डा. केसीकाे आईसीयूमै अनशन जारी


प्रकाशित मिति : असार २२, २०७५ शुक्रबार

अनशनको छैटौं दिन डा. गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) को ‘आईसीयू’ मा राखिएको छ ।

उनले आईसीयूमै अनशन जारी राखेका छन् । पाँच दिनसम्म कभर्डहलमा अनशन बसेका उनलाई बुधबार उपचारका लागि अस्पताल ल्याइएको थियो ।

उपचारमा संलग्न चिकित्सकीय टोलीका संयोजक डा. प्रवीण गिरीका अनुसार डा. केसीको स्वास्थ्य स्थिर छ । ‘उहाँले सघन उपचारकक्षमै अनशन जारी राख्नुभएको छ,’ गिरीले भने, ‘हामीले उपचार पनि गरिरहेका छौं ।’ अस्पतालमा सघन उपचारकक्ष नभए पनि सोहीसरहको सेवासुविधा व्यवस्था गरी डा. केसीको उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ ।

मेडिकल डाइरेक्टर डा. पूजन रोकायाले उनको उपचारमा एक डाक्टरसहित स्वास्थ्यकर्मी खटाइएको बताए । ‘अब जतिसक्दो छिटो आईसीयू सेवा सञ्चालन गर्छौं,’ उनले भने, ‘उहाँको स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी उपचारको प्रबन्ध मिलाइरहेका छौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारी चिकित्सकसँग उपचार गर्न मानेनन्

डा. केसीले सरकारले पठाएका चिकित्सकसँग उपचार गराउन अस्वीकार गरेका छन् । स्वास्थ्य मन्त्रालयले वीर अस्पतालका वरिष्ठ फिजिसियन डा.जीवन थापा र एनेस्थेसिया एन्ड क्रिटिकल केयर स्पेसलिस्ट डा.सुवास रेग्मीलाई केसीको उपचार गर्न जुम्ला पठाएको छ ।

वीर अस्पतालका निर्देशक डा.भूपेन्द्र बस्नेतले दुवै चिकित्सक जुम्ला पुगिसकेको बताए । तर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पूजन रोकायाले डा. केसीले सरकारी टोलीसँग उपचार गर्न नमानेको बताए । ‘यहीँका चिकित्सकको टोलीमा मलाई विश्वास छ ।
तपाईंहरूको आवश्यकता छैन, फर्के हुन्छ भनेर सरले सरकारी चिकित्सा टोलीलाई भन्नुभयो,’ रोकायाले भने । हाल केसीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले अन्य संक्रमणको सम्भावनासमेत बढेको उनले बताए । आमरण अनशनको छैटौं दिन बिहीबार उनको टोटल ब्लड काउन्ट तीन हजारमा झरेको छ भने किटोन पोजेटिभ देखिएको छ ।

यसैबीच डाक्टर्स सोसाइटी अफ नेपालले केसीको स्वास्थ्य गम्भीर रहेको भन्दै सरकारलाई जिम्मेवार हुन अपिल गरेको छ । सोसाइटीले डा.केसीको माग पूरा नभए कडा कदम चाल्न बाध्य हुनेसमेत जनाएको छ ।

जीवनरक्षा गर्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले डा. केसीको स्वास्थ्य अवस्थाप्रति ध्यान दिन सरकारलाई आग्रह गरेको छ । आयोगका तर्फबाट प्रवक्ता मोहना अन्सारीद्वारा बिहीबार जारी विज्ञप्तिमा स्वास्थ्योपचारजस्तो आधारभूत मानव अधिकारका विषयमा उठाइएका मागप्रति संवेदनशील भई केसीसँग यसअघि भएका सम्झौता कार्यान्वयनको पहल गर्न माग गरिएको छ । आयोगले सर्वसाधारणको स्वास्थ्य सेवा पाउने हकप्रति सचेत रहँदै कुनै पनि पक्षबाट कतै पनि अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नगर्न/नगराउनसमेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । केसी असार १६ गतेदेखि आमरण अनशनमा छन् ।

जुम्ला पुगे तीन सांसद

डा. केसीलाई समर्थन गर्न कांग्रेसका तीन सांसद जुम्ला पुगेका छन् । बिहीबार दिउँसो जुम्ला पुगेका प्रकाश रसाइली स्नेही, रंगमती शाही र दीनबन्धु श्रेष्ठले डा. केसीलाई भेटी उनको अवस्थाबारे जानकारी लिएका छन् । सांसद रसाइलीले गरिब विद्यार्थीका लागि र दुर्गम क्षेत्रका लागि आवाज उठाएकाले डा. केसीको आन्दोलनमा समर्थन जनाउन जुम्ला पुगेको बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com