ट्रम्पको मन जित्न इरानमा प्रदर्शन भइरहेको सर्वोच्च नेता खामेनेईको आरोप
प्रकाशित मिति : पुस २४, २०८२ शुक्रबार
फोटो : एपी/रासस
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मन जित्नका लागि इरानमा प्रदर्शन भइरहेको आरोप लगाएका छन्। उनले सरकारविरुद्ध सडकमा उत्रिएका प्रदर्शनकारीहरूलाई “अशान्ति फैलाउने तत्व” को संज्ञा दिएका छन्।
इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) लाई पत्र पठाउँदै, अमेरिकाले नै इरानका प्रदर्शनहरूलाई “हिंसात्मक विध्वंसकारी गतिविधि र व्यापक तोडफोड” मा रूपान्तरण गरेको आरोप लगाएको छ। उता, अमेरिकी राष्ट्रपति ट्रम्पले भने इरान “गम्भीर समस्यामा फस्दै गएको” चेतावनी दिएका छन्।
यो आन्दोलन सुरुमा आर्थिक अवस्थाको विरोधमा सुरु भएको थियो। तर अहिले यो पछिल्ला वर्षहरूकै सबैभन्दा ठूलो प्रदर्शनमा रूपान्तरण भएको छ। आन्दोलनका क्रममा इस्लामिक गणतन्त्रको अन्त्य र राजतन्त्र पुनःस्थापनाको मागसमेत उठ्न थालेको छ।
मानवअधिकारवादी समूहहरूका अनुसार, हालसम्मको झडपमा कम्तीमा ४८ जना प्रदर्शनकारी र १४ जना सुरक्षा अधिकारीको ज्यान गइसकेको छ। हाल इरानभर इन्टरनेट सेवा पूर्ण रूपमा बन्द गरिएको छ। इन्टरनेट बन्द हुँदा एटीएमहरूले काम नगरेको र कार्डमार्फत भुक्तानी गर्न असम्भव भएकाले पसलहरूमा किनमेल गर्नसमेत कठिन भएको छ।
ट्रम्पले ह्वाइट हाउसमा बोल्दै इरानको अवस्थालाई अमेरिकाले नजिकबाट नियालिरहेको बताए। तर, उनले कुनै पनि अमेरिकी संलग्नताको अर्थ “जमिनमा सेना पठाउने” भन्ने नभएको स्पष्ट पारेका छन्।
इरानका लागि संयुक्त राष्ट्र संघका राजदूतले सुरक्षा परिषद्लाई पठाएको पत्रमा अमेरिकामाथि “धम्की, उक्साहट र जानाजानी अस्थिरता तथा हिंसालाई प्रोत्साहन गर्दै आन्तरिक मामिलामा हस्तक्षेप गरेको” दाबी गरेका छन्।
डिसेम्बर २८ देखि सुरु भएको यस प्रदर्शनमा ४८ जनाको मृत्यु भइसकेको छ भने २ हजारभन्दा बढी व्यक्ति पक्राउ परेको अमेरिकास्थित एक मानवअधिकार समाचार एजेन्सीले जनाएको छ। नर्वेमा आधारित ‘इरान ह्युमन राइट्स’ का अनुसार मृत्यु हुनेको संख्या ५१ पुगेको छ, जसमा ९ जना बालबालिका समेत रहेका छन्।
यसअघि सन् २०२२ मा भएको ठूलो आन्दोलनका क्रममा केही महिनाभित्रै ५५० भन्दा बढी मानिस मारिएका थिए भने २०,००० भन्दा बढीलाई सुरक्षा बलले हिरासतमा लिएको थियो।





