विश्वका ४० करोड मानिसका घर शौचालयविहीन


प्रकाशित मिति : मंसिर ४, २०७३ शनिबार

विश्वका ४० करोड मानिस दिसापिसाबका लागि शौचालय प्रयोग गर्दैनन् । खासगरी नेपाललगायत अल्पविकसित र अफ्रिकी मुलुकका नागरिकलाई अहिले पनि चर्पी प्रयोग गरौँ भनी सचेतना अभियान चलाउनुपर्ने अवस्था छ ।

शौचालय प्रयोग नगर्नेमध्ये १७ प्रतिशत मानिस कुनै न कुनै प्रकारको फोहरजन्य रोगबाट प्रभावित भएको तथ्याङ्क छ । नेपालमा खुला दिसामुक्त क्षेत्र घोषणा अभियानकै रूपमा चले पनि अहिले पनि १३ प्रतिशत घरधुरीका बासिन्दाले आफ्नो निजी शौचालय बनाएका छैनन् । राजधानीमा रहेको काठमाडौँ महानगरपालिकालाई समेत अझै खुला दिसामुक्त क्षेत्र घोषणा गर्न सकिएको छैन ।

सहस्राब्दी विकास लक्ष्य सन् २०१७ सम्म नेपालका सबै घरधुरीमा शौचालय हुने भनिएको छ तर यो अवस्था हेर्दा लक्ष्यसम्म पुग्न सक्ने अवस्था देखिँदैन । ‘चर्पी र आजीवी’ भन्ने अन्तर्राट्रिय नाराका साथ शनिबार विश्वभरि विश्व शौचालय दिवस मनाइँदैछ । हरेक वर्ष नोभेम्बर १९ मा मनाइने यो दिवसमा शौचालय र सरसफाइसँग केन्द्रित भएर विभिन्न चेतनामूलक कार्यक्रम गर्ने गरिन्छ ।

खानेपानी तथा ढल निकास विभागका अनुसार देशका ८७ प्रतिशत घरधुरीमा शौचालय बनेका छन् । यस्तै खुला दिसामुक्त घोषणा हुनेमा दुई अञ्चल धौवलागिरि र राप्ती, ३८ जिल्ला, १२२ नगरपालिका, दुई हजार २७५ वटा गाविस रहेका छन् ।

विभागका अनुसार देशभरका साना र ठूला गरी दुई सयको हाराहारीमा सार्वजनिक शौचालय भएकोमा सबैभन्दा बढी व्यस्त महानगरपालिकाभित्र २०÷२२ वटा मात्रै छन् । तिनै शौचालय पनि वर्षौंदेखि मर्मत र सरसफाइ नहुँदा प्रयोग गर्न सक्ने खालका छैनन् । अहिलेसम्म बनेका सार्वजनिक शौचालयमध्ये एउटै पनि अपाङ्गतामैत्री छैनन् ।

खानेपानी तथा ढल निकास विभागका महानिर्देशक प्रेम श्रेष्ठले आगामी दिनमा बनाइने सबै सार्वजनिक शौचालय अपाङ्गतामैत्री बनाउने योजनामा भएको बताए । सहस्राब्दी विकास लक्ष्य अनुसार सन् २०१७ सम्म नेपालका सबै घरमा शौचालय पुर्‍याउने गरी काम भइरहेको र अबको एक वर्षसम्म लगभग लक्ष्य नजिक पुग्न सकिने उनको भनाइ छ ।

यस्तै यस क्षेत्रमा काम गरिरहेको गुथी संस्थाका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले मानिसको अति आवश्यक र प्रत्यक्ष जीवनसँग जोडिएको शौचालयलाई एक दिन दिवस गर्दैमा सुधार हुन नसक्ने भन्दै यसलाई सरकार र सरोकारवाला निकायले वर्षभरि नै अभियानका रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।

शौचालय पुर्‍याउन नसकिएका घरधुरी अधिकांश तराईका भएकाले एक वर्षभित्र लक्ष्यसम्म पुग्न गाह्रो हुने भन्दै अमात्यले भने, ‘तराईमा कतिपय घरमा बनाउने ठाउँ नभएर र कतिपयले ठाउँ भएर पनि उनीहरूको आनीबानीमा सुधार गर्न सकिएको छैन, त्यसैले एक वर्षमा लक्ष्यसम्म पुग्न सक्ने देखिँदैन ।’

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) र विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को संयुक्त प्रतिवेदन २०१४ का अनुसार विश्वमा अहिले पनि ४० करोड मानिस शौचालय प्रयोग गर्दैनन् । जसमा सबैभन्दा बढी अफ्रिकी मुलुक र नेपालजस्ता विकासोन्मुख मुलुक रहेका छन् । त्यसमा पनि शौचालय नहुँदा सबैभन्दा बढी रोगको सङ्क्रमणबाट बालबालिका प्रभावित भएका गोरखापत्रमा खबर छ । यसैबीच विश्व शौचालय दिवसका अवसर पारेर गुथी र विश्वनिकेतन उच्च माध्यमिक सामुदायिक विद्यालयको संयुक्त आयोजनामा शुक्रबार शौचालय र त्यसको प्रयोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरियो । सो कार्यक्रममा शौचालय प्रयोग र शौचालयको अभाव हुँदा बालबालिकामा पर्ने स्वास्थ्य समस्याबारेमा जानकारी गराइएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com