महोत्तरीमा गाँजा तस्कर र प्रहरीबीच दोहरो भिडन्त


प्रकाशित मिति : श्रावण २, २०७५ बुधबार

महोत्तरीमा प्रहरी र गाँजा तस्करबीच मंगलबार मध्यराति दोहारो भिडन्त भएको छ।

एकडारा गाउँपालिका ३ अजमरपटिबाट पर्सा हुँदै भारततर्फ गाँजा तस्करी गरि लैजान लागेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र बहादुर खडकाको नेतृत्वमा खटिएको प्रहरी टोली र गाँजा तस्करहरूबीच मंगलबार राति साढे ११ बजेको समयमा दोहरो भिडन्त भएको हो।

डिएसपी खडका नेतृत्वको प्रहरी टोली र तस्करहरुबीच एकडारा गाउँपालिका ३ अजरमटि पर्सा सडक खण्डमा जम्काभेट भएपछि दोहरो भिडन्त शुरु भएको थियो।

प्रहरीलाई देखे लगतै १५-१६ जनाको संख्यामा रहेका गाँजा तस्करहरुको तर्फबाट पहिलो ४ राउण्ड फायर भएपछि प्रहरीले पनि जवाफी कारवाहीमा फायर गरेका थिए । प्रहरीको तर्फबाट चार राउण्ड स्यानो पेस्तोल र २ राउण्ड एसएलआरको गोली फायर भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीले हवाई फायरिङ्ग गरेपछि तस्करहरु ५ वटा पोकामा प्याकिङ्ग गरिएको ३३ किलो गाँजा छाडेर फरार भएका थिए । फायरिङ्गमा कुनै मानवीय क्षति भने नभएको डिएसपी खडकाले बताएका छन्।‘गोप्य सूचनाको आधारमा हामी १५ जना प्रहरी टोली लिएर घटना स्थल पुगे लगतै तस्करहरूको तर्फबाट फायर भएको थियो , त्यस पछि जवाफमा हामीले पनि ६ राउण्ड फायर गर्नुपर्यो । ’ डिएसपी खडकाले भने ‘ प्रहरीले फायर खोलेपछि तस्करहरू पेस्तोल पडकाउँदै ५ वटा पोकामा रहेको गाँजा छाडेर फरार भएका थिए।’

घटना स्थल नजिकै फुलवारी रहेको र राति अध्याँरो भएकोले मौका छोपी तस्करहरू फायर गर्दै केही गाँजा लिएर नजिकै रहेको थरुवाही नैन्ही वोर्डर हुँदै भारततर्फ भाग्न सफल भएका हुन् ।प्रहरी र तस्करहरूबीच करिब २० मिनेट जति दोहरो भिडन्त भएको थियो । बरामद भएको गाँजाको प्याकिङ्ग गर्ने तरिका र गाँजाको गुणस्तर राम्रो खाले भएकाले सो गाँजा महोत्तरीमै उत्पादित नभई बाहिर जिल्लाबाट ल्याएर महोत्तरी हुँदै भारततर्फ पठाउन लागिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com