हराएको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियाे, ८ जनाको मृत्यु, १ काे जीवितै उद्धार


प्रकाशित मिति : श्रावण २८, २०७५ सोमबार

इन्डोनेसियामा शनिबार हराएको एक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । साथै सो विमानमा सवार आठजना यात्रुको शव पनि भेटिएको समाचारमा जनाइएको छ ।

पूर्वी इन्डोनेसियाको पहाडी इलाकामा सो विमान आइतबार विहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

पूर्वी इन्डोनेसियाको एक दुर्गम पपुवा प्रान्ततर्फ जाँदै गरेको सो विमान शनिबार अपराह्नदेखि हराएको थियो । करिब ४० मिनेटको मात्र उडानका लागि विमान शनिबार अपराह्न उडेको थियो । तर उडेलगत्तै विमान सम्पर्कबिहीन भएको थियो ।

इन्डोनेसियाको ओक्सिबील उपजिल्लाको एक घना जङ्गल भएको पहाडमा विमान खसेको थियो । विमानका भग्नावशेषहरु भेटिएको र उद्धारको काम जारी रहेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । तर सो विमानमा रहेका एकजना १२ वर्षीय यात्रु भने जीवितै रहेका एकजना सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पपुवाका सैनिक प्रवक्ता लेफ्टिनेन्ट कर्णेल दाक्स सियान्तुरीले भन्नुभयो– हामी दुर्घटनाग्रस्त भएको जहाजको भग्नावशेषसम्म नै पुग्न सफल भएका छौँ, त्यस दुर्घटनाबाट आठजनाको ज्यान गएको छ भने एकजना यात्रु जीवितै उद्धार गर्न सकिएको छ ।

सो विमान दुर्घटनाको कारण पत्ता लागेको छैन । विमान दुर्घटना बारे अनुुसन्धान गर्न उड्डयन केन्द्रले एक अनुसन्धान समिति गठन गरेको छ ।

उक्त विमान एक निजी कम्पनीको रहेको थियो । त्यसमा सात जना यात्रु र दुई जना चालक दलका सदस्य रहेका थिए ।

उद्धारकर्ताहरु उक्त विमान खसेको स्थानमा पुग्न कम्तीमा पनि दुई घन्टा लागेको थियो । विमान खसेको स्थान देखेपछि पनि पहाडको निकै अप्ठेरोमा विमानका भग्नावशेष देखिएकोले त्यहाँ पुग्न पनि समय लागेको सैनिक अधिकारीले जनाएका छन् ।

इन्डोनेसियाको पपुवा प्रान्त निकै दुर्गममा रहेकोले त्यहाँ पुग्न नै कठिन हुने गर्दछ । उता इन्डोनेसियामा हवाई सुरक्षाको अवस्था निकै कमजोर रहेकोले बर्सेनि यहाँ हवाई दुर्घटनाबाट नागरिकको ज्यान जाने गरेको छ ।

सोही पपुवा क्षेत्रमा गत वर्षको जुलाइमा भएको एक सानो विमान दुर्घटनामा पर्दा पाँच जनाको ज्यान गएको थियो । त्यसैगरी सन् २०१५ को अगष्टमा पनि इन्डोनेसियामा भएको विमान दुर्घटनामा ५४ जनाको ज्यान गएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com