चीनलाई ‘एसियाको हात्ती, अमेरिकाको दुस्मन’ भन्ने ट्रम्प र सीबीच ‘चाँडै भेटघाट


प्रकाशित मिति : कार्तिक २९, २०७३ सोमबार

चिनियाँ राष्ट्रपति सी जिनपिङ र नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भएको टेलिफोन कुराकानीमा दुबैजनाबीच निकट भविष्यमै भेटवार्ता हुने प्रतिबद्धता भएको चिनियाँ राष्ट्रिय टेलिभिजन प्रसारण ‘सीसीटीभी’ले जनाएको छ । मुख्यतयाः यस भेटघाटमा दुई शक्तिराष्ट्रबीच आपसी सम्बन्धको विस्तार र विकासका सम्बन्धमा छलफल हुने जनाइएको छ ।

नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचन अभियानका क्रममा असंस्कृतरुपले ‘एसियाको हात्ती, अमेरिकाको दुस्मन’ इत्यादिजस्ता तीता शब्दबाट चीनउपर लान्छना लगाउँदै अमेरिकाले चीनबाट आयात गर्ने वस्तुमा ४५ प्रतिशतसम्म भन्सार तथा कर महसुल लगाउने चेतावनी दिएका थिए । निर्वाचनअघिका कुराहरु बिर्सिइ विश्व अर्थतन्त्रका दुई सम्पन्न राष्ट्रबीच सहयोग आदान–प्रदान हुने थुप्रै सम्भावना रहेकोसमेत दुई नेताबीच सोमबार भएको टेलिफोन वार्तामा चिनियाँ राष्ट्रपति सीले बताएको सीसीटीभीले उल्लेख गरेको छ ।

विश्वको अन्य देशका तुलनामा दुई देशबीच उच्च आर्थिक कारोबार हुने गरेकाले उच्च सहकार्यको आवश्यता रहेको, विद्यमान द्विपक्षीय सम्बन्धलाई अझै दर्बिलो पार्नुपर्ने तथा आपसी हितका धेरै मामिलामा उच्चस्तरीय छलफल गर्नका लागि अतिशीघ्र भेटवार्ता गर्न दुई नेताबीच सहमति भएको राष्ट्रपति सीले बताएको भनी सीसीटीभीले जनाएको छ ।

सीसीटीभीले उल्लेख गरेअनुसार सो टेलिफोन कुराकानीमा नवनिर्वाचित राष्ट्रपति ट्रम्पले अमेरिकाका लागि चीन एक विशाल महत्व बोकेको राष्ट्र भएकाले चीनसँग सहकार्य गर्न आफू सदैव इच्छुक रहेको, चीन–अमेरिका आपसी सम्बन्ध र दुबैपक्षको जित हुने रणनीतिमा विश्वास राख्ने पनि बताएका छन् । निर्वाचन अभियानका क्रममा चीनउपर अतिशयोक्ति गरी आलोचना गर्ने ट्रम्प नै राष्ट्रपति पदमा आएपछि दुई देशबीच मडारिन लागेको अनिश्चिततालाई यस टेलिफोन वार्ता र शीघ्र भेटघाट, छलफल गर्ने प्रतिबद्धताले अलिकति भएपनि सकारात्मक संकेत देखाएको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com