यसकारण ट्रम्पले जिते, हिलारीले हारिन्


प्रकाशित मिति : कार्तिक २४, २०७३ बुधबार

 -कृसु क्षेत्री

विश्वले नजर लगाएको र व्यग्रतापूर्वक प्रतीक्षा गरेको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा अप्रत्यासित रुपमा अनुदारवादी नेता डोनाल्ड ट्रम्पले विजय गरेपछि नेपाल तथा अन्य मुलुकका धेरै साथीहरुले यस विषयमा जिज्ञाशा राख्नु भयो ।

हुन पनि अमेरिकाका अधिकांश मिडिया लगायत संसारभरिका मिडियाहरुले डेमोक्रेटिक पार्टीका उम्मेद्वार हिलारी क्लिन्टनले सहज जित्ने पूर्वानुमानका बाबजूद पनि डोनाल्ड ट्रम्पले अत्यधिक बहुमतका साथ निर्वाचन आफ्नो पक्षमा पार्नु कल्पनातीत थिएन । तर यसका लागि धेरै वर्षदेखि अमेरिकनको मानसिकताले काम गरेको थियो ।

निर्वाचनको दिन र त्यसभन्दा अघिल्ला घटना परिघटनाहरुलाई नजिकबाट आफैंले नियालेको र अनुभूति गरे पछि यस पटक डोनाल्ड ट्रम्प विजयी हुन र हिलारी क्लिन्टन पराजित हुनमा निम्न कारण रहेको मलाई महसुस भएको छ ।

१ – अमेरिकनहरुको श्वेत साम्राज्यको मानसिकताः अमेरिकाभरि ६३ प्रतिशतको संख्यामा रहेका अमेरिकनहरु अमेरिकामा आफ्नो प्रभुसत्ताको खोजीमै थिए । लामो समयदेखि त्यस्तो उम्मेद्वार जसले गोरा अमेरिकनहरुको बारेमा कुरा उठाओस् भन्ने चाहना मूर्तरुप नलिएको सन्दर्भमा यो पटक डोनाल्ड ट्रम्पले उठाएको यो सशक्त मुद्दामा अधिकांश अमेरिकन आकर्षित भएको देखिन्छ । गोराहरु शासनमा आउन चाहना राख्ने काला मतदाताहरु मतदानमा अनाकर्षित देखिनु पराजयको एक प्रमुख कारण बन्यो ।

२ – राष्ट्रवादी विचारः डोनाल्ड ट्रम्पले मेक अमेरिका ग्रेट अगेन नाराका साथ आप्रवासी तथा आतंकवादी गतिविधि नियन्त्रण गर्ने जुन नारा उठाए त्यसप्रति अमेरिकनहरु आकर्षित भएको देखिन्छ ।

३- महिलाप्रति अविश्वासः पहिलोपल्ट अमेरिकाको इतिहासमा महिला सर्वोच्च पदमा पुग्ने अवस्थामा पनि अमेरिकनहरु यसप्रति पूर्ण अनिच्छुक देखिए । स्वयम् मसँग कुरा गर्दा धेरै अमेरिकनहरु विशेषतः महिला मतदाता नै अमेरिकामा महिला राष्ट्रपति बनाउनु नहुने धारणा व्यक्त गरेको पाइयो ।

४ – परिवर्तनको चाहनाः अमेरिकनहरुले प्रायसः दुई कार्यकाल पछि नयाँ राजनैतिक दलको नेतृत्वमा सरकारको अपेक्षा गरेको देखिन्छ । वर्तमान राष्ट्रपति ओवामाको दुई कार्यकाल सफलतापूर्वक सम्पन्न भए पछि अमेरिकनहरु तेस्रो कार्यकालका लागि डेमोक्रेटिक पार्टीको उम्मेद्वारको पक्षमा देखिएका थिएनन् ।

५- अलोकप्रिय हिलारीः यस पटक मैले पहिले नै भनेको थिएँ दुई अयोग्यहरुबीच निर्वाचन । हिलारी आफ्नो विगतको कारण अमेरिकन मतदाताबीच अत्यन्त अलोकप्रिय थिइन् । डेमोक्रेटिक पार्टीका अत्यन्त लोकप्रिय नेता समाजवाद धारणा राख्ने बर्नी स्याण्डर्स पाखा लागेपछि अमेरिकनहरु हिलारीको विकल्पको खोजीमा थिए । हिलारीको इमेल काण्ड, क्लिन्टन फाउन्डेशन काण्ड तथा बिल क्लिन्टनका विगतका गतिविधि सबै यस पटक जनताबीच निराशा उत्पन्न गर्ने माध्यम बने ।

६- बर्नी स्याण्डर्सका मतदाताको असहयोगः डेमोक्रेटिक पार्टीका लोकप्रिय नेता बर्नी स्याण्डर्स उम्मेद्वारीमा हारेपछि उनका अत्यन्त नजिकका सहयोगी तथा मतदाताको क्लिन्टनप्रति असहयोग पनि निर्वाचनमा हिलारी पराजित हुन मुख्य कारण बन्यो । बर्नीले नेतृत्व गरेका राज्यहरु हिलारीले हार्नु यसको ज्वलन्त प्रमाण हो ।

७- समाजवादी धारको विरोधः अमेरिकामा बर्नी स्याण्डर्सको कारण विस्तार भएको समाजवादी धारको विरुद्दमा कट्टरपन्थी अमेरिकनहरु कठोर रुपमा उभिए । अमेरिकी पूँजीवादको विकल्प उदारवादी पूँजीवाद भए पनि समाजवाद हुन सक्दैन भन्ने प्रस्ट धारणा बहुल भएको पाइयो ।

८- संचार माध्यमको हस्तक्षेपप्रति वितृष्णाः अमेरिकी सञ्चार माध्यमले हिलारीका पक्षमा निरन्तर गरेको प्रचारप्रसार र अनावश्यक संरक्षणप्रति अमेरिकनहरु असन्तुष्ट देखिए । निर्वाचनकै बेलामा ट्रम्पमाथि महिला यौन दुराचारको प्रसंगमा प्रायोजित गरिएको भन्ने आम धारणा देखिएको थियो । सञ्चार माध्यमले निकालेका अनुमान र सर्वेक्षण ठ्याक्कै विपरित हुनु यसको ज्वलन्त प्रमाण हो ।

९ – अति आत्मविश्वासः हिलारी क्लिन्टनको पराजयको अर्को मुख्य कारण अति आत्मविश्वास पनि हो । डोनाल्ड ट्रम्प कुनै उम्मेद्वार नै होइनन् उनले हिलारीलाई जित्नै सक्दैनन् भन्ने हिलारी र उनका समर्थकहरुको आत्मविश्वास र अहमयुक्त धारणा व्यापक रहेको थियो । डेमोक्रेटिक पार्टीका प्रभावित क्षेत्रहरुमा ट्रम्पको अत्यधिक प्रचारप्रसार हुँदा पनि हिलारीको प्रचार एकदमै धिमा देखिएको थियो । त्यस्ता अधिकांश क्षेत्र हिलारी र डेमोक्रेटिक पार्टीले गुमाउनु परेको छ ।

१० – बढ्दो बेरोजगारीः अमेरिकामा विगतका लामो समयदेखि बढ्दो बेरोजगारी हिलारी पराजयको कारक बन्यो । स्वयम् अमेरिकनहरु बेरोजगार हुने तर आप्रवासीहरु राम्रा राम्रा रोजगारी पाउने सरकारी नीतिकै उपज हो भन्ने धारणा आम मतदाताको बीचमा देखिएको थियो ।

११ – राजनीतिज्ञप्रतिको अनाकर्षणः आम अमेरिकनहरु राजनैतिक नेतृत्वले काम गर्न सकेन एउटा गैर राजनीतिक व्यक्तित्व आएर अमेरिकाको नेतृत्व गर्नु पर्छ भन्ने धारणामा सहमत थिए । फलतः ट्रम्प अगाडि देखिए ।

१२ – ओबामा नीतिः ओबमाले लागू गरेका स्वास्थ्य नीति ओबामा हेल्थ केयरप्रति अमेरिकनहरुमा ठूलो असन्तुष्टि देखिएको थियो । बन्दुक राख्न नपाउने नीति, गर्भपतन, समलिंगी अधिकार नीतिप्रति पनि पुरातन अमेरिकनहरुमा असन्तुष्टि पैदा भएको देखिन्थ्यो ।

१३ – एफबीआई का निर्देशक कोमेले निर्वाचनकै पूर्व सन्ध्यामा हिलारीको इमेल छानविन गर्ने धारणा राखेर मतदातामा हिलारी प्रति ठूलो नैराश्यता उत्पन्न गराए । यसको निर्णय भने निर्वाचनको दुईदिन अघिमात्र सफाइसहित आउँदा समेत संशयपूर्ण छाप मतदातामा बसेको थियो ।

१४- उपराष्ट्रपतिको उम्मेद्वारः उपराष्ट्पतिका उम्मेद्वार टीम काइने यस पटकको प्रचारप्रसारमा निकै नै अप्रभावकारी देखिए । हिलारीको छायाँमा परेको वा अयोग्यताकै कारणले हो मतदाताले खुट्ट्याउनै पाएनन् ।

१५ -मुद्दाहीन हिलारीः यसपटकको चुनावमा मुद्दाहीन अवस्थामा उम्मेद्वार बनेकी हिलारी भन्दा राष्ट्रियताका सवाल बेरोजगारीका सवाल आतंकवाद र आप्रवासी सवालमा ट्रम्प खरो उत्रिएका थिए ।

१६- विश्वमा बढ्दै गएको दक्षिणपन्थी धारः बेलायतमा ब्रेक्जिटको प्रसंग, रुसमा पुटिनको निरन्तरता, भारतमा मोदीको निर्वाचन लगायत जस्ता दक्षिणपन्थी रुझान र राष्ट्रवादी धारको बढ्दो लोकप्रियताको प्रभाव अमेरिकी निर्वाचनमा पनि परेको देखिन्छ ।

आफ्नै कारणः आजसम्म मैले समर्थन गरेको उम्मेद्वार सामान्यतया पराजित भएकै छ । नेपालमा मैले समर्थन गरेका उम्मेद्वार श्री कृष्णप्रसाद भट्टराई दुईदुई पटक, सर्वश्री केपी शर्मा ओली, कृष्ण प्रसाद सिटौला र कमल थापा मैले समर्थन गरेकै समयमा पराजित हुने क्रम यस पटक पनि हिलारीसम्म आइपुग्दा निरन्तर रहेकै छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com