ओबामा केयर लगायतका सुविधा लिने ग्रिनकार्ड होल्डरलाई नागरिकता नदिने योजनामा ट्रम्प प्रशासन


प्रकाशित मिति : श्रावण २४, २०७५ बिहीबार

ओबामा केयर लगायतका सुविधा लिने ग्रिनकार्ड होल्डरलाई अमेरिकी नागरिकता नदिने प्रस्तावको तयारीमा ट्रम्प प्रशासन रहेको छ । यो प्रस्ताव केहीदिनमा नै सार्वजनिक हुने जनाइएको छ ।

लोक कल्याण कार्यक्रम प्रयोग गरेको पाइएमा त्यस्ता व्यक्तिलाई ग्रिनकार्ड नदिने ट्रम्प प्रशासनको योजना सार्वजनिक भइसकेको सन्दर्भमा ल्याउन लागिएको नयाँ योजनाले अधिकारकर्मीहरुलाई आक्रोशित बनाएको छ । नयाँ योजना अनुरुप ग्रिनकार्ड भएको व्यक्तिले पनि लोक कल्याण कार्यक्रमबाट सुविधा लिएको पाइएमा नागरिकता नदिइने जनाइएको छ ।

वैध आप्रवासीहरुलाई नागरिकतामा समेत सिमाबन्दी लगाउने यो कार्यक्रम लागु गर्न संसदले पारित गर्नु नपर्ने जनाइएको छ । जसबाट २ करोड भन्दा धेरै वैध आप्रवासीहरु प्रभावित हुने जनाइएको छ ।

योजनाको ड्राफ्टले अन्तिम रुप पाउन बाँकी रहेपनि अमेरिकामा कानुनी रुपमा बसिरहेका आप्रवासी र उनीहरुका परिवारले ओबामा केयर, बालबालिकाको लागि निशुल्क हेल्थ इन्सुरेन्स, फुड स्ट्याम्प र अन्य सुविधा लिएकोमा पाइएमा उनीहरुलाई अमेरिकामा कानुनी स्टाटस पाउनबाट रोकिने जनाइएको छ ।

गरिबीको स्तरभन्दा २५० प्रतिशतसम्म हाउसहोल्ड आम्दानी भएका आप्रवासीहरुलाई समेत अवरोध सृजना गर्ने गरी नयाँ नियमको तयारी भइरहेको छ । ड्राफ्टको भर्सन ह्वाइटहाउसको म्यानेजमेन्ट र बजेट अफिसमा पठाइसकिएको जनाइएको छ ।

ओबामा प्रशासनको पछिल्लो आर्थिक बर्षमा १२ लाख आप्रवासीहरुले अमेरिकामा ग्रिनकार्ड पाएका थिए भने ७ लाख ५३ हजार ६० जनाले अमेरिकी नागरिकता पाएका थिए । तर ट्रम्प प्रशासनको आर्थिक बर्ष २०१८ को पहिलो त्रैमासिक तथ्यांक अनुशार ग्रिनकार्ड पाउने आप्रवासीहरुको संख्या २० प्रतिशतले घटेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com