अमेरिकी प्रतिबन्धका कारण रुसी मुद्राको भारी अवमूल्यन


प्रकाशित मिति : श्रावण २४, २०७५ बिहीबार

अमेरिकाले रुसविरुद्ध घोषणा गरेको पछिल्ला आर्थिक प्रतिबन्धहरुका कारण अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबल दुई वर्षयता सबैभन्दा बढी अवमूल्यन भएको छ ।

बेलायतमा बस्दै आएका एकजना पूर्व रुसी जासुसमाथि स्नायू प्रणालीमा असर पार्ने घातक आक्रमण गरेको विरोध स्वरुप अमेरिकाले प्रतिबन्धहरु घोषणा गरेको हो । वासिङ्टनको दण्डात्मक कारबाहीका कारण बिहीबार बिहान अमेरिकी डलरको तुलनामा रुबलको मूल्य ६६.४८ पुगेको छ । यो मूल्य नोभेम्बर २०१६ यताकै सबैभन्दा कम हो ।

अमेरिकी प्रतिबन्धको असर रुसी सेयर बजारमा पनि परेको छ । रुसी स्टक एक्सचेन्ज ३।२ प्रतिशतले घटेको छ भने मोएक्स इन्डेक्स झण्डै १.२ प्रतिशतले तल झरेको छ । रुसी बैंकहरुको सेयर पनि ओरालो लागेको छ । राज्य सञ्चालित स्बरबैंकको सेयर ४.७ बिन्दुले घटेको छ ।

अमेरिकी विदेश मन्त्रालयले बुधबार मात्र नयाँ प्रतिबन्धहरुको घोषणा गरेको थियो । बेलायतमा बसोबास गरिआएका बेलायती नागरिक सर्गेई स्क्रीपाल र उनकी छोरी युलियामाथि गत मार्च महिनामा रुसी जासुसहरुले नोभिचोक नामको स्नायूप्रणालीमा असर पार्ने एजेन्टले आक्रमण गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरी रासायनिक वा जैविक हतियार प्रयोग गरेको देखिएकोले रुसमाथि यस्तो कारबाही गर्नु परेको हो, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हिथर नर्टले जारी  विज्ञप्तिमा उल्लेख छ ।

प्रतिबन्ध अन्तर्गत ‘राष्ट्रिय सुरक्षा संवेदनशील’अमेरिकी प्रविधिहरु रुसलाई बेच्न पाइने छैन । यस्ता प्रविधिहरुमा विद्युतीय उपकरणहरुका साथै क्यालिब्रेसन उपकरणहरु रहेका छन् । विगतमा यस्ता उपकरणहरु निर्यात गर्न दिइएको थियो ।

रुसले युक्रेनमाथि गरेको व्यवहारका कारण लागेको अन्तर्राष्ट्रिय प्रतिबन्ध तथा त्यही वर्ष तेलको मूल्यमा आएको भारी गिरावटका कारण रुसको अर्थतन्त्र सन् २०१४ को अझै तङ्ग्रिन सकेको छैन । दुई वर्षको आर्थिक संकटपश्चात सन् २०१७ बाट रुसको अर्थतन्त्र सही बाटोमा आएको थियो ।

यसैबीच, अमेरिकाले लगाएको प्रतिबन्ध अस्वीकार्य रहेको भन्दै रुसले आपत्ति जनाएको छ, तर अमेरिकासँगको सम्बन्ध रचनात्मक दिशातर्फ उन्मूख हुने अपेक्षा गरिएको छ ।

‘अमेरिकाले लगाएको नयाँ प्रतिबन्ध गैरकानुनी छ, यो अस्वीकार्य पनि छ,’ क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले भने  ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com