उपत्यकाबाट हतियार खरिद बिक्रीमा संलग्न गिरोहका ५ जना पक्राउ


प्रकाशित मिति : असार ३२, २०७५ सोमबार

काठमाडौं र ललितपुर प्रहरीको संयुक्त टोलीले हातहतियार तथा खरिद बिक्री गर्ने गिरोहमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले आइतबार ३ जनालाई पक्राउ गरेलगत्तै महानगरीय प्रहरी परिसर ललितपुरले सोही गिरोहमा संलग्न २ जनालाई सोमबार पक्राउ गरेको हो ।

प्रहरी टोलीले आइतबार ललितपुर महानगरपालिका–१४ स्थित नखिपोटबाट जर्मनीमा बनेको एक थान पेस्तोल र ५ राउन्ड गोलीसहित ३ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा ताप्लेजुङ थितम्बु घर भई ललितपुरको नख्खिपोट बस्ने ३६ वर्षीय हेमराज पौडेल, रामेछाप डडुवा गाउँपालिका १ स्थायी घर भई हाल ललितपुरको नख्खिपोटमै बस्ने ३० वर्षीय आँशुराम मोक्तान र रामेछापको लिखु गाउँपालिका १ स्थायी घर भई काठमाडौं घट्टेकुलो बस्ने २४ वर्षीय कृष्णबहादुर जोगी भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि गरेको अनुसन्धानका आधारमा ललितपुर प्रहरीले सोमबार थप दुई जनालाई पक्राउ गर्न सफल भएको जनाएको छ ।

सोमबार पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१५ खुमलटार स्थायी घर भई तिखोदेवल बस्ने ४५ वर्षीय रोशन सुब्बा लिम्बु र नुवाकोट तारकेश्वर–१ स्थायी घर भई हाल ललितपुर महानगरपालिकास्थित मंगलबजार बस्ने ३८ वर्षीय रामचन्द्र अधिकारी रहेका छन् ।

पक्राउ परेका दुई जनाबाट २ थान पेस्तोल, त्यसमा प्रयोग हुने ३ थान म्यागजिन, ५६ राउन्ड गोली, २ थान खुकरी र ६ थान चक्कु बरामद गरिएको प्रहरी प्रवक्ता नरेन्द्र चन्दद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । घटनाबारे थप अनुसनधान भैरहेका प्रहरीले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com