विपक्षी दलका युवा–विद्यार्थीद्वारा भारतीय दूतावास घेराउ


प्रकाशित मिति : मंसिर १९, २०७३ आईतबार

संविधान संशोधन विधेयकविरुद्ध आन्दोलनरत विपक्षी दलका युवा–विद्यार्थी संगठनले शनिबार भारतीय दूतावास घेराउ गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेसमर्थित युवा संघ, अनेरास्ववियुलगायत अन्य विपक्षी दलनिकट युवा र विद्यार्थी संगठनले बिहान दुई घन्टा भारतीय दूतावास घेराउ गरेका हुन् । सोही समूहले अपराह्न माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म सिठी जुलुस निकालेको हो । जुलुसमा नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेमकिपाका युवा–विद्यार्थी भ्रातृ संगठन सहभागी थिए ।

नेपालका लागि भारतीय राजदूत रञ्जित रायले कर्मचारीको हैसियतभन्दा माथि उठेर नेपालका राजनीतिक दलहरूलाई निर्देशित गर्ने गरी पदीय मर्यादा र आचरणविपरीत काम गरेको उनीहरूले आरोप लगाएका छन् । दूतावासभित्र मधेसकेन्द्रित दलका नेताहरू भारतीय राजदूत रायसँग छलफल गरिररहेका बेला युवा–विद्यार्थी संगठनले दूतावास घेराउ गरेका हुन् ।

घेराउपछि कोणसभालाई सम्बोधन गर्दै युवा संघका प्रवक्ता प्रभातविक्रम कटुवाल र अनेरास्ववियुका सचिव आरसी लामिछानेले पदीय मर्यादाविपरीतका गतिविधि कायमै राखे राजदूत रायलाई नेपाली जनताले फिर्ता पठाउने चेतावनी दिए ।

त्यस्तै, अपराह्न सिठी जुलुश प्रदर्शन गर्दै उनीहरूले संशोधन विधेयक तत्काल फिर्ता लिएर जनताको भावनाको सम्मान गर्न सरकारसँग माग गरेका छन् । जुलुसपछि नयाँ बानेश्वरमा आयोजित कोणसभालाई युवा संघका उपाध्यक्ष रमेश पौडेल, अनेरास्ववियुकी अध्यक्ष नवीना लामा, प्रगतिशील युवा संघका अध्यक्ष लोकेन्द्र केसीलगायतले सम्बोधन गरेका थिए । विरोधका कार्यक्रमलाई आइतबार पनि निरन्तरता दिइने युवा संघ नेपालका प्रवक्ता कटुवालले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com