विप्लवको नेपाल बन्द : कहाँ के भयो ?


प्रकाशित मिति : श्रावण २९, २०७५ मंगलबार

आफ्ना प्रवक्ता पक्राउ परेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार गरेको नेपाल बन्दको प्रभाव राजधानी बाहेकका ठाउँहरुमा देखिएको छ ।

निजी तथा सरकारी विद्यालय बन्द भएको राजधानीमा सवारी साधन आंशिकरुपमा घटे पनि सञ्चालन भइरहेका छन् । विप्लवले बन्द गरेको भन्दै स्कुल र कलेजहरुले आज पढाई नहुने सूचना दिइसकेका छन् । देशका विभिन्न ठाउँमा सार्वजनिक स्थानमा बम राखेको खबर आएको छ ।

अर्घाखाँची

कुनैपनि सवारीसाधन नचलेको यो क्षेत्रमा विहानैदेखि जनजीवन प्रभावित बनेको बताइएको छ ।

बजार तथा शिक्षण सस्था पुर्ण रुपमा ठप्प भएका छन् । बन्दकर्ता देखिएका छैनन् तै पनि बन्दको प्रभाव पूर्णरुपमा परेको छ ।

विप्लवले आफ्ना प्रवक्ता प्रकाण्ड लगायतका नेताहरुलाई विनाकारण प्रकाउ गरेको भन्दै नेपाल बन्दको आब्हान गरेको हो ।

नवलपरासी

नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकाम बिहानै आगजनी गरिएको छ । पराल बोकेका  ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

बाजुरा

बाजुराको बडिमालिका नगरपालिकाको कार्यालय अगाडि प्लास्टिकको झोलामा शंकास्पद बस्तु फेला परेको छ । झोलामा बम भएको हुन सक्ने स्थानीयले बताएपछि त्यहाँ सुरक्षाकर्मीको टोली पुगिसकेको छ ।

भक्तपुर

यहाँका सूर्यविनायक र लोकन्थलीमा मंगलबार बिहानै भेटिएको प्रेसर ककुर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम केहिबेर अघि निष्क्रिय पारेको हो ।

राससका अनुसार सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक र मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो ।

दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरीले जनाएको छ  ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज बन्दको आह्वान गरेको छ । बन्दसँगै सर्वसाधरणलाई आतंकित पार्न बम राखिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com