नयाँ मुलुकी ऐनप्रति प्रहरी ‘असन्तुष्ट’
प्रकाशित मिति : भाद्र १, २०७५ शुक्रबार
नेपाल प्रहरीले मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन हुबहु कार्यान्वयन गर्दा अपराध नियन्त्रण र अनुसन्धान प्रभावित हुने आशंका व्यक्त गरेको छ ।
प्रहरी प्रधान कार्यालयले फौजदारी कार्यविधि संहिताका केही बुँदा परिमार्जन गर्नुपर्ने भन्दै कानुन मन्त्रालयलाई लिखित रूपमा नै आफ्नो राय पेस गरेको छ ।
मुद्दा हेर्ने अधिकारीबाट पक्राउ पुर्जी लिएर मात्रै गिरफ्तार गर्न सकिने तथा अनलाइनबाट सोझै जाहेरी दिन सकिनेलगायत विषयमा प्रहरीले संशोधन माग गरेको हो ।
प्रहरी प्रधान कार्यालयको टोलीले कानुन मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयका उच्च अधिकारीलाई भेटेरै कार्यविधिबारे आफ्नो असन्तुष्टि व्यक्त गरिसकेको छ । नयाँ कार्यविधिले कार्यालयमै उपस्थित भएर लिखित रूपमा उजुरी दिने व्यवस्थाका अलावा विद्युतीय माध्यमबाट पनि जाहेरी दिन सकिने प्रावधान राखेको छ ।
यसअघि प्रहरीले विद्युतीय कार्यविधिबाट प्राप्त सूचना वा सन्देशलाई निवेदनका रूपमा मात्रै लिने गरेको थियो । प्रहरीले इमेलबाट गरिने जाहेरीमा जाहेरीकर्ताका परिचय खुल्ने कागजात नभए इमेलको आधिकारिकता नहुने र अनुसन्धान विकेन्द्रित हुन सक्ने चिन्ता व्यक्त गरेको छ ।





