नवलपरासीमा ६० जना यात्रु बोकेको बसलाई भारतिय ट्रकले हान्दा ५० मिटर तल खस्यो


प्रकाशित मिति : आश्विन ५, २०७५ शुक्रबार

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ कुसुण्डेमा रात्रिबस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् । काठमाडौँदेखि दाङका लागि छुटेको ना६ख ९२८ नं को यात्रुवाहक बस गए राति विपरीत दिशाबाट आउँदै गरेको आरजे १४ जिसी ३८४९ नं को भारतीय ट्रकसँग जुझ्दा बस सडकदेखि ५० मिटर तल खसेको थियो । बसमा कम्तीमा ६० यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये १३ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने अन्य १९ को स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा अहिले राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

यसैगरी भक्तपुरको सूर्यविनायक–९ हवनव अगाडि अरनिको राजमार्गमा गए राति बनेपा जाँदै गरेको बा९ख ९४५४ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा८०प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सिना र मोटरसाइकलको पछाडि रहेका चितवन घर भई हाल मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर बस्ने १८ वर्षीया एलिशा अधिकारीको मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिनुभयो ।

घाइतेको उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा अस्पतालले दुवैलाई मृत घोषणा गरेको थियो । प्रहरीले घटनापछि फरार रहेका बसका चालक काभ्रे बनेपा चारदोबाटोका ३३ वर्षीय सनम श्रेष्ठ र बसलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रनाउ शर्माले जानकारी दिनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com