यौनशोषणको सिकार हुनेमा अधिकांश बालबालिका


प्रकाशित मिति : मंसिर ६, २०७३ सोमबार

सार्वजनिक भएका जबरजस्ती करणीका अधिकांश घटनामा बालिका पीडित हुने गरेको तथ्यांकले देखाएको छ । केन्द्रीय बालकल्याण समितिले विश्व बालअधिकार दिवसका अवसरमा आइतबार जारी गरेको प्रतिवेदनले यस्तो देखाएको हो । गएको आव ०७२/७३ मा जबरजस्ती करणीबाट १ हजार ९० जना पीडित भएकोमा ६ सय ८१ बालिका रहेको पाइएको छ ।

यसरी बलात्कारका पीडितमध्ये १८ वर्षमुनिका बालबालिका ६२ दशमलव ५ प्रतिशत छन् । जबरजस्ती करणीको प्रयासका मुद्दामा ४ सय ५२ पीडितमध्ये २ सय ६६ बालिका छन् । जुन ५८ दशमलव ८ प्रतिशत हो । समितिले नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन २०७३ सार्वजनिक गर्दै मानव बेचबिखनका घटनामा समेत १८ वर्षमुनिका बालबालिका ३१ प्रतिशत रहेको उल्लेख गरेको छ । मानव बेचबिखनमा कुल २ सय १२ घटनामा ३ सय ५२ बालबालिका पीडित थिए ।

त्यसैगरी देशभरका १४ जिल्लामा भूकम्प र अन्य कारणले जोखिममा परेका ६५ हजार ८ सय १२ बालबालिकालाई आपतकालीन शैक्षिक तथा पारिवारिक आर्थिक सहयोग प्रदान गरिएको छ । २० जिल्लामा सशस्त्र द्वन्द्व प्रभावित ३ हजार ५ सय ५७ बालबालिका तथा उनीहरूको परिवारलाई विभिन्न प्रकारको सेवा प्रवाह गरिएको समितिले जनाएको छ ।

समितिले १४ सय ३५ बालबालिकालाई सहिद प्रतिष्ठानअन्तर्गतका ५ क्षेत्रीय विद्यालयमा आवासीय अध्ययनको व्यवस्था मिलाइदिएको छ । ११ जिल्लामा रहेका बाल हेल्पलाइनको सहयोगमा जोखिमपूर्ण अवस्थामा रहेका १८ सय १९ बालक र १८ सय ९२ बालिकाको उद्धार गरिएको प्रतिवेदनमा जनाइएको कान्तिपुरमा खबर छ । नयाँ संविधान जारी भएपश्चात् मधेसमा भएको आन्दोलन र नाकाबन्दीका कारणबाट बालबालिकासमेत प्रभावित बनेको केन्द्रको ठहर छ । सो समयमा विद्यालय र स्वास्थ्य संस्था बन्द रहँदा महोत्तरी, धनुषा, बारा, पर्सा, रौतहट, सप्तरी, सिरहा र सर्लाही गरी ८ जिल्लाका साढे १३ लाखभन्दा बढी बालबालिका शिक्षा र खोपजस्ता आधारभूत अधिकारबाट वञ्चित भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com