न्युयोर्कमा सोमबारबाट १६ हजार नर्स कार्यक्षेत्र छोड्ने तयारीमा


प्रकाशित मिति : पुस २६, २०८२ आईतबार

group of doctors walking on hospital hallway

फोटो: लुइस मेलेन्डेज

न्युयोर्कका ठूला निजी स्वास्थ्य संस्थाहरू र नर्सहरूबीचको करार वार्ता निष्कर्षमा पुग्न नसक्दा सोमबारदेखि स्वास्थ्य सेवा ठप्प हुने अवस्था सिर्जना भएको छ। आइतबार रातिसम्म दुवै पक्षबीच सहमति नजुटिए १६ हजारभन्दा बढी नर्सहरूले एकसाथ कार्यक्षेत्र छोडेर आन्दोलनमा उत्रिने तयारी गरेका छन्।

न्युयोर्क स्टेट नर्स एशोसिएसनले आइतबार प्रेस एड्भाइजरी जारी गर्दै वार्ताको पछिल्लो अवस्थाबारे जानकारी दिएको छ। एशोसिएसनकी अध्यक्ष न्यान्सी हागन्सका अनुसार नर्सहरूले मुख्यतया उच्च पारिश्रमिक, सुरक्षित कर्मचारी दरबन्दी र कार्यस्थलमा हुने हिंसाविरुद्ध सुरक्षाको माग राख्दै आएका छन्। हालैका दिनहरूमा अस्पतालहरूमा भएका भौतिक आक्रमण र गोलीकाण्डका घटनाले नर्सहरूमा त्रास बढेकाले उनीहरूले प्रशासनसँग कडा सुरक्षाको प्रत्याभूति खोजेका हुन्। यद्यपि, सम्पन्न मानिने अस्पताल प्रशासनहरूले नर्सहरूको स्वास्थ्य बिमा र अन्य सुविधाहरू कटौती गर्न खोजेकाले वार्ता जटिल बनेको एशोसिएसनको दाबी छ।

यो सम्भावित हडतालका कारण माउन्ट सिनाई, मोन्टेफियोर र न्युयोर्क प्रेस्बिटेरियन जस्ता प्रतिष्ठित अस्पतालहरूको सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने देखिएको छ। राज्यभर फ्लु (रुघाखोकी) को प्रकोप बढिरहेको संवेदनशील समयमा हुन लागेको यो आन्दोलनले बिरामीको उपचारमा थप चुनौती थप्ने निश्चित छ। अध्यक्ष हागन्सले यो समय हडतालका लागि चुनौतीपूर्ण भए पनि अस्पतालहरूले नर्सहरूको स्वास्थ्य र सुरक्षालाई बेवास्ता गरेकाले अन्तिम विकल्पको रूपमा आन्दोलन रोज्नुपरेको स्पष्ट पारेकी छिन् ।

यसैबीच, लङ आइल्याण्डका नर्थवेल, प्लेनभ्यु र हन्टिङटन अस्पतालहरूमा भने वार्षिक करिब ५ प्रतिशत तलब वृद्धि र सुधारिएको पेन्सन सुविधामा सहमति भएपछि हडतालको खतरा टरेको छ। तर, न्युयोर्क शहरका अन्य प्रमुख अस्पतालहरूमा भने अझै अन्योल कायमै छ। अस्पताल प्रशासनहरूले हडतालकै बीच पनि वैकल्पिक जनशक्ति परिचालन गरेर उपचार सेवा सुचारु राख्ने दाबी गरे तापनि हजारौँ नर्सहरू एकैपटक सडकमा उत्रिँदा सेवा प्रवाहमा गम्भीर असर पर्ने देखिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com