काे बन्ला विश्वकै उत्कृष्ट प्रशिक्षक ?


प्रकाशित मिति : श्रावण ९, २०७५ बुधबार

फिफाले विश्वका उत्कृष्ट प्रशिक्षकहरुको मनोनयन सार्वजनिक गरेको छ ।

आउँदो सेप्टेम्बर २४ मा हुने अवार्ड समारोहका लागि फिफाले ११ सदस्यीय नामावली सार्वजनिक गरेको हो ।

मनोनयनमा आफ्नो टिमलाई विश्वकपको सेमिफाइनलमा पुर्‍याउन सफल चार जना प्रशिक्षक परेका छन् । फ्रान्सलाई विश्वकप जिताएका प्रशिक्षक डिडियर डेसच्याम्प, क्रोएसियालाई उपविजेता बनाउन सफल प्रशिक्षक ज्लाट्काे डालिच, बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेज र इंग्ल्याण्डका ग्यारेथ साउथगेट छन्

यस्तै रसियालाई ऐतिहासिक उपलब्धि दिलाएका प्रशिक्षक स्टानिस्लाभ चेरचेसोभ पनि मनोनयनमा पर्न सफल भएका छन् ।

११ प्रशिक्षकको मनोनयनमा रियल मड्रिडलाई च्याम्पियन्स लिग जिताएका जिनेदिन जिदान, बार्सिलोनालाई ला लिगा जिताएका अर्नेस्टो भाल्भार्डे, म्यान्चेष्टर सिटीलाई प्रिमियर लिग जिताएका पेप ग्वार्डिओला, युभेन्टसलाई सिरी ए उपाधि जिताएका मास्सिमिलानो एलेग्री, लिभरपुलका प्रशिक्षक जर्जेन क्लोप र एथलेटिको मड्रिडका डिएगो सिमोनी पनि छन् ।

फिफाले महिला तर्फको मनोनय सूची पनि सार्वजनिक गरेको छ । चेल्सीको महिला टिमलाई एफए कप र सुपर लिग जिताएकी प्रशिक्षक एम्मा हाएस मनोनयनमा परेकी छिन् ।

यस्तै उल्फस्बर्गका स्टेफेन लेर्च, पोर्टल्याण्ड थर्नसका मार्क पार्सनस, ओलम्पिक लियोनका रेनाल्ड पेद्रोस, अष्ट्रेलिया राष्ट्रिय टिमका एलेन स्टासिक, जापान राष्ट्रिय टिमकी असाको टाकाकुरा, ब्राजिल राष्ट्रिय टिमका भाडाओ, स्पेन राष्ट्रिय टिमका जर्ज भिल्दा, स्वीट्जरल्याण्डकी मार्टिना भोस टेक्लेनबर्ग र नेदरल्याण्ड राष्ट्रिय टिमकी सारिना विगम्यान परेका छन् ।

उत्कृष्ट प्रशिक्षकको विजेता भोटिङका आधरमा घोषणा गरिनेछ । फिफाले अगष्ट १० सम्म भोटिङ खुल्ला रहने जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com