रसुवागढी नाका भएन व्यवस्थित


प्रकाशित मिति : मंसिर ६, २०७३ सोमबार

रसुवा जिल्लाको रसुवागढी सीमा नाकामा चीनतर्फ आकर्षक शैलीमा निर्माण गरिएको अध्यागमनको कार्यालय छ भने नेपालतर्फ सामान्य टिनको छानोमा राष्ट्रिय झण्डा फहराइरहेको छ । नेपालतर्फको कच्ची सडकको धुलोबाट बच्न नेपाली सुरक्षाकर्मी मास्क लगाएर सीमामा खटिएका हुन्छन् र निहुरिएर पस्नुपर्ने र थोरै मात्र बस्न मिल्ने अस्थायी टहरामा सुरक्षाकर्मीको कार्यालय सञ्चालन भइरहेको छ ।

चीनको केरुङबाट पेट्रोलियम पदार्थ र अन्य सामग्री नेपाल ल्याउने भनी बहुप्रचारित रसुवागढी खण्डको नेपालतर्फको सडकको अवस्था अत्यन्तै दयनीय छ । रसुवागढीबाट २४ किलोमिटर चीनतर्फ गएपछि मात्रै चीनको केरुङ पुगिन्छ । चीन सरकारले सिगात्सेबाट पाँच सय किलोमिटरको दूरीमा रहेको केरुङसम्म रेल ल्याउने योजना बनाएपछि नेपालीको ध्यान यही नाकातर्फ केन्द्रित छ । भोटेकोसीपारि रहेको चीनतर्फको पूर्वाधार तथा नेपालतर्फको पूर्वाधार हेर्दा सहजै अनुमान गर्न सकिन्छ, नेपाली राजनेताहरूको भनाइ यथार्थभन्दा कति टाढा छ भनेर । चीनतर्फ सामान लिन गएका कन्टेनरको लामो लाम हुन्छ, कन्टेनरहरू लाममा बसेपछि सडकबाट मोटरसाइकलसमेत छिर्न सक्दैनन् ।

डेढ वर्षअघि गएको भूकम्पबाट क्षतिग्रस्त सडकमा माथिबाट झरेका कन्टेनरभन्दा ठूला ढुङ्गा देखिन्छन् । एकतर्फी मात्रै सवारी चल्ने गरी खोलिएको सडकलाई फराकिलो बनाउने, सीमा नाका व्यवस्थित गर्नेतर्फ कुनै पहल भएको देखिँदैन । सीमामा खटिएका प्रहरी सहायक निरीक्षक ज्योतेन्द्र भण्डारीले गोरखापत्रसँग भने, ‘भूकम्पले क्षति पुर्‍याएको चीनतर्फको सडकखण्ड निर्माण तीव्र पारिएपछि केही दिनयता गाडी जान बन्द गरिएको छ । खाना खाने समयमा मात्रै एक घण्टा सवारी खुल्छ ।’

भण्डारीले भने,’सडक कच्ची छ, त्यो पनि निकै सानो छ, लोडगाडी आउने गर्छन्, वर्षा हिलोको समस्या र अहिले धुलोले सताएको छ, नेपालतर्फको पार्किङ व्यवस्थित छैन, तल टिम्बुरेमा बन्दैछ, यहाँ त खाली जग्गामा मात्रै पार्किङ गर्ने हो, समस्या त धेरै छन् ।’ यी सुरक्षाकर्मीको आशा कहिले साकार हुने हो थाहा छैन । सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि यो नाकाबाटै सामान ल्याइने गरिएको छ ।

सडक स्थायी रूपमा चल्ने बनाउने सरकारी योजना त छ तर कहिले बन्ने हो, त्यो भने कसैलाई थाहा छैन । तीन महिनायता सडक निर्माण गर्ने वा सुधारका लागि कुनै प्रयास भएको छैन । यहाँको मुख्य समस्या सडकको दुरवस्था हो । नेपालको अध्यागमन कार्यालय भने सीमा क्षेत्रभन्दा केही तल टिम्बुरेमा पक्की भवनमा रहेको छ ।

सीमा क्षेत्रमा नै भेटिएका हुम्लाका मङ्गल लामाको पीडा छुट्टै छ । लामाले भने, ‘काठमाडौँबाट हिल्सा–सिमीकोट सडकका लागि तार, जाली, डिजेललगायतका सामान लिएर हिँडेको, सडकको अवस्था नाजुक हुँदा सारै दुःख पाइयो । तातोपानी नाका बन्द भएपछि यही नाका मात्रै खुला छ, सरकारले यो नाकालाई प्रयोग गर्ने भने पनि सडक स्तरोन्नति गर्न धेरै ढिलाइ भएको गाेरखापत्रमा खबर छ । ‘ लामाले भने, ‘यो सामान केरुङबाट सात सय किलोमिटर चीनको स्वशासित क्षेत्र तिब्बतको सडक पार गरी हुम्लाको सीमा पुर्‍याउनुपर्छ, यो विकल्प मेरा लागि सबैभन्दा राम्रो हो ।’ हुम्लामा सडक नपुगेको र हवाईजहाजमा नेपालगन्जबाट लैजाँदा निकै महँगो पर्ने भएकाले काठमाडौँदेखि रसुवा हुँदै चीनबाट हुम्ला सामान लानु परेको गुनासो लामाको छ ।

सीमामा भेटिएका चालकहरूले पनि सवारी चलाउन सडक राम्रो नहुँदा निकै समस्या भोग्नु परेको गुनासो गरे । सीमाबाट टिम्बुरेसम्मको सडकको अवस्था दयनीय छ भने त्यसभन्दा तलको सडक कच्ची नै भए पनि सवारी सञ्चालन गर्न सकिने अवस्थामा छ ।

त्यसैगरी धुन्चे सदरमुकामबाट राम्चेतर्फको चार किलोमिटर मूलखर्क सडकखण्डको अवस्था झनै दयनीय छ । काठमाडौँबाट सामान लिएर गएका लोड गाडी अगाडि बढ्न नसक्दा घण्टौँसम्म सडक जाम हुने गरेको जानकारी सवारीचालकले दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com