भारतले पनि अन्तरिक्षमा मानव पठाउने


प्रकाशित मिति : श्रावण ३०, २०७५ बुधबार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको देशले सन् २०२० वा त्योभन्दा अगाडि नै मानवसहितको अन्तरिक्ष अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।

भारतको ७२ औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा दिल्लीस्थित लालकिलाबाट परम्परागत सम्बोधन गर्ने क्रममा उनले महिला वा पुरुष अन्तरिक्षयात्रीले भारतको राष्ट्रिय झन्डा सो अभियानमा साथै लैजाने बताए।

यदि उक्त अभियान सफल भए अमेरिका, रुस र चीनपछि मानवसहितको अन्तरिक्ष यात्रा सञ्चालन गर्ने भारत चौथो देश हुनेछ।

अनुभव
भारतको अन्तरिक्ष निकायले चन्द्रमा तथा मङ्गल ग्रहको कक्षमा स्पे अन्तरिक्षयान पठाइसकेको छ।

उसले नियमित रूपमा भू-उपग्रहहरूको प्रक्षेपण समेत गर्दै आएको छ।

सो निकायले अन्तरिक्षको जानकारी लिने मात्र होइन त्यसका लागि विकास गरिएका प्रविधिलाई राष्ट्रिय विकासमा पनि प्रयोग गर्न लक्ष्य राखेको छ।

चार वर्षअगाडि भारतीय अन्तरिक्ष निकाय इसरोले मङ्गलयान नामक अन्तरिक्षयानलाई उक्त ग्रहको कक्षमा सफलतापूर्वक प्रवेश गराएको थियो।

उक्त अभियानका निम्ति भारतले करिब सवा सात अर्ब रुपैयाँ खर्च गरेको थियो।

अन्य देशले त्यस्तै अभियानका निम्ति खर्च गरेको रकमको तुलनामा उक्त परिमाण निकै किफायती मानिएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com