नोटमा केमेट गरे जेल,मुद्रा सम्बन्धी कसुरमा कडा कारबाहीको व्यवस्था


प्रकाशित मिति : श्रावण १४, २०७५ सोमबार

नोटमा लेख्ने वा केर्ने गर्नु भएको छ ? यदि त्यसो हो भने जो कोहीले यस्तो बानीलाई तत्काल हटाउनु पर्ने भएको छ । अबदेखि नोटमा लेख्न वा केरमेट गर्न नपाइने भएको छ । नोटमा केरेको भेटिएमा जेल चलान हुनेछ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि .(संहिता) ऐन २०७४ र फौजदारी कसुर (सजाय) निर्धारण तथा कार्यान्वयन ऐन २०७४ भदौ १ गते देखि लागू हुँदैछ । सोही ऐनको परिच्छेद २२ मा मुद्रा सम्बन्धि कसुरको व्यवस्था गरिएको छ ।

परिच्छेद २२ को दफा २६३ मा बैंक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न र लेख्न नहुने भनिएको छ । अधिकार प्राप्त अधिकारीको आदेश बिना नोटमा लेख्न वा केरमेट गर्न, जलाउन लगायत कुनै पनि काम गर्न पाइने छैन ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सफा नोट राख्ने नीति लिएपनि कार्यान्वयनमा आउन नसकेपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यहि ऐन मार्फत नोटमा जथाभावी गर्नेलाई कडाइ गर्ने नीति लिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि कसैले ऐनमा उल्लेख भएअनुसार नोटमा केरमेट गर्न तथा जलाउन नहुने कुरालाई पालना गर्दैन भने त्यस्ता ब्यक्ति जेलसमेत चलान हुन सक्ने अवस्था सृजना गरेको छ । नोटमा केरमेट गर्ने व्यक्तिलाई ३ महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
यस्तै अक्षर, चिन्ह र आकार नै नचिनिने गरी झुत्रो भएको नोट जलाउने ब्यक्तिले बदनीयतपूर्वक कसैलाई दियो भने उसलाई तीन वर्ष जेल सजाय र तीस हजार जरिवाना हुने व्यवस्था यो ऐनले गरेको छ ।

नोटको प्रयोग गर्नेले जतन गरेर प्रयोग नगरिदिँदा नोटको आयु घट्ने गरेको मुद्रा व्यवस्थापन विभागका कार्यकारी प्रमुख लक्ष्मी प्रपन्न निरौलाले बताए । उनले यो ऐन लागु भएपछि कारबाही हुने डरले पनि नोटको प्रयोगमा आम नागरीक सचेत हुने र नोटको आयु बढ्ने तर्क गरे । २०७४ असोज ३० गते प्रमाणिकरण भएको यो ऐन यहि भदौ एक गतेदेखि लागू हुनेछ ।

पैसाको प्रयोग हरेक दिन कुनै न कुनै रुपमा हरेकले गरेकै हुन्छन् । तर प्रयोगमा ध्यानै नदिने, नपट्याइ जथाभावी राख्ने, डल्लो पार्ने, कागजका नोटमा केरमेट गर्ने जस्ता बानीले गर्दानै कागजी नोटको आयु छोट्टिने गर्छ ।

मुद्रा सम्बन्धी कसुरमा अन्य सजाय यस्तो छः

खोटा मुद्रा बनाए ५ देखि १० वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ । खोटा मुद्रा भनेको नक्कली मुद्रा हो । नक्कली मुद्रा हो भनेर जानी— जानी प्रयोग गर्छ र खोटो मुद्रा बनाउने सामान घरमा राख्छ, त्यस्ता सामानको मर्मत गर्छ भनेपनि त्यस्तो व्यक्तिलाई सात वर्ष कैद र सत्तरी हजार रुपैयाँ जरिवाना हुने व्यवस्था यस ऐनमा छ । यस्तै धातुको मुद्राको तौल घटाएर बनाए भने पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुन्छ ।

परिच्छेद २२ अनुसारको कसुरमा कसुर भएको थाहा पाएको मितिले एक वर्षसम्म उजुरी नगरेको अवस्थामा भने उजुरी नलाग्ने व्यवस्था यस ऐनमा छ । यस परिच्छेदको दफा २५६ देखि २६६ सम्म मुद्रा सम्बन्धी कसुरका सजायहरु उल्लेख छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com