अमेरिकामा एसाइलमको प्रकृया र नियमहरुमा कडाई गरिएपछि शरण पाउन पहिलेभन्दा निकै मुस्किल


प्रकाशित मिति : श्रावण १६, २०७५ बुधबार

अमेरिकामा एसाइलमको प्रकृया र नियमहरुमा कडाई गरिएपछि शरण पाउन पहिलेभन्दा निकै मुस्किल हुन थालेको छ । गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका छिरेर एसाइलम गर्न खोज्नेलाई गैरकानुनी सिमापारको अपराधको अभियोग लगाउन थालिएपछि त्यो क्रममा कमी देखिएको छ ।

खासगरी दलाललाई लाखौं रकम बुझाएर मेक्सिकोको बाटोहुँदै गैरकानुनी रुपमा अमेरिकी सिमाबाट नेपालीहरु अमेरिका प्रवेश गर्ने क्रम लगभग ठप्प भएको छ । अमेरिका प्रवेश गर्ने आधिकारिक नाका पोर्ट अफ इन्ट्रीमा आएर एसाइलम दावी गर्नेहरुलाई मात्र एसाइलमको पकृयामा लगिने तथा गैरकानुनी रुपमा सिमाबाट छिर्नेलाई अपराधको अभियोग लगाइने भएपछि नेपालीहरु लुकिछिपी सिमाबाट अमेरिका छिर्ने क्रम ठप्पप्राय भएको हो ।

नेपालमा पहिलेजस्तो माओवादी युद्ध पनि नभएको र खास खतराजन्य अवस्था पनि नरहेका कारण विभिन्न भिसामा अमेरिका आएर नेपालीहरुले एसाइलम अफिसमा एसाइलमका आवेदन दिने क्रममा पनि कमी आएको छ । एकपछि अर्को गर्दै एसाइलमका नियममा आएको परिवर्तन र पछि आवेदन दिनेहरुलाई फटाफट अन्तरवार्ता दिएर केस टुंगो लगाउने ट्रम्प प्रशासनको नीतिका कारण नयाँ आवेदकले एसाइलम पेन्डिङका आधारमा अमेरिकामा वर्क परमिट पाउन पनि असहज बन्दै गएको छ ।

घरेलु र गिरोह हिंशाका पीडितलाई एसाइलम नदिइने

अमेरिकाको सिमाक्षेत्रबाट प्रवेश गर्ने अधिकांशले घरेलु र गिरोह हिंशाका पीडित भन्दै एसाइलम गर्न थालेपछि अमेरिकी महान्यायाधिवक्ताले घरेलु हिंशा र गिरोहको हिंशाका पीडितहरुलाई अब अमेरिकामा एसाइलम नपाउने गरी नयाँ नियम जारी गरेका छन् । नयाँ नियम अनुशार अब सामान्यतया घरेलु हिंशा र गिरोहको हिंशाका पीडितहरु एसाइलमका लागि योग्य हुने छैनन् ।

महान्याधिवक्ता जेफ सेसनको जारी गरेको नयाँ नियमले २०१६ को एउटा निर्णयलाई उल्टाएको छ जसमा एकजना एल साल्भोडरकी महिलाले आफ्ना पतिबाट बलात्कृत भएको र दुब्र्यबहार भोगेको भन्दै दिएको एसाइलम आवेदन स्वीकृत भएको थियो । सेसनको यस्तो कदमबाट १० औं हजार प्रभावित हुने भन्दै अधिकारकर्मीहरुले विरोध गरेका छन् ।

जेफ सेसनले दिएको ३१ पृष्ठको निर्देशनमा भनिएको छ –‘सामान्यतया घरेलु र गिरोहका हिंशामा परेकाहरु एसाइलमका लागि योग्य हुने छैनन् । ’

सन् २०१४ मा एकजना एल साल्भाडोरकी महिला अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गरेर एसाइलका लागि आवेदन दिएकी थिइन् । उनले आफ्ना पूर्वपतिबाट मानसिक, भौतिक र यौनिक रुपमा प्रताडना पाएको भन्दै आवेदन दिएकी थिइन् । युएस बोर्ड अफ इमिग्रेशन अपिलले उनलाई निश्चित सामाजिक समुहको परिभाषा अनुशार एसाइलमका लागि योग्य ठानेको थियो । तर जेफ सेसनले यो निर्णयलाई उल्टाएका छन् ।

अमेरिकामा हरेक बर्ष कम्तीमा १० हजार व्यक्तिले घरेलु हिंशा र गिरोहबाट पीडित भएको भन्दै एसाइलम पाउने गरेको अधिकारकर्मीहरुको भनाई छ ।

 

अमेरिकालाई शरणार्थी शिविर बन्न नदिइने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई शरणार्थी र आप्रवासी शिविर बन्न नदिइने बताएका छन् । ह्वाइट हाउसमा बोल्दै ट्रम्पले भने –‘अमेरिका आप्रवासीको शिविर बन्ने छैन । न त अमेरिका शरणार्थी शिविर नै हुनेछ । अहँ कदापी हुनेछैन ।’

ट्रम्पले भने –‘युरोपमा के भइरहेको छ हेर्नुहोस् । अरु ठाउहरुमा के भइरहेको छ हेर्नुहोस् । हामीले त्यो अमेरिकामा हुनदिने छैनौं ।’ ट्रम्पले युरोपेली राष्ट्रहरुले लाखौं आप्रवासीहरुलाई अनुमति दिएर गल्ती गरेको बताएका थिए । अमेरिकाको अध्यागमन कानुन संसारमा नै सबैभन्दा खराब रहेको समेत राष्ट्रपति ट्रम्पले बताएका छन् ।

मध्य अप्रिलदेखि हालसम्ममा अमेरिकाको सिमानामा झण्डै २ हजार बालबालिकाहरुलाई उनीहरुका बुबाआमाबाट अलग बनाइएको अवस्थामा ट्रम्पको भनाई आएको हो । ट्रम्प प्रशासनको शुन्य सहनशिलता नीति अन्तरगत गैरकानुनी रुपमा अमेरिकाको सिमा पार गरेर एसाइलम खोज्नेहरुलाई अपराधको अभियोग लगाउन थालिएको छ । जसका कारण अपराधको अभियोग नलगाइएका कैयन बालबालिकाहरुलाई बाबुआमाबाट अलग गराइएको छ ।

 

एसाइलम गर्न खोज्नेलाई फिर्ता !

अमेरिकी सिमाक्षेत्रबाट अमेरिकामा छिरेर एसाइलम गर्न खोज्नेलाई सीबीपीका अधिकारहरुले पछि आउन भन्दै फिर्ता पठाइदिने गरेका समाचारहरु पनि आइरहेका छन् । पोर्ट अफ इन्ट्री भरिभराउ भएको र थप एसाइलमका आवेदन ह्याण्डल गर्न सक्ने स्थीति नभएको भन्दै उनीहरुलाई टेक्सासको सिमाक्षेत्रबाट मेक्सिकोतिरै फिर्ता पठाइएको समाचारहरु आएका थिए ।

गैरकानुनी रुपमा सिमा पार गरेर एसाइलमको दावी गर्नेहरुलाई अपराधको अभियोग लगाइने तर आधिकारिक सिमा पारक्षेत्रबाट आएर एसाइलम गर्नेहरुका आवेदनमात्र प्रकृयामा लगिने ट्रम्प प्रशासनले चेतावनी दिएपनि कार्यविधि पालना गर्नेहरुलाई अहिले खाली ठाउँ नभएको भन्दै पछि आउन सुझाव सहित फिर्ता पठाउन थालिएको जनाइएको थियो । कतिपय सिमा पार गर्ने स्थानमा आप्रवासीहरु कैयन दिनदेखि क्याम्प खडा गरेर समेत बसिरहेका छन् ।

एल पासो लगायतका सिमा क्षेत्रमा अमेरिकी सिमा सुरक्षा अधिकारीहरुले मध्य अमेरिकी देशबाट आउनेहरुलाई फिर्ता पठाएको जनाइएको छ । उनीहरुले सिमाक्षेत्रबाट छिर्न खोज्ने आप्रवासीहरुलाई अमेरिकामा एसाइलम गर्न नपाइने कुरा नभनेको तर अहिले पोर्ट अफ इन्ट्रीहरु खाली नभएकाले प्रवेश दिन नसक्ने बताएको जनाइएको छ ।

तर अमेरिकी सरकारले यसको खण्डन गरेको छ । अमेरिकी सिमाक्षेत्रका पोर्ट अफ इन्ट्रीमा आएर एसाइलम दावी गर्नेहरुलाई संघीय कानुन अनुशार प्रकृयामा लगिएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । सीबीपीले यसरी पोर्ट अफ इन्ट्रीमा आउने सबैलाई प्रकृयामा लगेको तर पोर्ट अफ इन्ट्रीबाट प्रवेश गर्न अयोग्यहरुको संख्या बढ्ने क्रममा भींडभाड र लाइन व्यवस्थापनका क्रममा प्रकृयाहरु अपनाउने गरेको सरकारले स्पष्ट पारेको छ ।

यदि कुनै व्यक्तिले गैरकानुनी रुपमा सिमा पार नगरी पोर्ट अफ इन्ट्रीमा नै आएर एसाइलमको दावी गर्छ भने उनीहरुलाई गैरकानुनी सिमा पारको अभियोग नलगाइने गरिएको सरकारले स्पष्ट पारेको छ ।

एसाइलम गर्दा विवरण ढाँट्नेलाई जेल

यसैबीच अमेरिकामा एसाइलम आवेदन दिंदा विवरण ढाँट्नेलाई जेल सजायका लागि युएससीआईएसले महत्वपूर्ण भूमिका खेलेको छ । इरानी नागरिक अलि बाहदानीले एसाइलम गर्दा झुठो विवरण पेश गरेका कारण साढे ३ महिनाको जेल सजाय पाएका छन् ।

एरिजोनाका जिल्ला न्यायाधिसले ती २८ बर्षीय इरानी नागरिकलाई एसाइलमको आवेदनमा झुठो विवरण बुझाएको भन्दै जेल सजाय सुनाएका हुन् । उनले इरानी सेनामा काम गरेको र अमेरिका आउनु अगाडि इटलीमा शरण पाएको लगायतका विवरणहरु ढाँटेका थिए ।

अमेरिकामा शरण पाउनका लागि विवरण ढाँटिएमा त्यसलाई सहन नसकिने युएससीआईएसका लस एन्जलस एसाइलम निर्देशक डेभिड राडेलले बताएका छन् ।

उनको मुद्दाबारे इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले अनुसन्धान गरेको थियो । जसमा युएससीआईएस र संघीय अनुसन्धान ब्यूरोले पनि सघाएको थियो ।

एसाइलमका आधारमा दिइएका वर्क परमिटमा त्रुटी

एसाइलमका आधारमा दिइएका सयौं वर्क परमिटहरुमा युएससीआईएसले त्रुटी गरेको छ । एसाइलम र रिमुभल वीथहोल्डका लागि दिइएका आई ५८९ आवेदनका आधारमा जारी गरिएका झण्डै ८ सय वर्क परमिटमा त्रुटी भएको युएससीआइएसले जनाएको छ ।

खासगरी युएससीआईएसका एसाइलम अफिसरबाट स्वीकृत भएका आवेदनका सन्दर्भमा जारी वर्क परमिटमा त्रुटी भएको जनाइएको छ । अमेरिकामा एसाइलम स्वीकृत भएको एकबर्षसम्म वर्क परमिटमा काम गरेपछिमात्र ग्रिनकार्डका लागि आवेदन दिन पाउने प्रावधान छ ।

गत अप्रिल र मे महिनामा युएससीआईएसले पठाएका वर्क परमिट कार्डमा त्यस्तो त्रुटी भएको हो । पहिलो र दोश्रो नाम राख्ने सन्दर्भमा त्रुटी भएको र त्रुटीपूर्ण वर्क परमिट प्राप्त गरेकाहरुलाई युएससीआईएसले पत्र पठाएर सुचित गर्ने जनाइएको छ । प्रभावित आवेदकहरुले सुचना पाएको २० दिनभित्र त्यस्ता त्रुटीपूर्ण वर्क परमिट युएससीआईएसमा फिर्ता पठाउन भनिएको छ ।

त्रुटीपूर्ण वर्क परमिटहरु युएससीआईएसको फिल्ड अफिसमा पनि बुझाउन सकिनेछ । यसरी फिर्ता दिइएको १५ दिनभित्र आवेदकलाई नयाँ वर्क परमिट पठाइने युएससीआईएसले जनाएको छ । यसरी वर्क परमिट फिर्ता बुझाउँदा आवेदकलाई दिइएको कामको अनुमतिमा कुनै असर नपर्ने र आई ९४ मार्फत एसाइलम स्वीकृत भएको प्रमाण देखाउन सकिने जनाइएको छ ।

खसोखास, बर्ष ७, पूर्णांक ३०१ बाट ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com