बजेट कार्यान्वयनको तालिका बनाई अघि बढ्ने:अर्थमन्त्री डा खतिवडा


प्रकाशित मिति : असार १४, २०७५ बिहीबार

अर्थमन्त्री डा युवराज खतिवडाले बजेटको प्रभावकारी कार्यान्वयका लागि तालिका बनाई अघि बढ्ने बताउनु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले बजेट कार्यान्वयनका साझेदारहरू प्रदेश र स्थानीय तह पनि भएकाले उनीहरुको पनि क्षमता बढाउँदै केन्द्रले परिपूरकको भूमिका निर्वाह गर्ने बताउनुभयो ।

राजश्वबाट प्रशस्त साधन र स्रोत तलका तहमा पठाइएको र सोही आधारमा योजना पनि हस्तान्तरण गरिएको जानकारी गराउँदै उहाँले बजेटमा पहिलोपटक आठ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिइएको छ भन्नुभयो ।

बजेटले ज्येष्ठ नागरिकका लागि बीमा सुविधा र बालबालिकका लागि बाल संरक्षण कार्यक्रम, किसान, कर्मचारीलगायत सबैलाई समेटेको चर्चा गर्दै उहाँले यस्तै कार्यक्रमबाट अपेक्षित आर्थिक वृद्धि हुने बताउनुभयो ।

राजश्व पनि नबढाउने, विदेशी सहयोग पनि नलिने अनि खर्च जति पनि गर्ने भन्ने अर्थशास्त्रको नियम हुन सक्दैन भन्दै उहाँले बजारको मूल्यवृद्धि पनि बजेटसँग सम्बन्धित नभई एकाधिकार कायम गर्न खोज्नेले फैलाएको हल्ला मात्र हो भन्नुभयो ।

जनसंख्या र भूगोलमा कुनै एकको मात्र आधार नलिइ दुबै बीचको सन्तुलन मिलाई बजेट विनियोजन गरिएको र केही संस्थानमा विनियोजन भएको बजेट पनि संस्थागत सुदृढीकरणका लागि भएको स्पष्ट पार्नुभयो ।

पूँजीगत खर्चभन्दा चालु खर्च बढी भएको भन्ने सांसदको प्रश्नमा अर्थमन्त्री डा खतिवडाले चालु खर्चभित्र पनि केही बजेटको प्रकृति पूँजीगत भएको उल्लेख गर्नुभयो । कर प्रणालीका सम्बन्धमा उहाँले प्रगतिशील कर प्रणाली शुरु गरिएको अवगत गराउनुभयो ।

भ्रष्टाचार नियन्त्रणमा सरकारले शून्य सहनशीलताको नीति अपनाएको छ भन्दै उहाँले नीति तथा कार्यक्रममा आएका कतिपय कार्यक्रम बजेटमा देखिएनन् भन्ने सन्दर्भमा त्यस्ता विषय प्रदेश र स्थानीय तहमा रहेको जानकारी दिनुभयोे ।

भूकम्पपछिको पुनः निर्माणका काम सन्तोषजनक रुपमा अघि बढेको र सामाजिक सुरक्षाका विषयमा पनि आगामी दिन थप काम गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री डा खतिवडाले कर्मचारीका लागि प्रोत्साहन स्वरूप थप भत्ताको व्यवस्था नभएको, व्यक्तिगत करमा धेरै वृद्धि नगरिएको र विलाशिताका सामानमा मात्र केही मात्रामा कर बढेको बताउनुभयो ।

बैठकमा सांसदहरु दिलेन्द्रप्रसाद बडू, ज्ञानेन्द्रबहादुर कार्की, रामबहादुर विष्ट, प्रेम सुवाल, प्रकाश रसायली, बिमलप्रसाद श्रीवास्ताव, तेजुलाल चौधरी, सुजिता शाक्य, मोहन बानियाँ, सरिताकुमारी गिरि, गजेन्द्रबहादुर महत, मेटमणि चौधरीले प्रतिप्रश्न गर्नुभएको थियो ।

प्रतिनिधि सभाको वैठक १५ मिनेटका लागि स्थगन गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com