यिनै हुन् मदिराले ‘लठ्ठ’ भएर विमान चलाउन तम्सिने पाइलट


प्रकाशित मिति : श्रावण १४, २०७५ सोमबार

आइतबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ९ बजेर ४० मिनेटमा उड्ने तालिका थियो फ्लाइ दुबईको ‘एफजेड–७३७’ कल साइनको विमान । विमान उडाउने जिम्मेवारी थियो एम हुसेनको ।

जब विमानमा यात्राका लागि यात्रुहरु सम्पूर्ण सुरक्षाजाँच प्रक्रिया पार गरेर विमानमा पसेका मात्रै थिए, त्यति नै बेला पाइलट एम हुसेन पनि ककपिटतर्फ अघि बढे । तर, उनी सन्तुलित अवस्थामा थिएनन् ।

 

ह्वास्स मदिराको गन्ध थियो । चालक दलका अन्य सदस्यले हुसेनले मदिरा पिएको आशंकामा विमानस्थलका अधिकारीहरुलाई खबर गरे । उनलाई तत्काल विमानस्थलका प्रहरीले पक्राउ गरेर स्वास्थ्य परीक्षण गरायो । स्वास्थ्य परीक्षण रिपोर्टमा मदिरा सेवन गरेको भेटियो ।

त्यतिबेलासम्म उनी उनी आफूले मदिरा सेवन नगरेको र विमान उडाने भन्दै जिद्दी गरे । यद्यपी उनको विकल्पमा अन्य पाइलट नभएपछि दिनभर फ्लाई दुबईको उडान नै रोकिन पुग्यो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले फ्लाई दुबईबाटै आधिकारिक रूपमा आफ्ना विमान चालकको स्वास्थ्य परीक्षण गर्न अनुरोध आएपछि पाइलटको स्वास्थ्य जाँच गरिएको बताए । उनले सो विमानका अन्य कर्मचारीले आफ्ना पाइलट हुसेनले मदिरा खाएकोबारे बेथलाइजर मेसिन प्रयोग गरिदिन भनेकाले विमानस्थल प्रशासनले मापसे परीक्षण गर्दा मदिरा सेवन गरेको पाएपछि विमान उडान रद्द गरिएको बताए ।

विमानस्थल प्रशासनले पाइलटको गतिविधि एकदमै असामान्य पाएपछि आफूहरूले उनलाई नियन्त्रणमा लिएको र फ्लाई दुबईकै अन्य कर्मचारीको जिम्मा लगाएर छाडिएको बताएको छ ।

मातेका पाइलटलाई विमानस्थल प्रशासनले नियन्त्रणमा लिएपछि रोकिएको फ्लाई दुबईको विमान आइतबार साँझ अर्का पाइलट दुबईबाट मगाएर उडाइएको थियो । मापसे गरेका पाइलटको जबर्जस्ती उडान प्रकरणमा देखिएका सम्पूर्ण रिपोर्ट फ्लाई दुबईको केन्द्रीय कार्यालयमा पठाएको क्षत्रीले जानकारी दिए ।

उनले यस्तोे विमानस्थल प्रशासनले दिएको विवरणकै आधारमा फ्लाई दुबईले पाइलटलाई कानुनी कारबाही गर्ने बताए । फ्लाई दुबईले उनीमाथि कडा कारबाही गरिने जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com