दुई लाख ७५ हजारको जग्गालाई दुई करोड ऋण


प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार

नेपाल बैंक लिमिटेडले दुई लाख ७५ हजार सरकारी मूल्यांकन भएको जग्गालाई मिलमतोमा करिब २ करोड ऋण प्रवाह गरेको छ।

बैंकको काठमाडौं शाखाले काठमाडौं बाडभन्ज्याङमा रहेका ५ कित्ता जग्गाको जम्मा दुई लाख ७५ हजार मूल्यांकन भएकोमा शाखा प्रबन्धकसहितको मिलमतोमा तीन जना ऋणीका नाममा एक करोड ९२ लाख रुपैयाँ ऋण प्रवाह गरेको हो।

केन्द्रीय अनुसन्धान ब्युरोले घटनाको २१ वर्षपछि मुख्य ऋणी गेहेन्द्रबहादुर मल्ललाई शुक्रबार पक्राउ गरेपछि घटनाको खुलासा भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा मुद्दा चलाएका मल्ल करिब एक वर्षदेखि फरार थिए।

आयोगले श्रणी मल्लसहित १९ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेषको फैसलाविरुद्ध सर्वोच्च गएका मल्लको फैसला सदर भएको थियो। मल्ल एक करोड चार लाख ७५ हजार जरिवाना नतिरी फरार थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ब्युरोका अनुसार बैंकका कर्मचारीसँगको मिलमतोमा वि.सं. २०५४ मा यो समूहले बैंकबाट पटक–पटक गरी दुई करोड ९५ लाख रुपैयाँ रकम निकासा गरेको हो। सुरुको मूल्यांकनपछि पनि व्यवसाय देखाएर थप ऋण प्रवाह भएको थियो।

बैंकका अधिकारीहरु नायब महाप्रबन्धक शेरबहादुर थापा, सहायक मुख्य प्रवन्धक उत्तमकुमार नेपाल, विभागीय प्रबन्धक पुरुषोत्तमप्रसाद श्रेष्ठ, प्रदीपकुमार न्यौपाने, मूल्यांकनकर्ता इन्जिनियर रमेश मानन्धरसहितको समूहले ऋण प्रवाह गरेको थियो।
विश्वप्रिया मल्ल, गेहेन्द्रबहादुर मल्ल र राम खड्काका नाममा प्रवाह भएको ऋण समयमा भुक्तान नभएपछि नेपाल राष्ट्र बैंकको आग्रहमा अख्तियारले अनुसन्धान थालेको थियो।

पक्राउ परेका मल्ललाई ब्यूरोले सजाय भुक्तानका लागि सदरखोर डिल्लीबजार चलान गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com