मेक्सिकोमा छ महिनामा आठ पत्रकारको हत्या


प्रकाशित मिति : असार १७, २०७५ आईतबार

मेक्सिकोमा यसवर्ष कम्तीमा पनि आठजना पत्रकारको हत्या भएको छ । यसरी हत्या भएका आठौँ पत्रकारमा जोसे गुडालुपे चान पर्नुभएको मेक्सिकोबाट प्राप्त समाचाराम जनाइएको छ ।
मेक्सिकोको पूर्वी प्रदेश क्विन्टानारुमा रहेको एक रेष्टुरेन्टमा ती पत्रकारको हत्या भएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

प्रदेशको अभियोक्ताको कार्यालयले दिएको जानकारी अनुसार चानलाई शुक्रबार बेलुकी रेष्टुरेन्टमा खाना खाइरहेका बेला अज्ञात व्यक्तिले पटक पटक गोली प्रहार गरेको जनाइएको छ ।

कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा फेलिप कारिल्लो पुएर्टोमा रहेको एउटा रेष्टुरेन्टमा उहाँमाथि गोली प्रहार भएको उल्लेख गरिएको छ ।

घटनाका बारेमा अनुसन्धान सुरु शुरु भएको र उहाँको हत्याको बारेमा यथार्थ भने पत्ता नलागेको पनि सरकारी अधिकारीहरुले बताएका छन् ।

हत्या गरिएका चान एक स्थानीय अनलाइन पोर्टलमा कार्यरत हुनुहुन्थ्यो । प्रदेशका सरकारी अधिकारीहरुले उहाँको हत्यागर्ने अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याइछाड्ने दावी गरेका छन् ।

स्थानीय केही प्रत्यक्षदर्शीहरुले दिएको जानकारीअनुसार केही शंकास्पद व्यक्तिहरु रेष्टुरेन्टभित्र पसेर ती पत्रकारमाथि गोली प्रहार गरेका थिए ।

मानवअधिकार रक्षक र पत्रकारहरुको एक केन्द्रीय संयन्त्रले सन् २००१ देखि अहिलेसम्म मेक्सिकोमा १३९ जना पत्रकारको हत्या भएको छ । तीमध्ये अधिकांश पछिल्लो दशकमा मारिएका हुन् ।

मेक्सिको विश्वमै पत्रकारहरुका लागि अत्यन्त खतरा र जोखिम रहेको देशमा पर्दछ । घटना भएको थाहा पाएपछि शनिबार बिहान पत्रकारले विरोध प्रदर्शन गरेका थिए ।

उनीहरुले पत्रकार चानको हत्यामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । उनीहरुले प्रदर्शन गरेको व्यानरमा लेखिएको छ, “पत्रकारलाई मार्दैमा सत्य डग्दैन ।”

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com