कलंकीको ‘अण्डरपास’ साउन पहिलो सातादेखि सञ्चालन हुने


प्रकाशित मिति : असार १९, २०७५ मंगलबार

पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ साउन पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ ।

चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको हो ।

कलंकी चोकमा निर्माण भइरहेको ८०० मिटर लामो चार लेनको अण्डरपासको १५ मिटर वाल ‘फिनिसिङ’ र ४०० मिटर कालोपत्र गर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

साउन पहिलो सातासम्म सबै काम सकेर हस्तान्तरणको तयारी भएको आयोजना प्रमुख प्रकाश भण्डारीले जानकारी दिए । कोटेश्वर–बल्खुपुल–कलंकी १० दशमलव चार किमी सडकलाई आठ लेनमा विस्तार गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ । नौ किमीको काम सम्पन्न भई एक दशमलव चार किमीको काम मात्र बाँकी रहेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चिनियाँ युआन रु २१ करोड २० लाख अर्थात् नेपाली करिब रु पाँच अर्ब अनुदान सहयोगमा चक्रपथको पहिलो खण्ड विस्तारको काम भएको हो । निर्माण व्यवसायीलाई चीनले नै रकम उपलब्ध गराउने आयोजनाले जनाएको छ ।

दोस्रो चरणमा कलंकीबाट महाराजगञ्जसम्म आठ दशमलव पाँच किमी सडक विस्तारका लागि गृहकार्य शुरु भएको सडक विभागले जनाएको छ । यो खण्डको सडक किनारका विद्युत्, टेलिफोन र खानेपानीका तार एवं पाइपलगायत अस्थायी संरचना हटाउने काम शुरु गरिएको विभागका प्रवक्ता मुक्ति गौतमले बताए ।

साउन अन्तिमसम्म यो खण्डको पनि प्रारम्भिक डिजाइन तयार हुने विभागले जनाएको छ । चीन सरकारले नै डिजाइन तयारी गरिरहेको जनाइएको छ । त्यसलगत्तै काम शुरु हुनेछ । यो खण्ड विस्तारका लागि पनि चीनले नै अनुदान सहयोग गर्नेछ । २८ किमी चक्रपथमध्ये महाराजगञ्ज–कोटेश्वर खण्डका विषयमा भने कुनै प्रक्रिया अघि बढेको छैन ।

यसअघि आयोजनाले असार दोस्रो सातामै अण्डरपास सञ्चालनमा ल्याउने भने पनि फिनिसिङ र कालोपत्रको काम नसकिएकाले ढिलाइ भएको हो ।

रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com