आमा जसले गरिन आफ्नै जुम्ल्याह छोरीको हत्या


प्रकाशित मिति : श्रावण ३१, २०७५ बिहीबार

ताप्लेजुङको पाथिभरा याङबरक वडा नम्बर २ की एक आमाले आफ्नै जुम्ल्याह छोरीको हत्या गरेकी छन् ।

शौचालयभित्र दिशामा डुबाइएकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको हो भने अर्कीको शव सेफ्टी ट्यांकीमा फेला परेको छ । छोरीको हत्यापछि फरार रहेकी कमला एकवर्षे जुम्ल्याहा छोरीका साथ माइतीघरमा बस्दै आएकी थिइन् ।

जुम्ल्याह छोरीलाई शेफ्टी ट्यांकीमा हालेर हिँडेकी कमला भर्खर २० वर्षकी भएकी छन् । उनले उदपयुरका गाडीका सहचालकसँग भागी बिहे गरेकी थिइन् ।

कमलाकी आमा संजमायाका अनुसार २६ गते छोरी र नातिनीलाई घरमा छाडेर उनी तलको घरमा झरेकी थिइन् ।

बुधबार माथिको घरमा जाँदा कोही पनि भेटिनन् । बस्तुभाउलाई घाँस काट्ने क्रममा सेफ्टीट्यांकीमा बच्चा रोएको सुनेपछि उनीहरुले छिमेकीलाई खबर गरे ।

त्यहाँ खाल्डे चर्पी थियो । स्थानीयले त्यही चर्पीबाट जमुनालाई जीवितै उद्दार गरे । मलमूत्रले लत्पतिएको अवस्थामा उद्दार गरिएकी जमुनालाई स्थानीयले स्थानीय अस्पतालमा लगे । त्यहाँ उपचार सम्भव नभएसम्म एम्बुलेन्समा हालेर बिर्तामोड पुर्‍याए ।

कमलाकी आमा संयमायासँग आफ्नी नातिनीको उपचार गर्न अस्पताल लैजाने पैसासमेत थिएन । स्थानीयले केही रकम संकलन गरेर एम्बुलेन्सको खर्च जुटाएका थिए ।

गंगाको भने सेफ्टी ट्यांकीमा नै मृत्यु भएको थियो । प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापाका अनुसार दुबैलाई कुटपिट गरेर हत्या गरी फालेको आशंका गरिएको छ ।कमला कता गइन् भन्ने खुलेको छैन ।

प्रहरी निरीक्षक थापाका अनुसार संजमायाले प्रहरीमा जाहेरी दिएकी छिन् भने कमलाको खोजी भइरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com