काठमाडौंको एकै रूटमा १७ नयाँ स्मार्ट बस गुड्न थाले


प्रकाशित मिति : श्रावण २९, २०७५ मंगलबार

राजधानीको एउटा रूटमा सोमबारदेखि दीगो शहरी यातायात प्रालिले स्मार्ट बस चलाउना थालेको छ । दीगो शहरी यातायात प्रालिका अनुसार सिनामंगलदेखि नयाँ बसपार्कसम्मको रूटमा १७ स्मार्ट बस गुडाउन थालिएको हो ।

यस्तो छ रूट 

यी १७ नयाँ स्मार्ट बसको रूटसमेत तोकिइसकेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । यी बसको रूट नयाँबसपार्कदेखि सुरू भएर गोंगबु चोक, गल्कोपाखा चोक, लैनचौर, केशरमहल, जमल, तीनधारा पाठशाला, कमलपोखरी, ज्ञानेश्वर, मैतीदेवी, पुरानोबानेश्वरबाट सिनामंगलसम्म हुनेछ ।

त्यसैगरी सिनामंगलदेखि फर्किने क्रममा पुरानो बानेश्वर, मैतिदेवी, डिल्लीबजार, बागबजार, रत्नपार्क, भद्रकाली, सहिदगेट, जमल, लैनचौर, गल्कोपाखा चोक र गोंगबु चोकबाट नयाँ बसपार्कमा पस्ने छन् । प्रालिका अनुसार १० किलोमिटर लामो यो रुटमा जाम नभएको अवस्थामा यी बस आधा घण्टामा गन्तव्यमा पुग्ने प्रालिले जानकारी दिएको छ ।

२४ सिटे यी बसमा ५० जना यात्रु क्षमता रहेको छ । यी बस अपाङ्गमैत्री हुनेछन्, जहाँ एउटा ह्विलचियर बेस पनि राखिएको छ । प्रालिका अनुसार यात्रुको सहजताका लागि विद्युत्तीय कार्डबाट भाडा तिर्ने व्यवस्था मिलाइएको छ।

नयाँ बसपार्कदेखि गुड्ने यी बस सिनामंगल पुग्ने क्रममा २९ वटा स्टपमा रोकिने छन् । कम्पनीका अनुसार यो रूटमा बस भाडा धेरैमा २५ रूपैयाँसम्म पर्न सक्छ ।

गाडी कहाँ गुडिरहेको छ भन्ने थाहा पाउनका लागि कम्पनीले मोबाइल एप्सलार्इ प्रयोगमा ल्याउने भएको छ । स्मार्ट भनिएका यी बसका सिसीटीभी र ट्राफिक सेन्सर राखिएको छ । यी बस चलाउनका लागि यो रूटमा सञ्चालित ६७ वटा माइक्रो र ट्याम्पो हटाइएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com