सडकका डाक्टर !


प्रकाशित मिति : भाद्र २१, २०७५ बिहीबार

-अस्मिता खड्का (अरुणा)

समाजमा मानवीयता र प्रेमको भाव जगाउँदै आएका दुर्गानाथ दाहाल मानव सेवामा मात्र होइन,पशुपन्छीको सेवामा पनि उत्तिकै क्रियाशील छन् । सडक पेटीमा नारकिय जीवन बिताउन विवश मानिस र पशुपन्छीको उद्धार, उपचार एवं पुनःस्थापित कार्यमा लागेका दाहाल अहिले नवजीवन परोपकार समाजका अध्यक्ष हुन ।

मानव र पशुपन्छीलाई उत्तिकै स्नेहभावले सेवागर्ने दाहालले अन्तराष्ट्रिय पुरस्कार समेत हात पारेका छन् । देशका प्रधानमन्त्री, मन्त्री, व्यावसायी तथा विभिन्न संघ संस्थाबाट सम्मानित दाहालको सम्पूर्ण जीवन दिनदुःखीकै सेवामा समर्पित छ । दयामाया र करुणाका खानी दुर्गा हरेक प्राणीले बाँच्न पाउनुपर्छ भन्ने मान्यता बोकेका समाजसेवी हुन ।

हिड्न नसकेर सडक पेटीमा लडिरहेका, शरीरमा चोटैचोट, हेर्दै घिन लाग्दो अवस्थामा पीडाले छटपटीएका मानिस र पशुहरुको सडकमै पुगेर मलमट्टी गर्ने दाहाल समाजका उदाहरणीय पात्र हुन । असायहरुको सेवामा सधै तत्पर उनी समाजमा प्रेमको संदेश प्रवाह गर्न चाहान्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भेट्दा हतारमा देखिने दुर्गाले भने ‘छोराको स्कुलमा अभिभावक मिटिङ थियो । मिटिङको लागि हिँडेको म कलंकीको खसी बजारमा दुईतल्ला माथिबाट खसेर घाईते भएको कुकुरको उपचार र उद्धार गरेर फर्कदै छु । मेरो लागि मिटिङभन्दा घाइते कुकुरको उद्धार गर्नु ठूलो हो ।’ यत्तिभन्दै दुर्गा मुस्कुराईरहे ।

उनको छेउमा बसेका अर्का समाजसेवी तथा नवजीवन परोपकार समाजका कोषाध्यक्ष राधेश्याम खड्काले थपे ‘उहाँ त सबै स्कुटीमा औषधी बोकेर हिड्नुहुन्छ । कतिबेला, कस्को फोन आउँछ ? थाहै हुँदैन ।’ कुरा गर्दै जाँदा दाहाल र खड्काले पटक–पटक अब यहाँपछि अर्को पशुको उद्धार र उपचारको लागि जाने हो भन्ने कुरा दोहोर्याई रहे । यसको अर्थ उनीहरु पशुपन्छीलाई साँच्चैको माया गर्दछन् र नयाँ जीवन दिन चाहान्छन् । यो कुरा उनीहरुको अनुहारमा सजिलै पढ्न सकिन्थ्यो ।

फलामको सरिया घुसेर एउटा आँखा फुटेको, भूईंमा लडिरहको कुकुरलाई थप उपचारको लागि स्कुटीमा राखेर भ्याली एनिमल हस्पिटल कोटेश्र पुर्याएर फर्केको सुनाउँदै दाहालले भने ‘जति सुकै महत्वपूर्ण कामको लागि हिडेको भएपनि समस्यामा परेका र सड्क छेउमा बेबारिसे अवस्थामा फेला परेका पीडितको उद्धार बिना मन निस्कनै मान्दैन । मेरो भित्रि आत्मले बोल्छ, प्राणीको प्राण बचाउनु सबैभन्दा ठूलो धर्म अरु हुनै सक्दैन ।’

मानिसको जस्तै पशुपन्छीको पीडा बुझेर घाइतेको मलमपट्टी गर्ने दुर्गानाथ दाहालले समाजमा गरेका उपकारहरुको लिष्ट निकै लामो छ । यतिमात्र होइन, उनको उदेश्य समाजमा मानवीय भावनाको विकास गर्न प्रेणादायी सन्देश प्रभावह गरी स्वच्छ सामाज निर्माण गर्नु पनि हो । भोलीको चिन्ताले मानिस,आज पूरा गर्नुपर्ने कतव्र्यबाट विमुख हुँदै गएको बेला दाहालले सुरु गरेको नवजीवन अभियानले साँच्चैकै पृथक छ ।

काठमाडौंको कोटेश्वर सडक पेटीमा हातखुट्ट पाकेर तड्पिएकी एक बृद्ध आमाको पीडा सुनाउँदै दाहालले भने ‘हातखुट्ट जलेर, उपचार नपाउँदा घाउमा किरा परेको आमा कोटेश्वरको सड्क पेटीमा हुनुहुन्छ, लौन दुर्गा जि उद्धार गर्नुप¥यो’ भन्दै फोन आयो । म जहाँ थिए, त्यहीँबाट कोटेश्वर लागेँ ।’

‘डक्टरलाई अनुरोध गरे ! तर डाक्टर फिल्डमा जान मान्नु भएन । त्यसपछि डक्टरलाई भने उहाँको लागि के–के औषधी चाहिन्छ, भनिदिनुस् । डाक्टरको सल्लाह अनुसार मैले औषधी किनेर फेरि आमा भएको ठाउँमा पुगेँ । आमा भूईंमा लडिरहनु भएको थियो । घाउबाट पिपसँगै किरा झरिरहेका थिए । हातमा पन्जा लगाएँ । आमाको घाउ औषधी राखेर सफा गरेँ । ६ दिनदेखि भोकै आमालाई खाना र पानी खुवाएँ । थप उपचारको लागि हस्पिटल पुर्याएँ । उहाँको उद्धार र उपचार भयो तर राखिदिन धेरै मानल आश्रम संस्थामा फोन गरेँ । कसैले ठाउँ छ, भन्नु भएन । हाम्रो आफ्नै सेल्टर छैन । तीन दिन हस्पिटल राखेँ । आमाको घाउँ निको हुँदै गयो । आमाको फोटो सामाजिक सञ्जालमा राखेँ । फोटो भाइरल भयो । दुवाईमा बस्ने छोराले थाहा पाएछन् । उनले मलाई म्यासेज गरे ।’

‘तपाईले उपचार गरिरहेको मेरो आमा हुनुहुन्छ । तपाईलाई मैले जति धन्यवाद दिए पनि कमि हुन्छ । तर, अब त्यो फोटोहरु सामाजिक सञ्जालमा नराखिदिनु होला ! मेरो पनि इज्ज्यतको कुरा छ ।’ मैले भने घर परिवारको आर्थिक अवस्था राम्रो भएको मान्छेले अहिलेसम्म आमाको खोजी किन गर्नुभएन ? तपाई आमालाई घरमा लैजानुस् राम्रोँ गर्नुस्, फोटो पठाउनु मैले, हराएको आमा फेला परेपछि छोराले लिएर राम्रो गर्नुभएको छ भनेर लेख्छु , त्यसपछि उहाँले मलाई बल्क गर्नुभयो, तर आमालाई चाहीँ लिएर जानुभयो । आमा आफ्नो घरमा हाँसी खुशी हुनुहुन्छ भन्ने खबर पाउँदा, खुशी लाग्छ ।’

आफूले उद्धार गरे मध्येको सबैभन्दा पीडा दायिक र मानवता हराएको घटनाका रुपमा चित्रित गर्दै उनले भने ‘राष्ट्रिपति भवननजिकै एउटा घरमा दुई वटा बौद्धिक अपांगता भएका बच्चालाई दाम्लोले बाँधेर फलामको पिंजडामा कैद गरिएको थियो । त्यो दृष्य हृदय विदारक थियो । आफ्नै बाबुआमाले यस्तो गर्दा रहेछन् भन्ने कुरा पत्याउन मलाई केही समय नै लाग्यो । उनीहरुको हातभरि घाउनै घाउ थियो,गनाएर नजिकै जान सकिदैनथ्यो । पिंजडामा चिच्याई रहेका थिए । ती बालकलाई पुलिसको सहयोगमा उद्धार र उपचारपछि आश्राममा राख्यौँ । बेलाबेला भेट्न जान्छु । अहिले ठिकै छन् ।’

सालीको बिहेमा जान कोट पाइन्टमा ठाँटिएर घरबाट निस्किएको केहीबेरमै उनको मोवाइलमा फोन आयो । ‘तपाई अधिकारकर्मी दुर्गा जि हो ? हो ! ‘हेर्नुस् न यहाँ सडक पेटीमा निकै नाजुक अवस्थाको एक जना बृद्ध बा पल्टिनु भएको छ । लौन उद्धार गर्नु पर्यो !’ उनले घटना सुनाउँदै भने ‘फोन आउँदा सोचेँ बिहेमा सबै छन्, तर, सडकमा तडपिएका ती बृद्धाको कोही छैन । मैले उनलाई सहयोग गर्नुपर्छ भन्दै त्यहीबाट फर्केर, फोन आएको ठाउँमा पुगेँ । बृद्धालाई उपचारपछि बृद्धाआश्राममा पु¥याएँ । ती बुबाको खुट्टको घाउबाट स्याउँस्याउँ किरा बाहिरै देख्न सकिन्थ्यो । उता ससुरालीमा ज्यूई आएनन् भनेर रिसाउनुभयो । म बिहेमा जानै पाईन ।’

भूकम्पपछि मान्छेमात्र होइन, धेरै पशुपन्क्षीहरु घाईते भए । मानिसलाई उद्धार, उपचार र खाना खुवाउने धेरै थिए । तर पशुलाई कस्ले हेर्ने । यो देखेपछि उनले मानिसको उद्धारसँगै पशुहरुको पनि उत्तिकै महत्वका साथ उद्धारमा लागे । सुरुमा उनको कामलाई धेरैले हाँसोमा उडाए, कसैले पालग नै भने, तर अहिले त्यही काम गरे बापत उनी समाजबाट पुरस्कृत भएका छन् ।

उनले भूकम्पपछि आफ्नो घरमा डेरागरी बसेका ६ घर परिवारलाई एक महिनाको भाडा मिनाह समेत गरेका थिए । उनको यो कार्यलाई चारैतिरबाट प्रसंशा गरिएको थियो ।

भूकम्पको बेला हरेक प्राणीले दुःख पाएको देखेका दुर्गाले आफ्नो सम्पूर्ण जिवन समाजसेवामा खर्चने निर्णय गरे । सुरुका दिनमा एक्लैले सके जति समाजिक काम गर्दे आएका दुर्गानाथ दाहालले एक्लैले भन्दा समूहमा काम गर्दा अझ धेरै गर्न सकिने महशुस गरे । उनले समाजमा रहेका मनकारी र परोपकारी व्यक्तित्वहरुसँग मिलेर नवजीवन परोपकार समाजको गठन गरे । अहिले ९ जनाको कार्यसमिति छ । ‘संस्था कुनै विदेशीको सहयोगबाट नभई नेपाली परोपकारी दाजुभाई दिदी बहिनीको सहयोगबाट चलेको उनले बताए ।’ नवजीवनले गरेका समाजिक कामको सबैतिरबाट प्रसंसा र साथ मिलेको छ । उनको अभियानमा जोडिन पुगेका ‘राधेश्याम खड्का भन्छन् ‘राम्रो काम गरौँ, असल मान्छे बनौँ भन्ने अभियानकै क्रममा दुर्गासँग भेट भयो । त्यसपछिसँगै काम गर्ने योजना बन्यो ।’

यसैगरी दुर्गाको अर्को मनछुने काम हो, रानी पोखरीमा मोटर लगाएर पानी फालेपछि हिलोमा छटपटाएका माछाहरुको उद्धार । रानी पोखरी पुनःनिर्माको लागि माछाको व्यवस्थापन नगरि नगरपालिकाले पानी बाहिर फाल्यो । त्यहाँ भएका माछाहरु हिलोमा छटपटाई रहेका थिएँ । त्यो देखेपछि समाजसेवी दुर्गाको मन झनै छटपटियो र एक्लै नगरपालिका पुग्ने । प्रमुखलाई प्रश्न गरे,रानीपोखरीमा माछालाई किन यस्तो गरेको ? म पानी ल्याएर राखिदिऊ भन्दा, प्रमुख हास्दै भने ‘पैसा तिरेर पानी फालेको, कहाँ तपाई पानी हाल्ने कुरा गर्नुहुन्छ ?’ त्यहाँ उनको कुरा सुनुवाई भएन ।

उनको मनले मानेन, फोटो खिचेर फेसबुकमा राखे । फेसबुकबाट अपिल गरेको केही छिन मै ठूलोसंख्यामा परोपकारी अभियान्ताहरु भेला भए । दाहाल फेरि नगरपालिका घेराऊ गर्न पुगे । नगरप्रमुखले भने मान्छे मरेर त केही भएको छैन, तपाईहरु माछा मर्यो भनेर आउनु हुन्छ ? हैट …… । तपाईहरुलाई लाज छैन् भन्दै ठाडै हँकारे । दुर्गालाई यो कुराले झन् पीडा थप्यो । उनले भने ‘पोखरीमा पालेका माछाको व्यावस्थापन नगरी पानी किन फाल्नु भयो ? तपाईको घर जस्त,ै माछाको घर पोखरी हो ! लाज मलाई होइन, तपाईलाई लाग्नु पर्ने हो ।’ एकैछिन भनाभन भयो । झगडा गरेर कुनै अर्थ नदेखेका दुर्गाले माछाको उद्धार गर्न नगरपालिकासँग गाडी माग गरे । अनि सबै अभियान्ता मिलेर सात दिन लगाएर रानी पोखरीभित्र हिलोमा छटपटाईरहेका माछालाई निकालेर कमल पोखरीमा व्यवस्थापन गरे । सात दिनमा २०/२५ हजार माछाको उद्धार गरे । उनको यो कार्यको पनि निकै चर्चा र प्रसंशा भयो । यस्ता धेरै छन् उनले गरेका काम ।

व्यक्तिगत काम छोडेर समाजसेवामा लागेका खड्का र दाहालले राती सुतेको बेला पनि खाना,नाना र छाना नभए असाय, अशक्तहरुले उद्धारको लागि आफूलाई कुरेको अनुभूति हुने सुनाए ।

नेपालमा कुनै पनि पशुलाई अनाहकमा मारिन्छ भने तीन वर्षसम्म जेल जाने कानुनी प्रावधान छ । कुनै पनि प्राणीलाई कुटेर दुःख दिएर मार्न पाईदैन, तर उनीहरुको अधिकारको लागि बोल्ने मानिस नहुँदा सडकमा बिनाकारण पशुहरु बिभत्स तरिकाले मारिनु परेको छ । मार्नेहरुमा कुनै पछुतो देखिदैन ।
दुर्गा भन्छन् ‘सड्कमा चालकहरुले कुकुर र गाईलाई हानेर घाइते बनाउँछन्, किन यस्तो गरेको भन्यो भने उल्टो गाली गलौजमा उत्रन्छन् । के गर्नु घाइते बोकेर हस्पिटल पुग्छौँ ।’

‘चाइनीज कम्पनीले रोड छेउमा भण्डारण गरेको अलकत्रमा परेर छटपटाएका तीनवटा गाईको उद्धार ग¥यौँ यस्तो गर्न पाइदैन भनेर लड्यौँ । त्यसमा उल्टो गाली खानु प¥यो । भिडियो सामाजिक सञ्जालमा राख्यौँ त्यसपछि गालीको बर्षानै भयो । किन विरोध गरेको विदेशी कम्पनी भाक्छन् रे ! यस्तो तर्क गर्ने समाज छ, काम गर्न सजिलो छैन । सोचेका थियौँ हाम्रोमा दासपर्थाको अन्त्य भयो, तर होइन रहेछ ।’

अलकत्रमा चप्कीएर छटपटाई रहेका गाईको उद्धार गर्दा,आफूलाई चेतनशील र सचेत ठान्ने मानिसको साथ मिल्छ भन्ने ठानेका, उनीहरुले उल्टो गाली खानु प¥यो । खड्काले भने ‘उद्धारपछि तीनवटा गाई स्नेह केन्द्रमा लगेका थियौँ । एउटा मर्यो,दुईवटा जिवितै छन् । जसले जे भनेर धम्की दिएपनि हामीले आवाज उठायौँ र चाइनीज कम्पनीले जरिवाना दिने र अब त्यसरी भण्डारण नगर्ने सहमति गरेको छ ।’

आफूले पालेको पशुलाई बाटोमा छोड्नेलाई राज्यले कडा कार्वाही गर्नु पर्ने दुर्गाको माग छ । यस्ता मानिस पत्ता लगाउन पशुको शरिरमा सनो चिप्स राख्ने चलन विकसित मुलुकमा छ । जसको कारण कस्ले छोड्यो भन्ने थाहा हुन्छ र कार्वाही गर्न सजिलो हुन्छ । यो महंगो छैन । जम्मा चार सय रुपैया पर्दछ । त्यो राज्यले पशुपालन गर्नेलाई अनिवार्य गर्नुपर्छ । दुध दिदाँसम्म पाल्ने अनि फाल्ने सोच बोकेकालाई भनेर हुँदैन कार्वाही नै गर्नुपर्छ ।’

रिटायर भएका गाई बस्तुलाई पुन काममा लगाउन सकिन्छ । उनीहरुको काम भनेको खाने बस्ने मात्र हो । उनीहरुले खाएर दिएको गोबरबाट माल, ग्यास, सावुन र अगरबत्ती बनाउन सकिन्छ । उनीहरुको उचित व्यवस्थापन गरियो भने पशुका कारण हुने सड्क दुर्घटना कम गर्न सकिन्छ । ‘राज्यले यस्ता पशुहरुलाई राख्ने ठाउँ मात्र दिए । उनीहरुको सेवा गर्ने र तलब पनि नचाहिने समाजका अभियान्ताको भनाई छ ।

राज्यले पहिला उद्धार गरेका गाईलाई लिलामी गर्दथ्यो । ती गाई जहाँ खाइन्छ त्यहाँ निकास गरिन्थ्यो । यसको बारेमा नवजीवन लगायतका अभियान्ताले विरोध गरे । अहिले रोकिएको छ ।

दुर्गा सुनाउँछन् ‘केही समय अगाडि चारवटा बहरको लिलाम हुन लागेको जानकारी आएपछि हामीले विरोध गर्यौँ । लिलाम रोकियो । त्यसपछि भित्रभित्र के भयो जानकारी छैन ।’ उनीहरुकै विरोधका कारण अहिले नगरपालिकाले कुकुरलाई सुई लगाएर मार्ने काम रोकिएको छ ।

नवजीवनका कोषाध्यक्ष खड्का भन्छन् ‘राज्यले सडकमा पशु छाड्नेलाई कार्वाही गर्ने त छदैछ, त्यसको अलवा उनीहरुको उद्धार गरेर जंगल नजिकै कतै बस्ने ठाउँको व्यावस्था गर्नुपर्दछ । उनीहरुको मलबाट उत्पादनमा धेरै फाइदा पुग्छ । हामीले गरेको त चेतना जगाउने काम मात्र हो भन्दा हुन्छ । यसमा केन्द्रदेखि स्थानीय सरकारसम्म क्रियाशील भएर लाग्नु पर्दछ । पशुपन्थीहरुको लागि बनेका संस्थाहरु त्यही अनुसार काम गर्ने हो भने सड्कमा गाई हिडेको देख्नु पर्दैन ।’

हाम्रो समाज विचित्रको छ । मानव वा पशुको उद्धार गर्न पुगेको ठाउँमा एकसय जना जम्मा भए भने ८/१० जना सहयोगको लागि अगाडि आउँछन्, केही डरबादी भन्छन्, बाँकी रमिता हेरेर बसेका हुन्छन् । राम्रा काम जति विदेशी डलरखाएर गर्दछन् भन्ने सोच नेपालीको दिमागमा नराम्रोसँग गडेको छ । ‘कति डलर खाएका छन्, काम गरेको देखाएर कति डलर खान्छन् ।

विदेशीले अराएर आएका हुन भन्दै निस्कन्छन् । नेपालीले राम्रो काम गर्दछन् भन्ने परेकै छैन, उनीहरुले सुनाए ।’ परिवारको घेराभन्दा बाहिर निस्कन नसक्नेहरु, अरुले गरेको राम्रोँ काममा खोट देखाउन मै समय खर्च गरेको अभियान्ताहरुको भनाई छ । ‘सादय देशमा एनजिओ र आइएनजीयोले काम गर्दा धेरै गल्ती गरेको हुनुपर्छ, जसको कारण, मानिसहरु हरेक राम्रोँ काम गर्नेहरु डलरवादीनै हुनभन्ने सोच्चछन्, दुर्गाले सुनाएँ ।’

‘मानिस कतिसम्म स्वर्थि हुन्छ भने दुध दिदाँसम्म घरमा गाई पाल्छन्, दुध दिन नसक्ने भएकै दिन घरबाट लखेटिदिन्छन्, आफू र आफ्ना बच्चाले उसको दुध खाएको छिनभरमै बिर्सन्छन ।’

नाक खुम्चाउँदै, ‘डलरबादी’ भनेर हिड्ने एउटा जत्थासँग हरेक ठाउँमा समाना गर्नु परेकै हुन्छ, परोपकार समाजलाई । सत्यतथ्य बुझ्ने र जान्ने उनीहरुसँग समयनै छैन् ।’ ‘काम गर्नेभन्दा कुरागर्ने समाजमा धेरै छन् । हरेक कुरा पैसासँग तुलना हुन्छ ।’

तपाईको खल्तीमा भएको पैसाले भन्दा दुःखीलाई खुवाएको एकछाक खानाले चरम आनन्द मिल्छ भन्दै खड्काले भने ‘नकारात्मक भन्दा सकारात्मक सोचौँ । मानिसको मन हो, एउटा रोटी एक्लै खाए भोक मेटिदैन्, तर, त्यही रोटी अरुलाई बाँडेर आधा–आधा खाए पेट भरिन्छ ।’

सड्क पेटीमा उपचार र उद्धारको पर्खाइमा बसेका मावन वा पशुको बारेमा फोन गरिदिने पनि सबैभन्दा ठूलो समाजसेवी भएको नवजीवन अभियान्ता बताउँछन् । ‘आफ्नै सेल्टर नभएकाले हामी सड्कबाट उद्धार गरेका मानिसलाई बिभिन्न परोपकारी संस्था र पशुहरुलाई पशुपति र करुणा पशुस्यार केन्द्रमा पुनःस्थापित गर्ने गरेका छौँ । धेरै घाइते छन भने थप उपचारको लागि हस्पिटल लैजान्छौ ।’

मृत्यु कुरेर बसेका असाय तथा असक्त पशुपन्छीले नवजीवनको कारण पुनर्रजीवन पाएका छन् । मानिस उपचारपछि परिवारमा पुनःस्थापित हुँदा र पशुहरु खेल्न लाग्दा सबैभन्दा आनन्द अनुभूति हुने समाजका अभियान्ता सुनाउँछन् । पशुसँगको सम्बन्ध,उद्धार र उपचारपछि उनीहरुको आँखामा देखिने माया, उनीहरुका आशु कसरी भनौँ, शब्दनै छैन, हेरेर अनुभूति गर्ने हो,खड्काले सुनाए ।’

मानिस बोल्न र आफ्नो पीडा भन्न सक्छ तर पशु सक्दैन् । पीडा त उहीँ, हो नि ! समाजमा बोल्न नसक्ने मानिसको अवस्था कस्तो हुन्छ ? हामी त्यही अनुमान गरौँ । भोक पीडा सबैको एउटै हो । त्यसैले थोरै भएपनि राम्रो काम गरौँ असलमान्छे बनौँ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com