आफ्नै आमाले दिइन् मृगौला, यसरी भयो छोरा सुरेशको पुर्नजन्म


प्रकाशित मिति : असार २२, २०७५ शुक्रबार

केपिलासगढी गाउँपालिका–३ बास्पानीका २८ वर्षीय मृगौलापीडित सुरेश दर्जीले पुनः जन्म पाउनुभएको छ । डेढ वर्षअघिदेखि मृगौला रोगले पीडित भएर थलिनुभएका सुरेशलाई बिहीबार उहाँकी ६४ वर्षीया आमा धनकुमारी दमाईले आफ्नो मृगौला उपलब्ध गराएर गरिएको मृगौला प्रत्यारोपन सफल भएपछि सुरेशले पुनः जन्म पाउनुभएको हो ।

भक्तपुरस्थित अङ्ग प्रत्यारोपन केन्द्रका डाक्टर पुकार श्रेष्ठ लगायत स्वास्थ्यकर्मीको टोलीले सुरेशको मृगौला सफल प्रत्यारोपन गरेको प्रदेशसभा सदस्य राजन राईले बताउनुभयो । “कमजोर आर्थिक अवस्थाका सुरेश दर्जीले बिहीबारबाट पुनः जन्म पाएको छ ।” उहाँले भन्नुभयो, “यसमा विशेष धन्यवादका पात्र डाक्टर पुकार श्रेष्ठ लगायत उहाँका टोली हुनुहुन्छ ।”

सरेश दर्जी लगायत उहाँका परिवार प्रदेशसभा सदस्य राईको पारिवारिक सदस्य जस्तै भएर गाउँमा बस्दै आएका छन् । उनीहरु एक आपसका सहयोगी हुनुहुन्छ ।सानै उमेरमा बुबाले छाडेपछि प्रदेशसभा सदस्य राईको शरणमा रहनुभएका सुरेश र उहाँका आमाको स्वास्थ्य अवस्था मृगौला प्रत्यारोपनपछि पनि ठीक रहेको डाक्टर श्रेष्ठले बताउनुभएको छ ।

“उनीहरु दुवैको अवस्था अहिलेसम्म ठीक छ ।” उहाँले भन्नुभयो, “उनीहरुको घाउ ठीक हुनासाथ डिस्चार्ज गरेर घर पठाइनेछ ।” मृगौला रोगी सुरेशको उपचारमा अहिलेसम्म करिब सात लाख खर्च भएको प्रदेशसभा सदस्य राईले बताउनुभयो । “सुरेशको उपचारमा हामीले कसैसँग सहयोग मागेनौं ।”

उहाँले भन्नुभयो, “परिवारको सदस्य तथा केही इच्छुक दाताले स्वतस्फूर्त सहयोग गर्नुभएको छ । उहाँहरु सबैलाई हार्दिक धन्यवाद !” सुरेशका बुबा टेकबहादुर दमाई अहिलेसम्म सम्पर्क बिहिन रहेको स्थानीयवासीले बताएका छन् । सुरेशका दाजु दिलबहादुर दमाई फरक क्षमताका हुनुहुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com