‘यसरी गरियो दिल्लीबाट १६ नेपाली महिलाको उद्दार’ : इन्द्रराज भट्टराई


प्रकाशित मिति : भाद्र २१, २०७५ बिहीबार

मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यको लागि विगत १० बर्षदेखि काम गर्दै आएको, के.आई.नेपालले हालै १६ जना नेपाली महिलालाई उद्धार गरेको छ । भारतको नयाँ दिल्लीमा एक महिनादेखि बन्धक बनाईएका ती महिलालाई कस्तो अवस्थामा थिए । यसबारेमा के.आई.नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईसँग खसोखासले गरेको कुराकानी ।

नेपाली महिलालाई नयाँ दिल्लीमा बन्धक बनाइएको छ, भन्ने कुरा कसरी थाहा पाउनुभयो ?

बन्धक बनाईएकी एक जना महिलाको घर परिवारबाट के.आई.नेपालमा जानकारी आयो । ६ जना महिलालाई कुवेत पठाउने भन्दै एक महिनादेखि दलालले थुनेर राखेको छ, भन्ने अपुष्ट खबर पायौँ । भारतमा राखिएको छ भन्ने थाहा भयो । तर, कुन ठाउँ जानकारी थिएन । एउटा फोन नम्बरको आधारमा के.आई.नेपालको रेस्क्यू टीमले अनुसन्धान सुरु गर्यो । पहिलो काम, प्रहरी कहाँ पुगेर फोन ट्याकिङ ग¥यौ । रेस्क्यू गर्नु एकदिन अगाडि सूचना दिने महिलासम्म पुग्न सफल भयौँ । उनीसँग भेट भएपछि थाहा भयो,इराक र कुवेत पठाउने भन्दै दलालहरुले दिल्लीको मुनिर्कामा केही महिलाहरु बन्धक बनाएर राखेका छन् । उनका अनुसार ‘केही दिन अगाडि ६/७ जना महिलालाई तस्करहरुले कुवेत पठाईसकेका थिए ।’ अचम्मको कुरा दिल्ली पुलिसको ठानादेखि ५ सय मिटर नजिकैको घरमा उनीहरुलाई बन्धक बनाएर राखिएको थियो ।

बन्धक बनाइएका महिला कस्तो अवस्थामा थिए । र, कसरी रेस्क्यू गर्नुभयो ?

एक महिनादेखि एउटा सानो कोठामा १६ जना नेपाली महिला बन्धक थिए । उनीहरुलाई कोचेर राखिएको अवस्थामा हामीले रेस्क्यू गरेका हौँ । उनीहरुका सबै डकुमेन्ट तस्करकै कब्जामा थियो । बन्धक महिलामाथि दलालहरुले बिभिन्न हिंसा गरेर राखेका थिए । हाम्रो रेस्क्यूटिमले बन्धक बनाएर राखेको ठाउँ पत्ता लगाएपछि भारतमा रहेको नेपाली दुतावास र दिल्ली महिला आयोगका अध्यक्षलाई जानकारी गरायो । रेस्क्यूको लागि सहयोग माग्यौ । हामीले जानकारी गराए लगत्तै आयोगका अध्यक्ष स्वाती मालीवाल आफै रेस्क्यूमा खट्नुभयो । दिल्ली पुलिसको सहयोगमा रातीेको १ः३० बजे मुनिर्कामा रेड गरेर उनीहरुको उद्धार गर्यौ । हाम्रा चेलीहरुको उद्धारका लागि दिल्ली प्रहरी र महिला आयोग अध्यक्षले ठूलो सहयोग गर्नुभयो । १९९६ पछि यतिठूलो संख्यामा एकै पटक नेपाली महिलाको उद्धार गरिएको, सायद यो पहिलो पटक हो । १९९६ मा भारतबाटै एकै पटक १२४ जना नेपाली महिलाको उद्धार गरिएको थियो ।

यी त हामीले थाहा पाएका घटना भए । तर, नयाँ दिल्ली अहिले नेपाली महिलालाई अन्य मुलुकमा लैजाने टन्जिट पोइन्ट बनेकोे छ । अहिले पनि नेपाली किशोरीहरुलाई दिल्ली, मुम्बई, जयपुर, बान्द्रा, चेन्नाई, गोव र पुने लगायतका शहरमा मानव तस्करहरुले बेचिरहेका सूचना आइरहेका छन् । त्यहाँबाट कतिपय महिला र किशोरीहरुलाई पानी जहाजमा राखेर श्रीलंका हुँदै नयाँ नयाँ मुलुकहरुमा पुराउने गरेका घटनाहरु पनि छन् । यस्तो अवस्थालाई कसरी रोक्ने ? उनीहरुको उद्धार कसरी गर्ने र घर फर्काउने भन्नेमा हामी लागि रहेका छौँ । यसको बारेमा दिल्ली सरकारसँग कसरी समन्वय गरी काम गर्न सकिन्छ भन्नेमा छलफल गरिरहेका छौँ ।

आफू कुन देशमा के कामको लागि जाँदैछु भन्ने उनीहरुलाई जानकारी रहेछ ?

कहाँ जानकारी हुनु ! छैन । म कहाँ जाँदैछु ? मैले के काम गर्नुपर्ने हो ? र, बैदेशिक रोजगारीमा जाँदा कुनबाटो जानुपर्छ भन्ने बिषयमा थाहै छैन । विदेशमा राम्रो कमाइ हुन्छ भन्ने दलालको चिल्लो कुरामा विश्वास गर्ने गाउँका मात्र होइन, शहरका शिक्षित महिला पनि रहेका छन् । दलालले आफ्नो चंगुलमा पार्न वित्तिकै उनीहरुको पासपोर्ट आफ्नो कब्जामै राखेको हुन्छ ।अहिले उद्धार गरेका सबै जनाको पासपोर्ट पनि दलालले लिएर भागेका छन् ।

रेक्स्यूपछि ती महिलाहरुको प्रतिक्रिया कस्तो थियो ? कुरा गर्नुभयो होला नि ?

एक महिनादेखि डर त्रासमा बाँचेका उनीहरुको पहिलो भनाई ‘नर्क जानबाट बचाउनु भो ।’

सिमानाकामा कडाई गर्दागर्दै पनि यति ठूलो संख्यामा महिलाहरु कसरी भारत पुगे होलान् ?

नेपाल भारत सिमानाका २६ वटा छन् । २६ वटामै भन्सार कार्यालय छ । तर सबै नाकामा संघसस्थाहरु सक्रियतापूर्वक काम गरेको पाईदैन । खुल्ला सिमानाको कारण यी नाका बाहेक धेरै, चोरी नाकाहरु पनि छन् । जहाँबाट तस्करहरुले महिलालाई सजिलै भारत पर्याउन सक्दछन् । बोडर्रमा संघ संस्थाले हेर्ने भनेको डकुमेन्ट हो । कहाँ जाँदैन छन ? कस्ता डकुमेन्ट लिएर जाँदैछ ? भारतमा उसको सम्र्पक व्यक्ति को हो ?यस्ता विषयमा शंक्का लाग्यो भने मात्र छानबिन हुन्छ ।

अर्को कुरा, हवाई मार्गमा निगरानी कम हुने हुँदा अहिले कतिपय किशोरीहरुलाई हवाई मार्ग हुँदै भारत पु¥याइएका घटनाहरु पनि छन् । भारत पु¥याएपछि दलालले कतिपयलाई भारतमै बेचिदिने, र कतिपयालाई, कुबेत, इराक, केन्या, क्रिगिस्थान र साउदी अरबको बजारमा खसीबाख्रा जस्तै मोलमोलाई गरेर बेचिदिन्छन् । त्यहाँका मनिसहरु नेपाली महिलालाई घरेलु कामदारको रुपमा खरिद गरेर लैजान्छन् । केही समय घरमा राख्ने उनीहरुमाथि विभिन्न खालका हिंसा गर्ने र फेरि त्यही ठाउँमा फिर्ता गर्ने गर्दछन् । फेरि अर्को ठाउँमा त्यसैगरी महिला बेचिन्छ । यस्ता अनगिन्ती घटनाहरु छन् । कुनै घटना त निकै दर्दनाक छन् ।

उनीहरुमाथि हुने शारिरीक हिंसाका घटना त ! सुन्दै डरलाग्दा छन् । केही गरी त्यो नर्कबाट महिला बाहिर आएपनि के गर्ने ? उनीहरुसँग नत पासपोर्ट हुन्छ, नत भाषा जानेका हुन्छन् नत पैसा नै हुन्छ । त्यही प्रताडित भएर बस्न बाध्य छन् नेपाली चेलीहरु छन् ।

उद्धार गरिएका एक सय भन्दा धेरै महिला नेपाली दुतावासको सेल्टरमा छन् । त्यहाँबाट के.आई.नेपाललाई गुहार लगाउँदै हुनुहुन्छ । भर्खरै एक जना बहिनीलाई त्यहाँबाट हामीले उद्धार गरेर नेपाल ल्याएका छौँ । तर हामीसँग पनि तत्कालै उहाँहरुलाई नेपाल ल्याउन सक्ने बजेट छैन । सरकारी प्रक्रिया अलि लामो छ ।

उद्धारपछि भारतीय महिला आयोगको सेल्टरमा किन राख्नु भयो ?

अत्यन्तै दुःख लाग्दो कुरा, दिल्लीमा नेपालको एउटा आपतकालिन सेल्टर छैन । नेपाली दुताबासमा पनि त्यो व्यावस्था छैन । यसको बारेमा हामीले एक महिना अगाडी पराराष्ट्र मन्त्रालयलाई लिखित जानकारी गराएका छौँ । यदि राज्यले के.आई.नेपालसँग सहकार्य गरेर सेल्टर होम सञ्चालन गर्न चाहन्छ भने हामी तयार छौँ भनेका थियौँ । सबै खर्च हामीले गर्न सक्दैनौँ तर, राज्यले जग्गा उपलब्ध गरायो भने स्टाप र सेल्टरमा हुने खर्च हामी गर्छौ भन्ने प्रस्ताव राखेका छौँ । १६ जना महिलाको उद्धार गर्दामा भारतको महिला आयोग थियो र सजिलो भयो । तर, यो भन्दा अगाडि हामीले उद्धार गरेका महिला तथा बालबालिकालाई राख्ने ठाउँ थिएन । तर पनि हामीले भारतमा भएका नेपाली परिवारलाई सहयोग गर्न अनुरोध गर्दथ्यौँ र उहाँहरुले केही दिन राखिदिनु हुन्थ्यो । यसरी काम गर्नु सजिलो छैन । रेस्क्यूपछि लगत्तै उनीहरुलाई नेपाल ल्याउन सकिदैन । कतिपय प्रक्रिया नेपाली एम्बेसी मार्फत पुरा गर्नुपर्ने हुन्छ ।

सामाजिक सञ्जालको प्रयोगले पनि मानव बेचबिखन र महिला हिंसा बढेको छ, भन्ने कुरा सत्य हो ?

हो, हामीसँग यस्ता घटना छन् । के.आई.नेपालले करिब दुई महिना अगाडि भारतको नयाँ दिल्ली जिविरोड कोठी नम्बर ६४ बाट उद्धार गरेकी महिला सामाजिक सञ्जालकै कारण बेचिन पुगेकी थिईन । फेसबुकमा अपरिचत मानिससँग साथी बनिन् । कुरा हुँदै जादा, उनीहरुको भेटघाट हुन थाल्यो । त्यसपछि घुम्न भन्दै भारतमा पुगे । भारत पुगेपछि ती महिलालाई दिल्लीको कुनै ठाउँमा एक महिनासम्म बन्धक बनाएर राखियो । उनलाई त्यहाँ पनि बिभिन्न खालका अनैतिक काममा लगाईयो ।

त्यसपछि उनलाई कोठी नम्बर ६४ मा लगेर दलालले बेचिदिए । उनी बेचिएको तीन महिनापछि के.आई.नेपालमा जानकारी आयो र हामीले उद्धार गरेर नेपाली ल्याएका छौँ । सामाजिक सञ्जालको प्रयोगसँगै दुरुपयोग पनि उत्तिकै बढेको छ । विशेषगरी किशोरीहरु फेसबुककै कारण कुलतमा फस्दै गएका धेरै घटनाहरु बाहिर आएका छन् । फेसबुके साथीहरुको कारण गाउँबाट शहर आउँने । शहरमा मानव बेचबिखन गर्ने दलाल र अपराधीको जालमा पर्ने र बेचिन बाध्य भएका घटना बढेका छन् । किशोर किशोरीहरुलाई कुलतबाट बचाउन घर परिवारले नै विशेष ध्यान दिन जरुरी छ ।

दिल्लीको कोठी नम्बर ६४ को बेलाबेला चर्चा हुने गर्दछ, यसको बारेमा तपाईलाई केही जानकारी छ ?

यहाँ भएका धेरै कोठी मध्ये ६४ नम्बर, नेपाली महिलाले सञ्चालन गरेको, नेपाली महिला मात्र देहव्यापारमा लगाउने कोठीको रुपमा परिचित छ । प्राप्त जानकारी अनुसार नुवाकोट की एक महिलाले ४ वटा कोठी सञ्चालन गरेकी छन् । ती मध्ये नयाँ दिल्ली जिबि रोडको ६४ नम्बर एउटा कोठी हो । यसको बारेमा सिआईबीले पनि अनुसन्धान गरिहेको छ ।

बिदेशमा मात्र होइन, आन्तरिक बेचबिखन पनि बढेको छ,भन्ने कुरा उठिरहेको छ नि ?

विभिन्न बहानामा महिला तथा किशोरीहरु आन्तरिक बेचबिखनमा परेका छन् । यो संख्या ठूलो छ । खासगरी, काठमाडौँ, पोखरा, चितवन, बुटबल, नेपालगञ्ज र विराटनगर जस्ता मुख्य शहरमा मनोरञ्जन र कामको नाममा बेचिएका छन् । मानव तस्करले किशोरीहरुलाई शहरको राम्रो फ्याल्टमा राख्ने वा होटलमा राखी विभिन्न ठाउँमा देह व्यापारको लागि पठाउने गरेका घटना छन् ।

अर्को कुरा, आन्तरिक बेचबिखन मानव बेचिबिखनको ट्रान्जिटको रुपमा विकास हुँदै आएको छ । गाउँबाट शहरमा आउने किशोरीहरु कुलतमा फस्ने र विदेश जान आकर्षित हुने गरेका धेरै घटना छन् ।

साना नानीहरुलाई दलालले छिटो बढ्ने सुई लगाएर विदेशमा बेच्ने गरेका घटना सुन्नमा आउँछन्, कुरा के हो ?

सुनेको छु । तर, यस्ता केस दर्ता भएका छैनन् । उद्धार गरेका कतिपय साना नानीहरु पाको उमेरका देखिन्छन् । ९/१० वर्षको नानीलाई विभिन्न किसिमको इन्जेक्सन दिएर ८/९ महिनामै कम्तिमा पनि १५/१६ वर्षको जस्तो बनाउने र तस्करहरुले ठूलो मुल्यमा कोठी संचालकहरुलाई बेच्ने गरेका घटना बेलाबेला सुन्नमा आउँछन् ।

मानव बेचबिखन विरुद्धको मुद्धा सरकारबादी मुद्धा हो । तर, सरकार मानव तस्करसँग बारम्बार हार्ने गरेको पाइन्छ ? यस्ता जघन्य अपराधका मुद्धामा राज्य किन हार्छ ?तपाईलाई के लाग्छ ?

राज्यले गर्ने अनुसन्धान फितलो र झन्झटिलो भईदिँदा प्रामाण पुग्दैन्, अदालतले प्रमाण खोज्दछ् । जसको कारण प्राभावितहरुका पक्षमा निर्यण हुँदैन । यो मुद्धा उनीहरुले हारेको होइन ! राज्यले हारेको हो । तपाईलाई एउटा घटना सुनाउँछु । ‘कक्षा १० मा पढ्ने दोलखाको नानीलाई कांकडभित्ताबाट के.आई.नेपालले उद्धार गरेको थियो । ती नानी गर्भवति थिइन । मेडिकल चेक जाँचपछि नानीले भारत लैजाँन लागेको मानिस विरुद्ध किटानी जाहेरी सहित मुद्धा दर्ता गरिन । मानव बेचबिखन र जर्वजस्ति करणीको मुद्धा दार्ता भयो । त्यो व्यक्ति गिरफ्तार भयो । १९ दिनपछि छुट्यो ।’यस्तो अपराधी किन छुट्यो भनेर, खोज्दै जाँदा उक्त व्यक्ति सरकारको उच्च निकायमा रहेका मानिससँग जोडिएको सूचना प्राप्त भयो ।

यस्ता घटनामा अनुसन्धान प्रक्रिया पीडित मैत्री छ वा छैन भन्ने कुरा महत्वपूर्ण हो । थोरै खराब मानिसको कारण समाजमा विक्रति आएको छ, समाजमा धेरै राम्रा मान्छेहरु छन्, उहाँहरु बाहिर आएर आफ्ना कुरा राख्नुपर्यो ।

तपाईहरुले सञ्चालन गरेको हिंसा विरुद्ध ‘म एक जिम्मेवार पुरुष’ कस्तो अभियान हो ?

मानब बेचबिखन विरुद्ध र हिंसा अन्त्यको लागि विगत १० वर्षदेखि कार्यक्रम सञ्चालन ग¥यौ र अहिले पनि गरिरहेका छौँ । अधिकारको क्षेत्रमा हेर्दा महिलामा नेतृत्व विकास त भयो तर, मानव बेचविखन र हिंसा अन्त्यको लागि महिलाहरुको शसक्तिकरणले मात्र सम्भब रहेनछ । यसमा पुरुषहरु जिम्मेवार हुनुपर्छ । पुरुषहरु जिम्मेवार भएभने यौन व्यावसाको लागि हुने बेचबिखन अन्त्य हुन्छ । यौन व्यावसायीमा महिलालाई माग गर्ने पुरुषनै हुन । यदि पुरुषहरु जिम्मेवार भए भने घरबाटै महिलाहरु सुरक्षित हुन थाल्छन् ।

जिम्मेवार पुरुषले घरमामात्र होइन, विस्तारै समाजमा परिवर्तन ल्याउन सक्छ । पुरुषले हामी महिला, किशोरी र बालबालिकाको भक्षक होइन, रक्षक हौँ भन्ने भावनात्मक र जिम्मेवारी पूर्ण चेतनाको विकास हुँदा यस्ता अपराध अन्त्य हुनसक्छ भन्ने उदेश्यका साथ ‘म एक जिम्मेवार पुरुष’ भन्ने अभियानको सुरु गरेका हौँ ।

पाँच जिल्लामा १० वटा पुरुष समूह निर्माण गनेका छौँ । यो अभियान देशव्यापी रुपमा विस्तार गर्दैछौँ । पुरुष समूह बनाउनुको मुख्य उदेश्य कम्तिमा ५ मिनेट भएपनि दैनिक रुपमा छलफल महिला हिंसा अन्त्यको लागि बहस गरुन भन्ने हो । अर्को, महिला हिंसा अन्त्य र मानव बेचविखन बिरुद्ध अभियान गाउँगाउँबाट सञ्चान गर्न र चेतना फैसाउन सकियोस् भन्ने पनि हो । यस अभियानले समाजमा केही न केही परिपर्तन अवश्य ल्याउने छ । हामी हरेक पुरुषलाई सच्चा पुरुष बनाउन चाहाँन्छौँ । जसले गर्दा मानव बेचविखन र घरेलु हिंसाको अन्त्य हुनेछ ।

मानव बेचविखन र हिंसा विरुद्धभन्दै केआईले बनाएको मोवाइल याप्पको बारेमा बताईदिनुन ?

यो याप्प दुईवटा उदेश्यले बनाएका हौँ । पहिलो, कुनै महिला वा बालबालिका हराए भने जो कोहीले पनि उक्तव्यक्तिको बारेमा याप्पबाट जानकारी दिन सकिन्छ । दोस्रो, यो मुवाईल याप्प डाउनलोड गरेका हरेक डिभाइसमा घटनाको बारेमा जानकारी आउँछ । यो मोवाइल याप्पको प्रयोग सम्पूर्ण सरोकारवाला निकायले गर्नुभएको छ ।

यसैगरी नेपालबाट भारतजाँदै गरेका महिला तथा किशोरीहरुको सिमानाकामा सोध पुछगर्ने र त्यसको सम्पूर्ण जानकारी र फोटो सहित यो याप्पमा इन्ट्री गर्दछौँ । यदि त्यही व्यत्ति फरक ठाउँबाट फरक समयमा भारत जाँदै रहेछ भने त्यसको डुब्लीकेसन समेत देखाउने र त्यो व्यक्तिलाई निगरानी गर्न सजिलो भएको छ ।

एउटा घटना, कक्षा ९ मा पढ्ने बालिकालाई, कक्षा ६ मा पढ्ने बालिकाले नाका कटाउँदै गरेको घटना, म आफैले प्रत्यक्ष देखेको छु । उनीलाई लिन बोडर्रपारी तस्कर बसेको देख्यौ र उद्धार गर्यौँ । यस्ता तस्करहरुको बारेमा छिटो पत्ता लगाउन यस याप्पले सहयोग मिलेको छ ।

कोरिया, चिन र अन्य ठूला मुलुकहरुमा नेपाली महिला ‘दुलही’को रुपमा बेचिने क्रम बढेको घटनाहरु पनि बाहिर आउन थालेका छन् नि ?

कतिपय नेपाली महिला बिदेश जाने नाममा विदेशीसँग पेपर म्यारिज गर्ने र ती देशमा पुगेपछि घरेलु हिंसा र बेचबिखनमा परेका घटना बेलाबेला बाहिर आउँछन् । त्यत्ति मात्र होइन, कतिपय नेपाली युवा युवती विहेको नाटक गरेर बिदेश जाने र विदेशमा गएपछि अलपत्र परेका घटना पनि छन् ।
यस्तो रोक्नको लागि नेपाल सरकारले नीतिगत कुरामा ध्यान दिन जरुरी छ । यदि त्यो व्यक्तिले साच्चैको विवाह गरेको हो वा उनीहरु सँगै बस्न चाहान्छन् भने सम्बन्धित देशको दुताबाससँग समन्वय गर्ने वा विवाह अघि जुन देशको नागरिक हो, त्यो देशको दुताबासमा लिखित रुपमा निबेदन पेश गर्नुपर्ने व्यवस्था गरिदियो भने ति व्यक्तिहरु आफ्नो आफ्नो देशको सरकारको निगरानीमा रहन्छन् । जसको कारण विदेश विवाह गर्ने नेपाली चेली हिंसा र बेचिनबाट जोगिन्छन् ।

अबैध बाटो विदेश जाँदा बेचिने खतरा हुन्छ भन्ने थाहा हुँदा हुँन्दै पनि दलालको कुरालाई किन विश्वास गर्दछन्, युवा युवतीहरु ?

सबैभन्दा ठूलो समस्या बेरोजगारी हो । अर्को, आधुनिकिकरणको प्रभाब पनि हो । राम्रो लगाउने, मिठो खाने सपना युवा युवतीमा अत्यधिक हुन्छ । त्यसैको फाईदा दलालले उठाउँछ । अनि बिदेशमा छिटो, धेरै पैसा कमाउन सक्ने विभिन्न प्रलोभन देखाउँदा दलालको कुरामा विश्वास गर्दछन् ।
यसरी हेर्दा सरकारी र गैरसरकारी निकायले अझ शसक्त ढंगले जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने देखाउँछ । घटनाहरुले प्रमाणित गर्दछन् कि हामीले सञ्चालन गरेका कार्यक्रमहरु पूर्ण छैनन् । त्यसकारण लक्षित समूदायमा चेतना मुलक कार्यक्रम कसरी लैजाने भन्नेमा गम्भीर ढंगले सोच्न जरुरी छ । देशमा महिला, युवा र किशोरी लक्षित रोजागर मुलक तालिमहरु सञ्चालन गर्ने र स्वरोजगारको लागि राज्यले हौसला प्रदान गर्न आवश्यक छ ।

तपाईहरुले अहिलेसम्म कति महिला बालबालिकलाई बेचिनबाट जोगाउनु भयो ?

हरेक वर्ष करिव पाँचसयको हाराहारीमा महिला,युवती र बालबालिकाको सिमा नाकाबाटै उद्धार गर्ने गरेका छौँ । भारत र अन्य मुलुकबाट यो वर्ष ३१ जना महिला, युवती र बालबालिकाको उद्धार गरेका छौँ ।

उद्धारपछि समाजमा पुनःस्थापित गर्न पीडित महिलाहरुलाई के के कुरा सिकाउनुहुन्छ ?

के.आईको सुरक्षित आवास गृहमा राख्छौँ । नेपाल ल्याएपछि पहिलो काम उनीहरुको स्वास्थ्य परिक्षण गराउँछौँ । काउन्सीलिङ गर्दछौँ । उनीहरुलाई नेतृत्व विकासको तालिम दिने, कानुन र मानब बेचबिखनका बारेमा राम्रोसँग बुझाउने र आत्मनिर्भर बन्नको लागि व्यवसाय गर्न चाहाने महिलालाई तालिम दिने र केही आर्थिक सहयोग गरेर उनीहरुको व्यावसयी सञ्चालनको लागि सहयोग गर्दछौँ ।

जब उनीहरु आफ्नो समुदायमा फर्कन्छन्, त्यसपछि आफू जस्तै दिदीबहिनी भोलि हिंसा र बेचबिखनमा नपरुन् भन्नका निम्ति महिला समूह निर्माण गर्ने र ती समूह मार्फत बिभिन्न खालका सचेतना मुलक कार्यक्रम सञ्चालन गरेका छौँ । त्यसमा केआईले सहयोग गरेको । सँगै गठित महिला समूहलाई एकिकृत गरेर आर्थिक रुपमा आयआर्जन मुलक काम गर्ने गरेका छौँ । कति ठाउँमा महिलाकै नाममा सहकारी निर्माण भएका छन् ।

नेपालका ग्रामिण भेगदेखि दिल्ली हुँदै इराक, कुबेतसम्म दलालको सञ्जाल छ भन्ने प्रष्ट देखिन्छ । अपराधीहरुको सञ्जाल तोड्न,नागरिक,संघसस्था र राज्यले के गर्नुपर्ला ?

मानव बेचबिखन अन्त्यको लागि राज्यले पछिल्लो समय निकै राम्रा कामहरु गरेको छ । पहिला, मावन बेचबिखनका विरुद्ध कानुन थिएन । अहिले यस सम्बन्धी एैन कानुन नियमावली बनेका छन् । सुरिक्षित आवास गृह सञ्चालन गर्ने कार्यविधि बनेको छ ।

राज्य र गैरसरकारी संस्था मिलेर कम गरेका छौँ । तर, पनि मानव तस्करहरु सक्रिय नै छन् । फेरि, नेपाल भारत जान आउन पाउने हरेक नगारिकको अधिकार छ । स्वतन्त्र रुपमा सिमापार गर्नपाउने अधिकारको चपेटाभित्र हाम्रा थुप्रै नेपाली दिदी बहिनीहरु परेका छन् । तेस्रो, मुलुक लैजानको लागि दलालहरुले पैदल मात्र होइन, अहिले हवाई मार्ग प्रयोग गर्न थालेका छन । अब राज्यले बढी निगरानी विमानस्थलमा गर्नु जरुरी छ । हवाई मार्ग हुँदै भारत पुगकाले अन्य मुलुक जान,नेपाली दुतावासको नोअब्जेक्सन लेटर लिनुपर्ने हुन्छ । दलालहरु यस्ता कागजपत्र सबै नक्कली बनाईदिन्छन् । दलालले भारतिय नागरिकको रुपमा पनि नेपाली महिलाई विदेश लैजाने गरेका घटना छन् ।

यसक्षेत्रमा काम गरेको अनुभव र घटनाक्रमको विश्लेषण गर्दा देखिने पहिलो, समस्या सामाजिक नै हो । यसलाई निराकरण गर्न नेपाल सरकारको पहलमा यस क्षेत्रमा काम गर्ने संघसस्था, नागरिक समाज, सञ्चारजगत मिलेर मानविय दास्ता विरुद्धमा संयुक्त अभियान चलाउनुपर्छ । सबैले आ–आफ्नो क्षेत्रबाट काम त ! गरेका छौँ तर, घटना हेर्दा काम प्रभावकारी भएको पाईदैन । यसमा अझ सक्रिय भएर लाग्नु जरुरी छ । दलालको षड्यन्त्रमा परेका युवा युवतीहरुलाई उद्धार संरक्षण गर्नुको निम्ति सबैले हातेमालो गरेर बढ्यौँ भने तस्करहरुको जालो सजिलै च्यात्न सकिन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com