राष्ट्रिय पोसाक प्रकरण : बाबुरामले भने ‘नयाँ जोगीको यो खरानी !’


प्रकाशित मिति : भाद्र १, २०७५ शुक्रबार

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारले राष्ट्रिय पोसाक तोक्नु विडम्बनापूर्ण र संविधानको मर्मविपरीत भएको बताएका छन् ।

सरकारले दौरा सुरुवाल र साडी चोलोलाई पुनः राष्ट्रिय पोसाक घोषणा गर्दै औपचारिक कार्यक्रममा राष्ट्रिय पोसाक लगाउनुपर्ने बताएपछि भट्टराईको यस्तो अभिव्यक्ति आएको हो ।

बिहीबार राती एक ट्वीट गर्दै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राष्ट्रिय पोसाकको घोषणा नयाँ जोगीले खरानी धसेजस्तै भएको बताएका हुन् ।

उनले ट्वीटमा यस्तो लेखेका छन्ः

‘व्यक्तिका निजी उपभोगका वस्तुमा स्वास्थ्य र सामाजिक मर्यादा अनुकुल हुनुपर्ने बाहेक अन्य बन्देज लगाउनु आधुनिक लोकतान्त्रिक मान्यता विपरीत हुन्छ । कम्युनिष्ट भनिने सरकारले अमुक लुगा लगाउनैपर्ने उर्दी जारी गर्नु विडम्बनापूर्ण मात्रै नभई संविधानको मर्मविपरीत पनि छ । नयाँ जोगीको यो खरानी !’

२०६८ सालमा प्रधानमन्त्री हुँदा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दौरा सुरुवाल र साडीचोलोसँगै नेपालमा लगाइने सबै मातृ भेषभूषालाई राष्ट्रिय पोसाक घोषणा गरेका थिए ।

नेपालको संविधान २०७२ ले पनि देशभित्र लगाइने सबै पोसाकलाई राष्ट्रिय पोसाकको मान्यता दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com