सर्वोच्चमा आफैँ उपस्थित भएर लोकमानले दिए यस्तो जवाफ


प्रकाशित मिति : कार्तिक ३०, २०७३ मंगलबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफैँ उपस्थित भएर मंगलबार लिखित जवाफ पेस गरेका छन् । सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध पुर्‍याएकोमा कारबाही गर्न नपर्ने भए एक हप्ताभित्र आफैँ उपस्थित भएर लिखित जवाफ पेस गर्न कार्कीविरुद्ध आदेश दिएको थियो । सोही आदेशअनुरुप निलम्बित आयुक्त कार्कीले लिखित जवाफ पेस गरेका हुन् ।

कार्कीको लिखित जवाफमा आफूमाथि लागेको आरोप झुटो भएको उल्लेख छ । उनले आफू घटना भएको भनिएको दिन विदेशमा रहेको हुनाले त्यसमा आफ्नो संलग्नता कुनै संलग्नता नरहेको उल्लेख गरेका छन् । आफू सपरिवार अख्तियारकै परिसरभित्र बसोबास गर्दै आएको र पुरानोबानेश्वरस्थित घर भाडामा दिएकाले निजी निवासमा नभई सरकारी निवासमा यसअघि पनि सर्वोच्चका कर्मचारीले म्याद बुझाएकाले न्यायिक प्रक्रियामा आफूले कुनै अवरोध नगरेको लिखित जवाफमा भनिएको छ ।

‘तीन वर्षदेखि आफूसहित सपरिवार सरकारी निवसमा बसेको छु, भाडामा दिइएको घरमा म्याद तामेली गर्न किन परेको र सरकारी निवासमा गर्न किन नआएको ?’ कार्कीले लिखित जवाफमा प्रतिप्रश्न गरेका छन् । अख्तियार प्रमुखमा कार्कीको नियुक्ति विवादलाई फेरि सुनुवाइ गर्ने निर्णयको म्याद तामेली गर्दा अवरोध पुर्‍याएकोमा कारबाहीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

त्यसैगरी, अयोगका निलम्बित प्रमुख कार्कीको घरमा म्याद गर्न जाँदा अवरोध गरेको आरोप लागेका प्रहरी नायब निरीक्षक नहकुल गौतमले पनि आज सर्वोेच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् । गौतमले लिखित जवाफमा आफ्नो कुनै संलग्नता नरहेको, बाटो परेर मात्र आफू त्यहाँ गएको हुँदा आफू निर्दोष रहेकोे उल्लेख गरेका छन् । सोमबार पूर्वसचिव प्रमोद कार्कीले पनि लिखित जवाफ बुझाएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com