रक्सीको मातमा दुर्घटना, पश्चातापमा आत्महत्या


प्रकाशित मिति : असार १२, २०७५ मंगलबार

धेरैजसो मानिसहरु सडक दुर्घटनामा कसैलाई ठक्कर दिएपछि भाग्छन् र भाग्न सफल हुँदा खुसी हुन्छन् । तर यो घटना ठिक विपरित छ ।

भारतको उत्तराखण्डको रुद्रप्रयागमा ३८ वर्षीय यशवीर सिंहले रक्सीको नशामा गाडी चलाउने क्रममा एक व्यक्तिलाई ठक्कर दिए । यो भयानक दुर्घटनामा घाइते व्यक्तिको अस्पतालमा उपचारको क्रममा मृत्यु हुन्छ । उक्त घटनाले यशवीरलाई यति विक्षिप्त बनाउँछ कि आत्मग्लानीमा उनले आफ्नो जीवन अन्त्य गर्छन् ।

स्रोतका अनुसार उक्त दुर्घटनापछि उनी आफूलाई अपराधी महसुस गरिरहेका थिए । आत्महत्या गर्नुअघि लेखिएको सुसाइड नोटमा उनले यसको कारण लेखे । यशवीर सिंहले सुसाइड नोटमा लेखे, ‘म अत्यधिक तनावमा छु । मैले जे गरेको छु, हुनसक्छ पीडितका परिवारले मलाई माफी देलान्, तर म आफूलाई अपराधी महसुस गरिरहेको छु । ’ त्यसपछि उनी फाँसीमा चढे ।

पुलिसका अनुसार केही दिन अघि यशवीर रक्सी पिएर गाडी चलाइरहेका बेला बाटो काटिरहेका संजय गोदियाललाई ठक्कर दिएका थिए । संजयलाई तत्काल अस्पताल पुर्याइयो र स्थानीयले घटनापछि यशवीरलाई समातेर पुलिसलाई सुम्पिएका थिए ।

पुलिसका अनुसार उनीविरुद्ध विभिन्न मुद्दा दर्ता गरिएका थिए । शनिबार उनलाई अदालतसामू पेश गरिएको थियो, त्यहाँबाट उनी जमानतमा रिहा भए । उता गम्भीर  घाइते संजयले अस्पतालमा अन्तिम सास फेरे । यसबारे जब यशवीरले थाहा पाए तब उनी निकै चिन्तित भए । आइतबार लगभग दुई बजे उनी अफिसमा केही काम भएको भन्दै घरबाहिर निस्किएका थिए । पछि उनले आत्महत्या गरेको खबर परिवारलाई दिइयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com