गम्भीर बन्दै गंगामायाको स्वास्थ्य


प्रकाशित मिति : असार १७, २०७५ आईतबार

छोराको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य स्थिती गम्भीर बन्दै गएको छ ।

अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतले गंगामायाको स्वास्थ्य अवस्था ३४औँ दिनमा आइपुग्दा थप बिग्रिएको जानकारी दिनुभयो । उहाँ गत जेठ १५ गतेदेखि अनशन बस्नुभएको हो ।

“उहाँ अनशन बसेको ३४ दिन भइसकेको छ, अवस्था पहिलेभन्दा गम्भीर छ,” निर्देशक बस्नेतले भन्नुभयो, “शरीर सुन्निँदा हातको नशा नभेटिएका कारण गंगामायालाई घाँटीको नशाबाट स्लाइन दिएका छौँ ।”

यसैबीच नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले वीर अस्पतालमा अनशनमा रहनुभएकी गंगामाया अधिकारीलाई आज भेट गर्नुभएको छ । वीर अस्पताल पुगेर केसीले गंगामायाको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको हो ।

नेता केसीले गंगामायासँग कुरा गर्न खोजे पनि उहाँले कुनै प्रतिक्रिया दिनुभएन । उहाँले अदालतको फैसला कार्यान्वयन गरेर छोराका हत्यारालाई कारबाही गराउन आमरण अनशनमा बस्दा पनि सरकारले कुनै वास्ता नगर्नु विडम्बना भएको प्रतिक्रिया दिनुभयो ।

उहाँसँगै मानवअधिकारकर्मी चरण प्रसाईं, पत्रकार कनकमणि दीक्षित, डा केदारनरसिंह केसीलगायत पनि गंगामायालाई भेट्न अस्पताल पुग्नुभएको थियो । विसं २०६१ जेठ २४ गते गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको तत्कालीन माओवादी पक्षबाट हत्या गरिएको थियो ।

हत्या आरोपीको नाम किटानीसहितको मुद्दा उनीहरुविरुद्ध २०७० साल चैत ३० देखि चितवन जिल्ला अदालतमा विचाराधीन छ । न्याय नपाएको गंगामायाले गुनासो गर्दै आउनुभएको छ । छोराको हत्या भएपछि लामो समयसम्म हत्या आरोपीलाई कारबाही नभएपछि अधिकारी दम्पती नै अनशन बस्नुभएको थियो ।

अनशनकै क्रममा गंगामायाका श्रीमान् नन्दप्रसाद अधिकारीको अनशनको ३३४औँ दिनमा २०७१ साल असोज ६ गते वीर अस्पतालमा निधन भएको थियो । न्याय नपाउँदासम्म श्रीमान्को अन्तिम संस्कार नगर्ने भनेपछि नन्दप्रसादको शव अझै शिक्षण अस्पताल महाराजगञ्जको शव गृहमा राखिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com