डा. केसीको उपचारमा प्रशासन बाधक, मेडिकल टोली फिर्ता


प्रकाशित मिति : असार २०, २०७५ बुधबार

जुम्ला। डा. गोविन्द केसीको उपचारका लागि प्रशासनले अवरोध गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट अनशनस्थल पुगेको मेडिकल टोली फिर्ता भएको छ। स्वास्थ्य अवस्था खस्कँदै गएका केसीको उपचारमा स्थानीय प्रशासनले सहज वातावरण नबनाउँदा चिकित्सकको टोली फिर्ता भएको हो। अनशनस्थल उपचारका लागि अनुकूल नभएको चिकित्सकको भनाइ छ।

प्रहरीले शनिबार केसीलाई पक्राउ गरी कभर्ड हलमा लगेर राखेपछि उनी त्यहीं आमरण अनशन बसेका छन्। प्रशासनले उपचारका लागि केसीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न मानेको छैन।

चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा संसद्बाट पारित गर्नुपर्नेलगायत माग राखेर शनिबारदेखि अनशन बसेका केसीका स्वास्थ्य अवस्था खस्किँदै गएको छ। सरकारले अध्यादेशका कडा प्रावधान हटाएर प्रतिस्थापन विधेयक संसद् सचिवालयमा दर्ता गराएपछि केसीले त्यसलाई सच्याएर पुरानै स्वरुपमा पारित गर्नुपर्ने माग राखेका छन्। प्रमुख विपक्षी नेपाली कांग्रेसले पनि असहमति जनाएपछि सरकारले प्रतिस्थापन विधेयक फिर्ता लिएको छ। याे खबर अाजकाे नागरिकमा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com