आफैले भोट हालेर जिताएको सरकारले चलायो डोजर : स्थानीयहरु रुवाबासी गर्दै सम्झे रवी लामिछानेलाई (भिडियो)


प्रकाशित मिति : असार १२, २०७५ मंगलबार

होटल व्यवसाय फस्टाउँदै थियो । आसपासका जिल्लाबाट समेत होटलमा ग्राहक थपिदै थियो । ४ बर्ष अघि शुरु गरेको होटल व्यवसाय टुप्पीको ढिँडो पसलका नामले चर्चित हुँदै थियो । अब त दुःखका दिन सकिए भन्दै सुदामा पुडाशैनीले सुखको सास फेर्न थालेका थिए । तर हेटौंडा उपमहानगरपालिकाले प्रहरी लगाएर उनको घर भत्काउन निर्देशन दिएपछि उनी निक्कै चिन्तित छन् ।

‘पहिला दुःख गरेर काठको घर बनाए, कमाएपछि १८ लाखमा ब्लगको घर बनाए,’ भावुक हुँदै उनले भने ‘सबै खत्तम बनाईदिए, जत्ति कमाएको थिए यही सकाईदिए ।’
हेटौंडा उपमहानगरपालिकाले घर भत्काईदिएपछि ६० बर्षिय बद्री घिमिरे घर न घाटको भएका छन् । २ छोरा र १ बुहारीसहित बस्दै आएको घर भत्काईदिएपछि उनले आफ्नो सामानहरु राप्ती खोलाको ड्याममा राखेका छन् । त्रिपालले छोपेर राखेको सामान देखाउँदै मलिन अनुहार बनाएर उनले भने ‘सामान राख्ने ठाउँ छैन, डेरा(कोठा) खोजौ पाउँदैन, कस्लाई भन्नू ।’

उपमहानगरपालिकाले ब्लगको तीन कोठे घर भत्काईदिएकोमा स्थानीय मिठु पुरीले आक्रोश पोखिन् । ‘बिहानै पुलिससहित जेसिभी ल्याएर घर भत्काउन थाल्यो, पकाएको भात पनि खान पाईन,’ उनले भनिन् ‘सहयोगीले त्रिपाल दिएका छन्, अब रोडतिरै त बस्नु प¥यो नि ।’

स्थानीय ६३ बर्षिय रामबहादुर तामाङ्गले रिक्सा चलाएर बनाएको घर भत्काएपछि कहाँ बस्ने भनेर चिन्तित छन् । ‘आफ्नो कुनै घर, जग्गा छैन, बाबु–छोरा मात्र भएकाले कोठा दिन समेत मान्दैनन्,’ उनले दुःखेसो पोखे ‘हामी कहाँ बस्ने ठेगान छैन, घरको सामान जस्ता पाताले छोपेर राखेको छु ।’

घरघरबाट रकम संकलन गरेर राप्ती खोलामा ड्याम बाँधेपछि ढुक्क भएका स्थानीयबासी घरै भत्काएर अन्यत्र जानुपर्ने भएपछि झनै दुःखीत छन् । वरपरको घरहरु उपमहानगरपालिकाले जेसीभी र प्रहरी लगाएर भत्काएपछि स्थानीय त्रसित पनि छन् । सामान सार्न बाँकी भएकाहरुले समेत आफैले घर भत्काई रहेका छन् ।

चन्द्रबहादुर पुन मगरले ८ महिनाअघि बनाएको २ कोठे घर र १६ बर्षअघि बनाएको २ तले घर आफै भत्काउँदै थिए । जेसिभीले भत्काउँदा घरको धेरै सामान काम नलाग्ने गरि बिग्रने भएकाले आफैंले भत्काईरहेको उनले बताए । १२ जनाको परिवार रहेका उनले कोठा खोजेर बस्ने योजना बनाए पनि सामान कहाँ राख्ने भनेर अलमलमा परेको बताए ।

६८ बर्षिय स्थानीय अगुवा बासुबहादुर पुडाशैनीले विहान खाएर बेलुका के खाऊ भन्ने गरिबहरुलाई सरकारले बस्ने ठाउँ देखाईदिनुपर्ने बताए । ‘स्थानीय सरकार बनेपछि हामीले न्याय पाईन्छ, सुरक्षा हुन्छ, समस्या हल हुन्छ भन्ने धेरै आशा थियो,’ उनले पीडा पोख्दै भने ‘तर मेयरले ४ दिनमात्र समय थपे, ज्यालामजदुरीले कसरी त्यत्ति चाँडै आफ्नो विकल्प खोज्न सक्छन् ?’
आफुहरुलाई नेपाली नागरिकै होईन, विदेशीले जमिन हस्तक्षेप गरेजस्तो व्यबहार गरेको भन्दै उनले प्रदेश साँसद लिएर जाँदा समेत मेयर हरिबहादुर महतले कुनै सुनुवाई नगरेको आरोप लगाए । ‘आज माननीय ल्याउनुभो, भोली मन्त्री, पर्सी मुख्यमन्त्री ल्याउनु होला, जो ल्याएपनि मान्ने वाला छैन’ मेयरको भनाई उदृत गर्दै उनले भने ‘हिजो हाम्रै मतले जनप्रतिनिधी बनायौ, आज हामीलाई नै यस्तो कठोरपूर्ण शासन गरे ।’

पूर्व–पश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका ११ थानाभ¥याङको राप्ती पुल छेउ सार्वजनिक जग्गामा बनाईएका घरहरु भत्काईएपछि घरधनीहरु निक्कै पीडामा छन् । तर हेटौंडा उपमहानगरपालिकाले भने सरकारी जग्गा ‘कब्जा’ गरेर लामो समयदेखि बसेकाले पूर्व सुचना प्रकाशित गरेरै ७५ वटा घर, टहरा भत्काईएको जनाएको छ । जेठ २० गते प्रहरी सुरक्षा घेरामा २ जेसीभीले ५९ वटा घर भत्काइएको छ भने ६ वटा घरका सामानहरु आफै झिकेर भत्काइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले बताए । यसअघि उपमहानगरपालकाको सूचनाका आधारमा १२ वटा घर घरधनीले नै भत्काई सकेका थिए ।

आईतबार बिहानै थानाभ¥याङमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधु थापाको नेतृत्वमा गएको प्रहरी टोलीको सुरक्षाबिच सरकारी जग्गामा बनाईएका घरहरु भत्काईएको हो । एक हप्ताको म्याद दिएर सरकारी जग्गा खाली गर्नका लागि सार्बजनिक सुचना जारी गरेको दुई सातासम्म पनि अधिकाँशले घर, टहरा नहटाएपछी प्रहरीको सहयोगमा घर भत्काईएको उपमहानगरपालिकाले दाबी गरेको छ । तर घरको मुआब्जा र थप समय माग गर्दै आएका घरधनीहरुले उपमहानगरपालिकाका कारण आफुहरु मारमा परेको बताएका छन् ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले भने मकवानपुरको सर्बदलीय बैठक र उपमहानगरपालिकाको कार्यपालिका बैठकको निर्णय अनुसार सरकारी जग्गामा बनेका घर, टहराहरु भत्काइएको बताए । सरकारी जग्गामा अटेर गरेर लामो समयदेखि बस्ने र जग्गा किनबेच समेत गर्न थालिएको सूचना आएपछी नगरको प्रयोगमा ल्याउन जग्गा खाली गरिएको मेयर महतको दाबी छ । अन्यत्र क्षेत्रमा पनि उपमहानगरको र सार्बजनिक जग्गा खाली गराउन घर, टहरा भत्काउने तयारी गरिएको उनको भनाई छ । हेटौंडामा सरकारी जग्गा कब्जा गरेर बस्नेहरुको संख्या बढ्दै जान थालेपछी त्यस्ता घरहरु भत्काउन थालिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com