ।
आकाश गुमाएपछिको यौवन लुट्न वीचमा रमेश आएको थियो । उसले पनि शान्ति प्रक्रियापछि आफ्नै बाटो ततायो । तल्लो जातको केटी भएँ रे । अपांग भएँ रे । अस्तिमात्रै सुनेको, जात मिल्दोसँग बिहे गर्यो रे रमेशले ।
जेनतेन पहिलो संविधानसभासम्म चित्त बुझाएकै थिएँ, नेतृत्वभन्दा विचार ठीक थियो भनेर । युद्धको आश्वासनका बाछिटाहरु संविधानसम्म पुग्लान् भनेर । अफसोच, हाम्रा लोग्नेहरुहको बलिदानीको पहाड चढेर राजाको गाउँमा टावर ठडिए । तस्करी र ठेकदारीको लाइन खुले ।
००००
असोज १५
‘अहिलेको चुनावाँ पञ्चलालले टिकट पाए रे होउँ हाम्रो पार्टीअँट ।’ सुमन्तीले एक सासमा भनी भ्याई ।
‘अस्ति मानेभञ्ज्याङ बजाराँ कंग्रेसको टिकट पाउने हल्ला थो’त । त्यही भ’र काठमाडौ गा’का रे ।’ सुनेको भन्दिएँ ।
‘हेर्नुस् है कामरेड पञ्चलालले टिकट पाए भने त …………। भोट न सोट । पार्टी न सार्टी ।’ सुमन्तीले आक्रोश पोखी ।
खेतभरि लहलह झुलेको धान । बारीका डिलमा रहरलाग्दो गरी फुलेका सयपत्री र मखमली । मनको रहर त्यसरी नै फुल्नुपर्ने हो । आकांक्षा र सपनाको कोपिला फर्किनुपर्ने थियो ।
पञ्चलालले पार्टीबाट चुनावको टिकट पाउने गाइँगुइँले पीडा र आक्रोश अटेसमटेस गरी मडारिरहेका थिए, गर्जिन लागेको बादलझै । दशैं र तिहारको रौनकभन्दा पञ्चलालको हल्लाले गाम्मा सन्नाटा छाएको थियो ।
‘हो यसरी नै निमोठिन्छ क्षितिजको भर्भराउँदो सविता । स्थिरताविरुद्ध व्यस्त जीवन । गतिशिल यात्रा । अटूट गति । पूर्व क्षितिजबाट रातो लाली उदाउने उत्कट अभिलाषा ‘ मलाई पनि लाग्यो ।
एकटकले तल तावाखोलातिर हेरी सुमन्तीले, शहरबाट दशैं मान्न गाम्तिर आउँदै गरेको लर्कोमा ।
००००००
असोज २१
आकाश खुलेको छैन धुम्मिएर । पुरै क्षितिज धुमित बनाएर विरक्तता थपेको छ । घाम नलागे पनि गर्मीले खुबै लपेटिरहेको छ । खल्खली पसिना बगेको छ तनमा । पसिना पनि के भन्नु खासमा आक्रोश उम्लिएर पोखिएको हो । गम्छाले पुछदै एकपटक अतीततिर पुग्ने इच्छा पलाएर आयो । अतीतको पल्लो कुनामा नपुग्दै आँखा रसाउन थाले । पटक्कै रोक्न सकिनँ ।
सायद, मनसुन पनि पञ्चललाले टिकट पाएकोमा विरक्तिएछ । हेडक्वार्टर कमरेडमा उपभोगतावादको वासनाका ग्रन्थी रसाएर पो हो कि ।
‘लाजिम्पाट दरबार खरिद गरे रे’ ‘पेरिसडाँडा पनि खरिद गरिएको रे’ गाम्ममा खुबै हल्लीखल्ली छ ।
‘राता मान्छेहरु लालसा र वासनाको सिकार भए । आर्दश,मूल्य,मान्यता प्रतिवद्धता,विचार पोली खाए । घमण्ड, अंहकार र तुजुग प्रर्दशनीमा लागे ।’ निकै भो गाम्मा भन्न थालेका । सुमन्तीले पहिला पनि भन्थिन् ‘आर्दश, मूल्य मान्यता होइन त्रास, हप्कीदप्की नै पार्टीको चालक शक्ति बन्यो । लालदासहरुको जन्म हुँदै गयो ।’
राजनीतिक सुरक्षाका लागि गुटको फुर्को समाउनुपर्ने त मैले पनि भोगेको हो ।
पार्टीले कारबाही गरेको पञ्चलाल जनयुद्धको व्याख्यता र नेतृत्वमा आएको छ । ऊ मात्रै होइन रक्तरञ्जित संग्रामका थुप्रै रमिते र तमासे नेता भएर आएका छन् ।
होनहार युवाको रगतलाई महिलाको रजस्वलाको रगत भन्नेहरु पनि जनयुद्धको व्याख्याता छन् । मैले किन नभनुँ ‘लालदास र पाहुनाहरुको हालिमुहाली हुन थाल्यो ।’
००००
‘क्रान्तिबाट आर्दश नायक र आर्दश जीवनको खोजी स्वप्नील भ्रममात्रै हो,आफ्नो प्रतिविम्ब हेर्ने ऐनाको विम्बजस्तो । जहाँ हाम्रो प्रतिविम्ब र प्रतिरुपको भ्रमबाहेक केही हुदैन । सत्य त हामी हो । यथार्थ त हाम्रो जीवन हो । समाज हो ‘ मलाई लाग्न थालेको छ ।
आँखामा प्रतिक्षा नभएर हो कि मभित्रको आशा अस्ताएर हो ? क्रान्ति र सपनाको लालीमा खग्रास ग्रहण लागेको मात्रै देख्छु । चाहना, भावना, सपना, कल्पना, रचना, प्रतिक्षा, आशा,संभावना सप्पै सप्पै प्रतिविम्बित थियो क्रान्तिको प्रतिमामा । क्षितिजको रुवीझै स्मृतिमा विलीन भयो, संभावनाको ढोका बन्द गरेर । साप्सुखोला वारि म लुखुर-लुखुर हिँड्दै गर्दा क्रान्ति र सपना पारि हुइँकिरहेको हुन्छ फाटिएका दुई किनारामा ।

 


प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com