मोदीको भ्रमण व्यवस्थापनमा कति भयो खर्च ?


प्रकाशित मिति : श्रावण १, २०७५ मंगलबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउँदा भएको व्यवस्थापन खर्चको बिल सार्वजनिक हुन थालेको छ।जनकपुर उपमहानगरपालिकाले मोदी भ्रमणमा १ करोड ८४ लाख ९८ हजार ५ सय ७९ रुपैयाँ खर्च भएको बिल तयार गरेको छ। उपमहानगरपालिका कार्यालयले यही असार ७ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई यो रकम निकासाका लागि पत्राचार गरेको पाइएको छ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश ढुंगानाले मोदीको भ्रमण सिलसिलामा १ करोडभन्दा बढी खर्च भएको भन्दै उक्त रकम निकासा गरिदिन मन्त्रालयलाई अनुरोध गरिएको बताए। निर्माण तथा मर्मत (सडक एवं नाला)मा ७५ लाख ३४ हजार, मिथिला पेन्टिङ, रंगरोगन, चित्रकलासमेतमा ६७ लाख १० हजार खर्च भएको देखाइएको छ। नागरिक अभिनन्दन, सौन्दर्यीकरण, प्रचारप्रसार, सरसफाइ, पारि श्रमिक, विद्युतीकरण, झन्डा तथा सञ्चालन खर्चसमेत गरी ४२ लाख ५३ हजार खर्चिएको जनाइएको छ।

उक्त रकम हालसम्म निकासा नभएको उपमेयर रीता झाले बताइन्। ‘भारतीय प्रधानमन्त्रीको भ्रमणपूर्व नै संघीय सरकारका तर्फबाट पत्र पठाई हाल उपमहानगरपालिकाकै स्रोतबाट व्यवस्थापन गर्न र पछि संघीय सरकारले रकम निकासा दिने भनिएको थियो’, उपमेयर झाले भनिन्, ‘तर, हाल आएर निकासा माग्दा ढिलासुस्ती गरिएको छ।’

मोदी भ्रमण व्यवस्थापनका नाममा स्थानीय सरकारबाट अनियमितता भएको आरोपसमेत लाग्दै आएको छ। स्थानीय तहसँग मिलेर भ्रमण व्यवस्थापन गरेको अवस्थामा प्रदेश सरकारले एकै शीर्षकमा खर्च गरेको र सोही शीर्षकमा स्थानीय तहले पनि खर्च गरेको भन्दै दोहोरो रकम माग गरेको देखिन्छ। मोदीको स्वागत-सत्कारमा प्रदेश सरकारले गरेका खर्चको यथार्थ विवरण उपलब्ध गराउन प्रदेशसभा बैठकमा सांसदले माग गरिसकेका छन् तर खर्च पारदर्शी भएको छैन। प्रदेश सरकारका मन्त्रीले खर्च विवरण संकलन भइरहेको बताउँदै आएका छन्।

मोदीको स्वागतका लागि बाह्रबिघाबाट जानकी मन्दिरसम्म ५ सय मिटर सडक अस्थायी रूपमा कालोपत्रे गरिएको थियो। त्यसैगरी, बाह्रबिघा मैदानको चारैतिर केसरिया रंगले रंगाएर बाहिर मिथिला चित्रकला निर्माण गराइएको थियो। मोदीको नागरिक अभिनन्दनको थलो बाह्रबिघा मैदानलाई लाखौं खर्चिएर ग्राभेल हाली पुरिएको थियो भने खाल्डा पुरेर मञ्च बनाइएको थियो। तर, त्यसको दुई महिना नबित्दै बाह्रबिघा मैदान पानी जमेर पोखरीमा परिणत भएको छ। उपमहानगरपालिका र प्रदेश सरकारले मैदानबाट पानीको निकास गरी यसलाई सफा बनाउन ध्यान दिएका छैनन्।

फोहोर उठाउन ट्र्याक्टर छैन, मेयरलाई करोडको गाडीट्र्याक्टर नभएर फोहोर उठाउन बिजोग भएका बेला जनकपुर उपमहानगरपालिकाले मेयरका लागि १ करोडभन्दा बढी मूल्यको गाडी खरिद गरेको छ। उपमहानगरपालिकालाई समृद्ध बनाउन प्रभावकारी योजना ल्याउनुको साटो १ करोड ३८ लाखको गाडी खरिद गरेको भन्दै आलोचना भएको छ।

कार्यभार सम्हालेदेखि मेयर लालकिशोर साहले कार्यालयमा उपलब्ध गाडी चढ्दै आएका थिए तापनि उपपमहानगरपालिकाको रकमबाट फोर्ड कम्पनीको महँगो गाडी खरिद गरिएको हो। मेयरले जनकपुरस्थित सोरुमको मध्यस्थतामा राजधानीको थापाथलीबाट एक साताअघि डेनोभर ब्रान्डको गाडी खरिद गरेको उपमहानगरपालिकाको लेखा शाखाले जनाएको छ। उनले प्रयोग गर्दै आएको महिन्द्रा कम्पनीको गाडी उपमेयर रीता झालाई प्रयोग गर्न दिइएको छ।

महँगो गाडी खरिदका विषयमा साहकै पार्टी राजपामा आलोचना हुन थालेको छ। राजपाका जिल्ला नेता धीरेन्द्रबहादुर सिंहले बिनाटेन्डर गाडी खरिद गरी नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका छन्। मेयरको यस्तो क्रियाकलापले विकास र समृद्धिको नारा भाषणमा सीमित हुने उनको जिकिर छ।

उनका अनुसार विलासी गाडीको रकमबाट एक दर्जन ट्र्याक्टर खरिद गर्न सकिन्थ्यो। त्यसबाट नगरको सफाइमा सहयोग पुग्थ्यो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com