नेपाली सेनाको कमाण्ड आजबाट पूर्णचन्द्र थापाले सम्हाल्ने


प्रकाशित मिति : श्रावण २४, २०७५ बिहीबार

नेपाली सेनाका कायम मुकायम प्रधानसेनापति पूर्णचन्द्र थापाले आजबाट नेपाली सेनाको कमाण्ड सम्हाल्ने भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले वरीयता क्रमअनुसार थापालाई जिम्मेवारी दिन सिफारिस गरेको थियो । सोहि निर्णय अनुसार आजबाट उनले सेनाको कमण्ड सम्हाल्ने भएका हुन् ।

प्रधानसेनापतिको नियुक्ति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने संविधानमा व्यवस्था छ । प्रधानसेनापति राजेन्द्र क्षेत्री तीन वर्षे सेवाअवधिबाट आगामी भाद्र २४ गते अवकाश पाउँदैछन् । अवकाशको एक महिना पूर्व नै नियमित घर बिदामा बस्ने सैनिक परम्पराअनुसार क्षेत्री बिहीबारआजबाट घरबिदामा बस्दै छन् । भाद्र २४ गतेबाट प्रधानसेनापतिको पूर्ण कमाण्ड सम्हाल्नेछन् ।

अब्बल सैनिक अधिकारी

नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरिएका थापा नेपाली सेनाभित्रका अब्बल सैनिक अधिकारीका रूपमा चिनिन्छन् । अत्यन्तै अनुशासित, भद्र, अध्ययनशील र अनुभवी जर्नेलका रुचिपमा पारित उनलाई यसअघि नै नेपाली सेनाको भावी नेतृत्वका रूपमा हेरिएको छ ।

नेपाली सेनामा उनको करियर ग्राफ र ट्रयाक रेकर्ड अत्यन्तै कुशल सैनिक अधिकृतका रूपमा रहेकाले पनि उनी भावी प्रधानसेनापतिको दौडमा सम्भावित एक्ला दाबेदारजस्तै थिए । कामु प्रधानसेनापति थापा सैनिक करियरमा जति अब्बल र कुशल कहलिएका छन्, वास्तविक जीवनमा उत्तिकै सरल, मिजासिलो र तार्किक मानिन्छन् ।

अधिकृतहरूको वृत्ति विकासमा काम गर्ने सैनिक सचिव विभाग, नेपाली सेनाका भुुपु तथा बहालवाला सैनिकहरूको हित र कल्याणका लागि काम गर्ने सैनिक कल्याणकारी कोष, कार्यरथी विभाग, प्रबन्ध तथा सम्भार रथीको कार्यालय, शान्ति सेना सञ्चालन निर्देशनालय, बाहिनी, पृतना, बलाध्यक्षको कार्यालय, बलाधिकृतको कार्यालयलगायतका नेपाली सेनाभित्रका सबै जसो महत्त्वपूर्ण र गहन जिम्मेवारी बोकेका कार्यालय तथा विभागहरूको नेतृत्व उनले कुशलतापूर्वक सम्हालेका थिए ।

अधिकांश सैनिक अधिकृतहरूले सैनिक मुख्यालय अन्तर्गतका ती कार्यालय तथा विभागहरूमध्ये एक वा दुईको मात्र नेतृत्व गर्ने अवसर पाउने गरेका छन् । यस सन्दर्भमा सबै कार्यालय र विभागको नेतृत्व गरेर अनुभव हासिल गर्ने अवसर पाएका थापालाई भाग्यमानी सैनिक अधिकृतका रूपमा पनि हेर्ने गरिन्छ ।

नेपाली सेनाको नेतृत्वमा थापा आएसँगै सेनाका अन्य निकाय तथा विभागहरूलाई पारदर्शी बनाउने, सैनिक ठेक्कापट्टामा हुने विवाद, सैनिक अस्पतालमा हुने घोटाला, कल्याणकारी रकमको दुरुपयोगलगायतमा आमूल परिवर्तन हुने अपेक्षा गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com