टिप्परले ब्याक गरेर मान्छे मारेपछि बनेपा तनावग्रस्त


प्रकाशित मिति : श्रावण ७, २०७५ सोमबार

चारदोबाटोमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गए पछि बनेपा तनावग्रस्त बनेको छ ।

बा २ क ३९३४ नम्बरको टिप्परले बा ८३ प ५०७७ नं को मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो ।

प्रत्यक्षदर्शीका अनुसार पहिला ठक्कर दिँदा मोटरसाइकलबाट लडेर सामान्य घाइते उनलाई पुनः टिप्परले किचेको थियो ।

चारदोबाटोमा मोबाइल पसल सञ्चालन गर्दै आएका मधुर दाहालका अनुसार टिप्पर चालकले आफ्नो साइडको ढोका खोलेर हेरेर पुनः किचेको बताउनुभयो । ‘पहिला टिप्परले ठक्कर दियो, सामान्य लडेका मोटरसाइकल चालकलाई टिप्पर चालकले आफ्नो साइडको ढोका खोलेर किचिन्छ कि किचिदैन भन्दै हेरेर पुनः किच्यो’, दाहालले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी महेन्द्र मरासैनीले मृतकको नाम नखुलेको जानकारी दिनुभयो ।

मृतकलाई शीर मेमोरियल अस्पतालमा राखिएको छ । आक्रोशित भिडले ट्रिपर चालकलाई कुटपिट गरेका छन भने टिप्परमा आगजनी गरेका छन् ।

टिप्पर चालक नुवाकोट जिल्लाको बिदुर –१, का २९ वर्षीय सुधन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटना बढ्यो भन्दै उपत्यकामा दिउँसो टिप्पर चल्न नदिने सरकारको निर्णयपछि त्यसको प्रत्यक्ष असर काभ्रेमा परेको छ । काभ्रेमा पनि दिउँसोको समयमा चल्न नदिने माग स्थानीयले गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com