एक १६ वर्षका स्कुले छात्रले गरे एप्पलको सिस्टम ‘ह्याक’


प्रकाशित मिति : भाद्र १, २०७५ शुक्रबार

एप्पल कम्प्युटरमा काम गर्ने ‘सपना’ बुनेका एक अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको कम्प्युटर प्रणाली ह्याक गरेको अस्ट्रेलियाली सञ्चार माध्यमहरुले जनाएका छन् ।

एप्पल कम्पनीले जारी गरेको विज्ञप्तिमा ग्राहकका कुनै पनि विवरणलाई भने दुरुपयोग नगरिएको स्पष्ट गरेको छ । अस्ट्रेलियाली अखबार द एजका अनुसार, भिक्टोरियास्थित बाल अदालतसमक्ष दिइएको बयानमा ती छात्रले मेलबोर्नको घरबाटै एप्पलको मेनफ्रेम कम्प्युटरमा अनधिकृत प्रवेश गरी ९० जिबी बराबरका गोप्य फाइल डाउनलोड गरेका थिए ।

त्यतिबेला ती स्कुले छात्रको उमेर १६ वर्ष थियो । एप्पलका उत्पादनका फ्यान उनी एक वर्षको बीचमा पटकपटक कम्प्युटर प्रणालीमा प्रवेश गरेका थिए र उनले अमेरिकी कम्पनी एप्पलमा काम गर्ने सपना साँचेका थिए, ती बालकका वकीलको भनाई उद्धृत गर्दै अखबारले लेखेको छ ।

एप्पलले ती छात्रले कम्प्युटर सिस्टममा प्रवेश गरेको प्राविधिकको टोलीले पत्ता लगाएपछि कानुन कार्यान्वयन इकाईमा उजूरी गरेको जनाएको छ ।

उक्त घटनाका सम्बन्धमा एफबीआई र अस्ट्रेलियाली संघीय प्रहरीले संयुक्त रुपमा अन्तर्राष्ट्रिय अनुसन्धान समेत गरेको अखबारले लेखेको छ । संघीय प्रहरीले अदालतमा अझै विचाराधीन मुद्दा रहेकोले यस बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।

द एजका अनुसार प्रहरीले गत वर्ष ती स्कुले छात्रको घरमा छापा मारेको र ह्याक गर्दाका फाइल एवं अन्य विवरण सुरक्षित राखेका फोल्डर बरामद गरेको थियो । “दुईवटा एप्पल ल्यापटप बरामद गरियो र भित्री प्रणालीमा पहुँच रहेका सिरियल नम्बर फेला पारियो,” अभियोजन पक्षका एक वकीलले बताए ।

ह्याकमा प्रयोग गरिएको मोबाइल फोन र हार्ड ड्राइभ पनि प्रहरीले बरामद गरेको उनले जानकारी दिए ।

ती स्कुले छात्रले आफूले गल्ती गरेको स्वीकारेका छन् र यो मुद्दा अदालतमा विचाराधीन छ । अर्को महिना उनीमाथिको सजाय सुनाइने बताइएको छ ।रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com